अमेरिकाको ध्यान राजनीतिक र फौजी मोर्चामा, निशानामा चीन

अमेरिकाको ध्यान राजनीतिक र फौजी मोर्चामा, निशानामा चीन

केशरमणि कटुवाल  |  दृष्टिकोण  |  असार २, २०७८

अमेरिका चार वर्षको अन्योलपूर्ण नीतिबिच पनि सैन्य मोर्चा सुदृढ पार्ने दिशामा लागि नै रहयाे  । डोनाल्ड ट्रम्प सन् २०१७ मा सत्तामा आएपछि अमेरिका नेतृत्वका रहेको नेटोमा आबद्ध देशको सुरक्षाका लागि आफैँ खर्च गर्नुपर्ने र अमेरिकाले खर्च नव्योहोर्ने बताएका थिए । उनको कार्यकाल भरी नेटोसँग सम्बन्ध राम्रो रहेन । तर जो बाइडेन अमेरिकी सत्तामा आए लगत्तै उनले ट्रम्पको कार्यकालमा बिग्रिएको राजनीतिक र सैन्य मोर्चालाई अघि बढाउन लागिपरेका छन् । यसै क्रममा उनले नेटोका सदस्यसँग छलफल गरेका छन् । ट्रम्पका सबैजसो नीतिको विपक्षमा देखिएका बाइडेनले सैन्य राजनीतिक मोर्चामा भने ट्रम्पले आर्थिक मोर्चामा सङ्घर्ष केन्द्रित गरेको चीनलाई नै रोजेका छन् । ट्रम्पको कार्यकालको लामो समय चीनसँग व्यापार युद्धको अवस्था रह्यो । अब अमेरिका चीनसँग राजनीतिक र फौजी मोर्चाको सङ्घर्षमा जुटेको छ । अमेरिकाको यो रणनीति चीनसँग सीधा सङ्घर्षमा भन्दा पनि एसिया प्रशान्त क्षेत्र र दक्षिण चीन सागरसहित चीनको प्रभाव रहेका क्षेत्रमा केन्द्रित हुँदै जाने देखिन्छ । 

चीनमाथि आरोप

अमेरिका र नेटोबिच सम्बन्धमा दरार आएको पछिल्ला चार वर्षमा चीन र रुसविरुद्ध प्रत्यक्ष सङ्घर्षको अवस्था देखिएन । तर अमेरिकी राष्ट्रपति बाइडेनसहित  ब्रसेल्समा भेला भएका नेटोका नेताहरूले चीनका कारण सैन्य जोखिम बढेको आरोप लगाइका छन् । उनीहरूले बेइजिङले प्रणालीलाई चुनौती दिएको समेत बताएका छन् । चीनले द्रुत ढङ्गले आफ्नो परमाणु क्षमता विस्तार गरिरहेको, सैन्य आधुनिकीकरणबारे अपारदर्शी निर्णय गरेको र रुससँग सैन्य सहकार्य गरेको आरोप उनीहरूको छ । नेटोका प्रमुख जेन्स स्टोल्टेन्बर्गले त सैन्य र प्राविधिक क्षमतामा चीन नेटोको हाराहारी तर्फ आइरहेको बताएका छन् । तर उनले नेटो गठबन्धनले चीनसँग नयाँ शीतयुद्ध नचाहेको दाबी गरेका छन्।

चीनले भनेको छ, ‘चीनको विकासलाई विवेक सङ्गत रुपमा हेर्दै चीनका वैध स्वार्थ र अधिकारलाई आफ्नो गठबन्धनको राजनीति सञ्चालन गर्ने बहानाका रूपमा प्रयोग गर्न, मुठभेड सिर्जना गर्न र भूराजनीतिक प्रतिस्पर्धा गर्न बन्द गर्नुपर्छ ।’ 

यद्यपि नेटो आबद्ध देशको अभिव्यक्ति शीतयुद्धकालीन मानसिकताबाट ग्रसित देखिन्छ । शिखर बैठकपछि जारी गरिएको विज्ञप्तिमा चीनको घोषित महत्त्वाकाङ्क्षा र आक्रामक व्यवहारले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र गठबन्धनको सुरक्षासँग जोडिएका क्षेत्रमा प्रणालीगत चुनौती दिने उल्लेख छ। त्यति मात्रै होइन  नेटोले चीनमाथि पारदर्शिताको अभाव र गलत सूचनाको प्रयोग गर्ने गरेको आरोप पनि लगाएको छ । चीन विश्वको एउटा प्रमुख सैनिक र आर्थिक शक्ति हो । चिनियाँ कम्युनिस्ट पार्टीको देशको राजनीति, जनजीवन र समाजमा बलियो पकड स्थापित छ । विश्वकै सबैभन्दा ठुलो सैन्य शक्ति चीनमा २० लाख भन्दा बढी सक्रिय सेवामा कार्यरत छन् । चीनको सुदृढ शक्ति ललाई पश्चिमा देशले आफ्नो सुरक्षाका लागि जोखिमका रुपमा लिने गरेको छ । जसलाई पश्चिमा राष्ट्रले आफूहरूमा भएको लोकतान्त्रिक मूल्यप्रतिको जोखिमका रुपमा हेर्ने गर्छन् । साँचो रुपमा भन्ने हो भने पश्चिमा देशमा लोकतान्त्रिक पद्धति मरणासन्न अवस्थामा छ।

अमेरिकी राष्ट्रपति निर्वाचनका क्रममा ट्रम्पले लोकतन्त्रको नाममा सांसदभित्र गरेको हमला होस् या आफ्नो राजनीतिक व्यवस्था चलाइरहेका विश्वका विभिन्न देशमाथि अमेरिका र पश्चिमा शक्तिको जबरजस्त हमला होस्, यस्ता क्रियाकलापले पश्चिमा देश स्वयम् प्रजातन्त्रका नाममा प्रजातान्त्रिक पद्धतिमाथि खतराका रुपमा उभिएका छन् । नेटो र यसमा आबद्ध कतिपय देशले आफ्नो शासन व्यवस्था चुन्न पाउने विश्वका विभिन्न देशको अधिकार समेत कुण्ठित गरिरहेका छन् र ती देशमा आफू अनुकूलको शिखण्डी सत्ता उभ्याउन हमेसा कोसिस गर्ने गरेका छन् । यसविरुद्ध विश्वमा सैन्य कित्ता बन्दै आएका छन् । अमेरिकाले नेटो बनाएपछि रुसले त्यसको प्रतिद्वन्द्वी सैन्य मोर्चाको नेतृत्व गर्दै आएको छ । पछिल्लो समयमा चीन विश्वको प्रमुख आर्थिक, राजनीतिक र सैन्य शक्तिका रुपमा उदाएपछि पश्चिमाको निशाना रुससँगै चीनमाथि पनि केन्द्रित हुन थालेको छ । हालैका वर्षमा अफ्रिकामा चीनले सैनिक शिविरहरू बनाउन थालेपछि नेटो नराम्ररी झस्किन पुगेको छ । 

नेटो र अमेरिकाबिच सम्बन्ध सुधारको प्रयास

दोस्रो विश्वयुद्ध लगत्तै विश्वभर सोभियत युनियनको दबदबा र यसबाट कम्युनिस्ट राष्ट्रको शक्ति विस्तारविरुद्ध लड्न नेटोको स्थापना सन् १९४९ मा भएको हो । नेटो युरोपेली र उत्तर अमेरिकी देशहरूको शक्तिशाली राजनीतिक र सैन्य गठबन्धन हो। जसमा हाल ३० वटा देश आबद्ध छन् । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) विश्वको सबैभन्दा शक्तिशाली क्षेत्रीय रक्षा गठबन्धनका रुपमा स्थापित छ । नेटो साझेदार देशबिचको सामूहिक सुरक्षा र एक अर्काको सुरक्षाप्रति अन्तर्निर्भरतामा आधारित छ । 

ट्रम्पको कार्यकालमा अमेरिका र नेटोबिच राम्रो सम्बन्ध रहेन । अमेरिकाको आर्थिक लगानीप्रति अनिच्छा जनाउँदै उनले युरोपेली साझेदारहरूको प्रतिरक्षा गर्ने अमेरिकी प्रतिबद्धतामा प्रश्न उठाएका थिए । जो बाइडनको पदभार सम्हालेपछिको पहिलो नेटो शिखर बैठकमा उनले ७२ वर्ष पुरानो गठबन्धनलाई अमेरिकी समर्थन कायम राख्ने बाचा गरे । अमेरिकी स्वार्थका लागि नेटो महत्त्वपूर्ण रहेको भन्दै उनले सैन्य गठबन्धन स्थापनासम्बन्धी सन्धिको धारा ५ मा उल्लेख भए अनुसार कुनै पनि आक्रमणबाट एक अर्काको रक्षा गर्नुपर्ने दायित्व सदस्य राष्ट्रहरूको भएको बताए ।

चीनद्वारा प्रतिवाद

नेटोले चीनबाट प्रणालीगत चुनौति थपिएको आरोप लगाएपछि चीनले त्यसको प्रतिवाद गरेको छ । उसले शान्तिपूर्ण विकासमाथि अपमान गरेको आरोप लगाएको छ । चीनले आणविक अस्त्र विकास गर्नेसहितका कदम अघि बढाएर ‘विधिमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ लाई खतरामा पारेको बताएपछि चीनले त्यसलाई अतिरञ्जना भनेको छ । उसले आफ्नो रक्षा नीति ‘प्रतिप्रक्षात्मक स्वरूपको’ रहेको उल्लेख गर्दै आफ्नो शक्ति संवाद प्रवर्द्धनका लागि प्रयोग गर्न चीनलाई सुझाव समेत दिएको छ । चीनले भनेको छ, ‘चीनको विकासलाई विवेक सङ्गत रुपमा हेर्दै चीनका वैध स्वार्थ र अधिकारलाई आफ्नो गठबन्धनको राजनीति सञ्चालन गर्ने बहानाका रूपमा प्रयोग गर्न, मुठभेड सिर्जना गर्न र भूराजनीतिक प्रतिस्पर्धा गर्न बन्द गर्नुपर्छ ।’