अदनसिंह कठायत : कर्णालीबासीले बिर्सन नसक्ने दानवीर शिक्षासेवी
असार २, २०७८

वि.सं. ०४६ सालमा एउटा शैक्षिक बेसलाइन सर्वेक्षणको सिलसिलामा जुम्ला जिल्लाको सदरमुकाम खलङ्गा स्थित चन्दननाथ माध्यमिक विद्यालयको अवलोकन गर्ने मौका मिलेको थियो । सर्वेक्षणको कथाले मागे अनुसार डिल्लीचौर, चौड, मणि साँघु, गुठीचौर, लर्मी, जुम्लाकोट, चिउडी, खेत, तलिकुडी, मोफ्ला, नराकोट, लुड्कु, सिञ्जा, बुडू आदि ठाउँमा भ्रमण गर्नु थियो, गरियो ।

त्यहीबेला मैले थाहा पाएको थिएँ, कर्णाली अञ्चलकै सबैभन्दा पहिलो विद्यालय नै चन्दननाथ मावि हो भनेर । तीन दशकपछि मलाई कर्णालीमा पहिलो विद्यालय स्थापना गर्न सर्वाधिक महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षा सेवी को हुनुहुँदो रहेछ त ? भनेर खोजी गर्ने हुटहुटी जागेर आयो । केही दस्ताबेजहरूको अध्ययन तथा जुम्लाका केही जानिफकारहरूसँगको अन्तरक्रिया पश्चात् कर्णालीमै पहिलो मिडिल स्कुल र हाइस्कुल स्थापनाको लागि अथक प्रयास गर्ने शिक्षा सेवीको नाम अदनसिंह कठायत हो भन्ने पक्का पक्की भयो ।

सोधपुछको क्रममा कतिपयले ‘पूर्व अञ्चलाधीश हो उहाँ, चर्चामा ल्याउनु आवश्यक छ र ?’  पनि भन्नुभएको थियो । उहाँहरूको तर्क या सन्देह आफ्नो ठाउँमा जायज होला । कठायताका राजनीतिक क्रियाशीलताको बखत भएका सकारात्मक तथा नकारात्मक सन्दर्भहरू आफ्नो ठाउँमा होलान् । इतिहासको विभिन्न कालखण्डमा कहिले राणा सक्रिय भए भने कहिले राजा, कुनै बेला निर्दलीयताको निरङ्कुश अभ्यास थियो भने हाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र । मन नपरेको हिसाबले एउटा कालखण्डमा भएका राम्रा थालनी र अभ्यास बारे अनुसन्धानदाता तथा लेखकले पनि मौनता साँध्ने हो भने अनुसन्धान र लेखनलाई न्याय गरेको मानिने छैन ।

कठायत वि.सं. २०३० सालमा कृषि, पुनर्वास र सिँचाइ सहायक मन्त्रीमा नियुक्त भएर काम गर्नु भएको थियो । वि. सं. २०३७ मा राप्ती अञ्चलको अञ्चलाधीश भएर २०३८ सालको आमनिर्वाचन सफलता पूर्वक सम्पन्न गराउनुभयो । वि. सं. २०४९ सालमा राजा वीरेन्द्रबाट राजपरिषद् सदस्यमा मनोनीत हुनुभएको थियो । वि.सं. २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा संलग्न भएर तीन वर्षपछि पार्टी छोडेर स्वतन्त्र भई बस्न रुचाउनु भयो ।    

अन्ततोगत्वा शिक्षाको इतिहास आफ्नो गोरेटोबाट बरालिनेछ । तसर्थ, यो आलेखमा अब्बल शिक्षा सेवी कठायतले शिक्षाको क्षेत्रमा पुर्‍याउनु भएको योगदानको सन्दर्भमा खोतल्ने,  यथार्थता बारे लिपिबद्ध गर्दै पाठकहरू तथा जनसमुदाय सामु पस्किने प्रयास गरिएको छ । यसबाट पुरानो पुस्ताले गरेको मेहनत, सेवा तथा योगदानलाई संस्थागत स्मृतिमा राख्न र नयाँ पुस्तालाई अवगत गराउन सहयोग पुग्ने झिनो अपेक्षा गरिएको छ ।           

गुरु थापेर लघु कौमुदी पढेका चन्चले अदन  

वि. सं. १९८१ असार १३ गते जुम्लाको खलङ्गामा बुवा कालुसिंह कठायत र आमा मोतिपुरा कठायतको कोखबाट जन्मनु भएको थियो अदनसिंह कठायत । उहाँकी आमा बुवाकी चार श्रीमती मध्ये माइली हुनुहुन्थ्यो । उहाँ पनि सात दाजुभाइ मध्ये माहिलो हुनुहुन्थ्यो । बाल्यावस्थामा उहाँ चन्चले हुनुका साथै उटपट्याङ गर्ने स्वभावका पनि हुनुहुन्थ्यो । हरेक क्रियाकलापमा अरू दाजुभाइ भन्दा बढी सक्रिय हुनुहुन्थ्यो । 

त्यतिबेला कर्णाली भेगमा एउटा मात्र पाठशाला थियो–जुम्लाको खलङ्गामा । सुप्रसिद्ध चन्दननाथ मन्दिरको नामबाट न्वारन गरिएको चन्दननाथ पाठशाला । मूलगुरू हुनुहुन्थ्यो– लमजुङ दुराडाँडाका बालकृष्ण उपाध्याय । उहाँलाई साथ दिँदै जुम्लाकै लक्ष्मीनिधि उपाध्यायले सहायक गुरुको भूमिका निर्वाह गर्नु भएको थियो ।   

बुवाले ६ बर्सकै उमेरमा चन्दननाथ पाठशालामा भर्ना गरिदिनु भयो अदनलाई । राणाकालीन समयमा पनि ६ बर्षकै उमेरमा पाठशाला जान पाउनु ठुलो मौका  पक्कै थिथियो । एक किसिमको गुरुकुल शिक्षा नै थियो त्यो । त्यतिबेला पाठशालामा पढाउने गुरुहरू भेटिनै मुस्किल हुन्थ्यो । संस्कृत पढेका गुरुहरूलाई अत्यन्तै आदर र सम्मान गर्ने परम्परा थियो ।  

आफ्नो विद्यार्थी जीवन बारे उल्लेख गर्दै अदनले आफ्नो आत्मवृत्तान्तमा लेखेका छन्, ‘गुरु थापेर पढ्नु पर्थ्यो । पाठशालामा अक्षर चिनेपछि नेपाली भाषामा बाह्रखरी, शिशुवोधिनी, तोत्रावली पहिलो, दोस्रो, तेस्रो र चौथो आदि जस्ता किताबहरू । पढ्नु पर्दथ्यो । साथै, हिसाबमा १ देखी २० सम्मको दुनोट र जोड, घटाउ, गुणन र भाग गर्नु पर्दथ्यो । लघु कौमुदी पढ्ने विद्यार्थी उच्च कक्षाका विद्यार्थी कहलाउँथे । अङ्ग्रेजी पढाउने चलनै थिएन ।’ 

गुरु थापेर लघु कौमोदकी पढेका चन्चले अदन साधारण लेखपढ गर्न जान्ने  नै भए । त्यो भन्दा माथि पढ्ने कुनै अवसर नै थिएन जुम्लामा । सामान्य रुपमा अंकज्ञान, जोड, घटाउ, गुणन र भाग समेत जान्ने भएपछि व्यवहारिक जीवन सजिलो हुने नै भयो । यसको अतिरिक्त लेखपढ र हिसाब जान्ने मान्छेलाई समाजमा हेर्ने दृष्टिकोण पनि बेग्लै हुन्थ्यो ।

अदालतमा सलाम खाने बहिदार साहेब 

चन्दननाथ पाठशालाबाट साक्षर बनेका कठायतले वि. सं. १९९६ मा जुम्ला जिल्ला अदालतको सिपाही लेखनदास पदमा जागिर पाउनु भयो । उहाँले आफ्नो अनुभव बारे लेख्नु भएको छ, ‘सरकारको पहिलो सिन्दूर मेरो माथमा परेकाले पिताज्यू निकै खुसी हुनुभयो । त्यसबेला लेखनदास जागिर पनि ठुलै मानिन्थ्यो । सिपाही भए पनि सबैले बहिदार साहेब भनेर सलाम गर्दथे । त्यस बखत मासिक तलब  ५ रुपयाँ मात्र थियो ।’ अदालतमा लेखनदासको रुपमा काम गर्दा उहाँको कानुनी ज्ञानको दायरा पनि फराकिलो भयो भने लेखाई सिपको विकास पनि । काम गर्दै गएपछि स्वअध्ययन गरेर दक्षता बढाउनु पर्ने आवश्यकता पर्न गयो । उहाँले ५ भाग ऐनको अध्ययन गर्नु भयो घरमै बसेर ।

त्यसपछि क्रमशः ‘बकस पत्र, मिलापत्र, फैसला, ढिसमिस फैसला आदि लेख्ने बारे ज्ञान’ बिस्तार गरेपछि झन् राम्रो भयो । पाँच वर्ष अदालतमा काम गर्दा निकै पेसागत सन्तुष्टि बटुल्नु भएको थियो उहाँले । निजामती सेवाको कार्यविधि राम्रो बुझ्नु भएको थियो । उहाँको लागि जागिरे जीवनको ‘स्वर्ण काल’ नै थियो त्यो ।   

कर्णालीको पहिलो मिडिल स्कुलका जुझारु ‘सेक्रेटरी’ 

आफ्नो पिताजी, गुरुहरू र योगी नरहरि नाथसँग निकै प्रभावित कठायत मठ मन्दिरको संरक्षण र समाज सेवामा विशेष चासो सहित सहभागी हुने गर्नुहुन्थ्यो । वि.सं. २००९ सालसम्म जुम्ला दरामा, पछिको कर्णाली अञ्चल कोही पनि एसएसी पास गरेका व्यक्ति थिएनन । विद्यालयको नाममा केवल एउटा चन्दननाथ पाठशाला मात्रै थियो । त्यसैले जुम्लाका भद्र भलाद्मीहरूको भेला आयोजना गरियो । व्यापक छलफलपछि मिडिल स्कुल खोल्ने सहमति भयो । सबैको सहमतिमा २८ बर्षे जुझारु युवक अदनसिंह कठायत सञ्चालक समितिको ‘सेक्रेटरी’ छानिनु भयो ।

त्यतिबेला सचिव नभनेर ‘सेक्रेटरी’ लेख्ने चलन थियो । नेपालमा शिक्षाको इतिहास नामक पुस्तकमा पनि प्रधानाध्यापकको सट्टामा ‘हेडमास्टर’ र माध्यमिक विद्यालयको ठाउँमा ‘हाइस्कुल’ र निम्न माध्यमिक विद्यालयको सट्टामा ‘मिडिल स्कुल’ लेखेको पाइन्छ ।

सेक्रेटरी कठायतकै नेतृत्वमा शिक्षक खोज्ने, विद्यार्थी भर्ना गर्ने, पठन पाठन सुरु गराउने, स्वीकृति लिने आदि काम सम्पन्न भए । सबैको सहयोग र श्रमदानबाट भवन निर्माण गराउने जिम्मेवारी पनि उहाँकै काँधमा आयो । ‘सेक्रेटरी’ कठायतले माग गरे अनुसार तत्कालीन बडाहाकिमले स्कुलको लागि दुई जनालाई सहयोगीको रुपमा खटाई दिएका थिए। समितिले आव्हान गरे अनुसार जुम्ला, सिञ्जा, चौधबिस आदि गाउँका सबैले एक दिनको श्रमदान गरे । ढुङ्गा र काठपात बोके । गारो लगाउने र काठको काम मात्रै ज्यालादारीमा लगाइयो । अन्ततः वि.सं. २००९ सालमा कर्णाली क्षेत्रकै पहिलो मिडिल स्कुल नवनिर्मित ९ कोठे भवनमा सञ्चालन गरियो । त्यति बेला बझाङमा पढाउँदै गरेका कुमाउगढ, भारतका केदारदत्त शर्मा पन्तलाई विशेष अनुरोध गरेर शिक्षक तथा 'हेडमास्टर'  बनाइएको थियो । 

हाइस्कुलको लागि राजा महेन्द्रलाई भेट्न हानिए 'सेक्रेटरी' डोटीतिर

पाँच वर्षसम्म मिडिल स्कुल सञ्चालन भए पनि हाई स्कुल तहको कक्षा सञ्चालन नहुने हुँदा जुम्लामै एसएलसी पास गर्ने व्यक्तिहरू तयार गर्ने कुरा सम्भव भएन । जुम्लाका भद्र भलाद्मीहरू तथा समाजसेवीहरू फेरी हाइस्कुल बनाउने अभियानमा जुटे । वि.सं. २०१४ सालमा राजा महेन्द्रको सुदुर पश्चिमको भ्रमण भएको थियो । डोटीमा भ्रमण मुकाम भएकोले चन्दननाथ मिडिल स्कुल सञ्चालक समितिका 'सेक्रेटरी' को हैसियतले कठायतलाई मुख्य प्रतिनिधि बनाएर राजा समक्ष माग पेस गर्नको लागि एक प्रतिनिधि मण्डल डोटी पठाइयो । जम्मा १८ वटा मागहरू समावेश गरिएको माग पत्रमा पहिलो नम्बरको माग नै ‘चन्दननाथ मिडिल स्कुललाई हाइस्कुल बनाइनु पर्ने’ भन्ने थियो । संयुक्त ‘दर्शन भेट’को अवसरमा राजाबाट सबै माग पुरा हुने आश्वासन पाए पछि कठायतको टोली अत्यन्तै खुसी भएर जुम्ला फर्किएको थियो ।    

कर्णालीको पहिलो हाइस्कुल 

राजा महेन्द्रको आश्वासनले मूर्तरूप लिएपछि व्यापक जनसहभागितामा वि.सं.२०१४ सालबाट जुम्लाको सदरमुकाम खलङ्गामा कर्णालीकै पहिलो चन्दननाथ हाइस्कुल सञ्चालन गरियो । सरकारबाट वार्षिक १२ हजार प्राप्त हुन थालेपछि ‘नेपालगन्ज, दाङ र काठमाडौँ आदि ठाउँबाट मास्टर झिकाई’ कक्षा सञ्चालन गराउने काम भयो । उहाँहरूको खानपिनको खर्च सञ्चालक समितिले नै व्यहोर्ने गर्दथ्यो । अदनसिंह कठायत नै राष्ट्रिय पञ्चायत सदस्य भएको बेलामा वि.सं.२०२० सालमा अस्थायी हाइस्कुललाई स्थायी बनाउने काम भयो । सोही सालमा राजा महेन्द्रको जुम्ला भ्रमण भएको समयमा चन्दननाथ हाइस्कुल र जुम्ला अस्पतालको उद्घाटन समेत भएको थियो । कठायतले सेक्रेटरीको भूमिका पनि लगातार निर्वाह गरिरहनु भएकै थियो । उहाँले आफ्नो किताबमा ‘पुराना मास्टर तथा प्रधानाध्यापक’ खडानन्द चौलागाईको सम्मान तथा प्रशंसा गरेको भेटिन्छ । ‘जुम्ला जिल्लामा स्नातक पास गर्ने पहिलो व्यक्ति’ चौलागाईले नै चन्दननाथ हाइस्कुलको शैक्षिक तथा प्रशासनिक नेतृत्व गर्नु भएको थियो ।  

अङ्ग्रेजी माध्यमबाट पढाई हुने स्कुलको स्थापना 

जिल्लामा अङ्ग्रेजी माध्यमबाट पढाई हुने स्कुल नभएकोले एउटा त्यस्तो स्कुल खोल्ने सोच कठायतले बनाउनु भयो । त्यसपछि आफ्नी छोरी अमृतासँग मिलेर वि.सं. २०३७ सालमा कनिका निशा आवासीय विद्यालयको स्थापना गर्नुभयो । यसरी कठायत जुम्लामा पहिलो निजी क्षेत्रबाट  सञ्चलित विद्यालयको संस्थापक पनि आफै बन्नुभयो । 

शिक्षा विकासको लागि मरिमेट्ने कठायतले सिञ्जाको नराकोट मावि स्वीकृत गर्नको लागि पनि मद्दत गर्नुभएको थियो । साथै, जुम्लामा क्याम्पसको स्थापनामा गर्नको लागि पनि सरसहयोग पुर्‍याउनु भएको थियो ।   

तत्कालीन कर्णाली अञ्चलकै पहिलो हाइस्कुल स्थापना गर्न ठुलो योगदान गरेका कठायतले आफू ८७ वर्षको हुँदा कर्णालीका ४१७ जना युवाहरू काठमाडौँ आएर उच्च शिक्षामा अध्ययनरत रहेको तथ्यले निकै हर्षित भएको कुरा आफ्नो पुस्तकमा उल्लेख गर्नु भएको छ ।   

जुम्ला जिल्ला पातारासी गाउँपालिका स्थित सरस्वती माविका शिक्षक राजेन्द्र खत्री भन्नुहुन्छ, 'अदनसिंह कठायतको बिचारसँग म धेरै टाढा छु । तर जुम्ला जिल्लामा शिक्षा विकासको लागि उहाँले गर्नुभएको योगदानको सम्मान गर्दछु । राजनैतिक रुपमा जे जे भए पनि एयरपोर्ट र स्कुलको लागि जग्गा दान दिने तथा आफै विद्यालय सञ्चालक समितिको नेतृत्व सम्हालेर सक्रिय भूमिका निर्वाह गर्ने उहाँको योगदान जुम्ला जिल्लामा अतुलनीय छ ।’  

दानवीर कठायत 

खास गरेर वि. सं. २०१८ देखी २०२४ सालसम्ममा तत्कालीन गाउँ पञ्चायतमा प्राथमिक विद्यालय भवन निर्माण र सञ्चालन, पञ्चायत भवन, घोरेटा बाटा, धर्मशाला, कुला, काठेपुल, मन्दिर आदि निर्माण गर्ने कार्यमा उहाँले निकै सहयोग गर्नुभएको थियो । जुम्ला एयरपोर्ट, अस्पताल र स्कुलको लागि आफ्नो जग्गा पनि दान दिनु भएको थियो । 

कठायतका जेठा छोरा, निजामती सेवाबाट सेवा निवृत्त इन्जिनियर कर्णसिंह कठायत भन्नुहुन्छ, ‘बुवा एकदम साहसी हुनुहुन्थ्यो । अदालतमा बहिदार भएर काम गर्नुभयो । बोले पछि गर्नै पर्ने बानी थियो उहाँको । जुम्लामा मिडिल स्कुल, हाइस्कुल र एयरपोर्ट सुरुवात गर्ने उहाँ नै हो । बुवाले निःशुल्क रुपमा स्कुल, एयरपोर्ट र अस्पतालको लागि जग्गा दिनुभयो । अहिले हामी छोराहरू एउटाको भागमा त केवल ३ मुरी माटोको जग्गा मात्रै परेको छ । बुवा एकदम दानी हुनुहुन्थ्यो । जग्गाहरू घर सल्लाह नगरी, आफ्ना सात दाजुभाइसँग पनि सल्लाह नै नगरी दिनु हुन्थ्यो ।’ 

‘बुवाले समाजलाई धेरै योगदान गर्नु भो तर आफ्नो सन्तानको पढाइ तिर ध्यान दिन सक्नु भएन’, भन्ने लागेको छ उहाँको जेठो छोरालाई । आफूले राम्रो पढे पनि सबै भाइ बहिनीहरूको पढाइमा आशातीत प्रगति नदेखिएको तर्फ उहाँले सङ्केत गर्नुभएको हो । बुवाले छोराछोरीहरूलाई दिने गर्नु भएको अर्ति ‘न आत्तिनु, न मात्तिनु, न तातिनु । यी तीन कुरालाई मनन गरेर अगाडी बढ्यौ भने सफल हुन्छौ ।’ लाई आत्मसात् गरेर नै अघि बढेको बताउनु हुन्छ जेठो छोरा कर्णसिंह ।   

राजनीतिक उतार चढावमा कठायत   

राजनीतिक संलग्नता र योगदानको बारेमा चर्चा गर्ने यो आलेखको मूल आशय नभएकोले यहाँ सामान्य जानकारीको लागि केही सन्दर्भ उल्लेख मात्र गर्न खोजिएको छ । पाँच वर्षपछि जागिर छोडेर उहाँ व्यापार तिर लाग्नु भयो । बिस्तारै उहाँका भाइहरूले पालैपालो पसल हेर्न थालेपछि उहाँले समाज सेवा तिर बढी ध्यान दिन थाल्नुभयो । समाज सेवा गर्दा गर्दै उहाँ राजनीति तिर होमिनु भयो । बाल्यावस्थामा रहेको उहाँको चन्चलेपन युवावस्था र प्रौढावास्थामा पनि प्रतिबिम्बित भएको देखिन्छ– राजनीतिक सन्दर्भमा । कठायत २८ वर्षको उमेरमा नेपाली काँग्रेस जुम्ला जिल्लाको अध्यक्ष (२००९) हुनुभएको थियो तर वि. सं.२०१५ सालको आम चुनावमा स्वतन्त्र उम्मेदवारको रुपमा उठेर पराजित हुनुभयो । 

वि.सं. २०१९ सालमा राष्ट्रिय पञ्चायत सदस्य र २०२४ सालमा दोस्रो पटक रापंस निर्वाचित हुनुभएका कठायत वि.सं. २०३० सालमा कृषि, पुनर्वास र सिँचाइ सहायक मन्त्रीमा नियुक्त भएर काम गर्नु भएको थियो । वि. सं. २०३७ मा राप्ती अञ्चलको अञ्चलाधीश भएर २०३८ सालको आमनिर्वाचन सफलता पूर्वक सम्पन्न गराउनुभयो । वि. सं. २०४९ सालमा राजा वीरेन्द्रबाट राजपरिषद् सदस्यमा मनोनीत हुनुभएको थियो । वि.सं. २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा संलग्न भएर तीन वर्षपछि पार्टी छोडेर स्वतन्त्र भई बस्न रुचाउनु भयो ।    

आत्मवृत्तान्त प्रकाशन तथा पुरस्कार 

शैक्षिक योग्यताको हिसाबले सामान्य लेखपढ मात्रै भएता पनि कठायतले आफू ८७ वर्षको हुँदा वि.सं. २०६७ सालमा आत्मसंस्मरण ‘मेरो जीवन यात्रा र सेरोफेरो’ लेख्नुभयो । त्यसलाई उहाँका सात भाइ छोराहरूले प्रकाशित गरिदिनु भयो । प्राक्कथनमा उहाँले लेख्नु भएको छ, ‘अल्पज्ञको यस सानो प्रयासले मेरा सन्तति र म बाँचेको समुदायलाई कुनै साहित्यिकता, ऐतिहासिकता, मौलिकता, दार्शनिकता वा शास्त्रीयता केही पनि दिन नसक्ला परन्तु जिज्ञासु विद्यार्थीका लागि कर्णालीको विगतलाई कोट्याउन, अध्ययन तथा अनुसन्धान गर्न सानो गोरेटो बन्न सकोस् भन्ने आकाङ्क्षा राखी यो प्रयास थालिएको हो ।’ कठायतले भने जस्तै उहाँले शिक्षामा पुर्‍याएको योगदानको बारेमा केही लेख्नको लागि यो आत्मवृत्तान्त ‘सानो गोरेटो’ मात्र नभई एउटा मूलबाटो नै बनेको अनुभव भएको छ लेखकलाई । यहाँ धेरै पढेका र नाम चलेका व्यक्तिहरूले पनि आत्मकथा लेख्न सकेका छैनन् अथवा चाहेका छैनन् । सामान्य लेखपढ गर्ने मान्छेले आफ्नो जीवनी लेख्नु निकै सराहनीय कुरा हो ।  

उहाँले राज्यारोहण, शुभ राज्याभिषेक पदक र जनमत पदक प्राप्त गर्नुभएको थियो । वि. सं. २०५८ सालमा वीरेन्द्र-ऐश्वर्य सेवा पदकबाट विभूषित हुनुभएको थियो । वि. सं. २०२४ सालमा चन्दननाथ हाइस्कुलका तत्कालीन 'हेडमास्टर' खडानन्द चौलागाईले विद्यालयको स्थापना तथा संस्थागत विकासको लागि योगदान गरेको हुनाले उहाँलाई प्रमाण पत्र सहित धन्यवाद दिनुभएको थियो ।  

निचोड 

वि.सं. १९८१ सालमा जन्मेर ९१ वर्षको उमेरमा महाप्रस्थान गर्नुभएका स्व. अदनसिंह कठायतको राजनीतिक जीवन कथाले थुप्रै आरोह अवरोह, उतार चढाव, सम्मान, सफलता, असफलता, विवाद र छेक थुन व्यहोरेको देखिन्छ । तथापि तत्कालीन कर्णाली अञ्चलको पहिलो मिडिल स्कुल र पहिलो हाइस्कुल स्थापनार्थ दानवीर र कर्मवीरको रुपमा उहाँको योगदान ‘स्यालुट’ गर्न लायक छ । उहाँले २००९  साल, २०१४ साल र २०२० सालमा गर्नुभएको शिक्षा सेवा वा समाज सेवालाई तत्कालीन राजनैतिक, सामाजिक तथा शैक्षिक पृष्ठभूमि एवं मानव चेतना स्तरको जगमा टेकेर मूल्याङ्कन गरिनु पर्दछ ।

हालका शिक्षक, बुद्धिजीवी, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ तथा जनप्रतिनिधिहरूले सामुदायिक विद्यालय सबलीकरणका खातिर विद्यालय सुधार योजना निर्माण गरिरहँदा स्व. अदनसिंह कठायत तथा स्व. खडानन्द चौलगाईहरूलाई बहसको विषयवस्तुको रुपमा समेट्न जरुरी छ । हाल चन्दननाथ माविकै दश कक्षामा अध्ययनरत विद्यार्थीहरू आफ्नो विद्यालय स्थापना गर्न प्रमुख रुपमा योगदान गर्ने व्यक्तिको बारेमा अनभिज्ञ रहने अवस्था सिर्जना नहोस् भनेर शिक्षक तथा शिक्षाकर्मीले हमेसा सचेत रहनु पर्दछ ।  


डा. कडेल शैक्षिक अनुसन्धाता तथा नीति विश्लेषक हुनुहुन्छ ।