आइपिएल प्लेअफ : कसको सम्भावना कति ?

आइपिएल प्लेअफ : कसको सम्भावना कति ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख १८, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)को प्लेअफमा दिल्ली क्यापिटल र चेन्नई सुपर किंग्स पुगिसकेका छन् । यी दुवै टिमको १२ खेलबाट १६ अंक छ ।

अब प्लेअफमा दुई टिमका लागि मात्रै प्रतिष्पर्धा भइरहेको छ । तर, पाँच टिमबीच होड कायम छ । मुम्बई इण्डियन्स, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स र किंग्स इलेबन पञ्जाव प्लेअफको दौडमा छन् । रोयल च्यालेन्जर्स बैंग्लोर भने प्लेअफबाट बाहिरिसकेको छ ।

यी पाँच टिममा कसको सम्भावना कति छ त ?

अंकतालिका अनुसार प्लेअफको दौडमा सबैभन्दा बलियो टिम मानिएको छ, मुम्बई इण्डिन्स । अंकतालिको तेस्रो स्थानमा रहेको मुम्बईको १२ खेलबाट १४ अंक छ । मुम्बईलाई प्लेअफमा पुग्न एक खेलमा जित पर्याप्त हुनेछ । मुम्बईले सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्ससँग घरेलु मैदानमा खेल खेल्न बाँकी छ ।

प्लेअफको अर्काे दाबेदार टिम हो, सनराइजर्स हैदरावाद । हैदरावादको १२ खेलबाट १२ अंक छ । उसलाई प्लेअफमा पुग्न कम्तीमा एक जित अनिवार्य छ ।

तर, बाँकी टिमको प्लेअफ यात्रा भने अलि कठिन छ । यी टिमले बाँकीका आफ्ना खेल जितेर मात्रै हुँदैन, अन्य टिमको नतिजामा समेत भर पर्नुपर्नेछ ।

राजस्थानको १३ खेलबाट ११ अंक छ । उसले प्लेअफमा पुग्न बाँकीको एक खेलमा जितेर मात्रै हुँदैन, हैदरावादले दुई तथा कोलकाता र पञ्जावले एक–एक खेलमा पराजित हुनुपर्नेछ ।

अंकतालिकामा क्रमशः छैठौं र सातौं स्थानमा रहेका कोलकाता र पञ्जावको पनि उस्तै हविगत छ । १२ खेलबाट १० अंक जोडेको कोलकातालाई प्लेअफ पुग्न कम्तीमा दुई खेल जित्नुपर्नेछ भने सनराइजर्स बाँकीका दुई खेलमा पराजित हुनुपर्नेछ । यस्तोमा पञ्जावले सामान्य अन्तरमा जितेको खण्डमा मात्रै कोलकाताको प्लेअफ यात्रा हुनेछ ।

पञ्जावलाई पनि प्लेअफमा पुग्न बाँकीका दुई खेल जित्नुपर्नेछ भने सनराइजर्स बाँकीका दुई तथा कोलकाता कम्तीमा एक खेलमा पराजित हुनुपर्नेछ ।