परदेशीहरूको मह्लमपट्टी: 'सात समुद्रपारि छौँ त के भयो ? प्रेम, सद्भाव साथमा छ, आस नमार्नू है !'

सलाम ! युके सेवा समाज खोटाङ

परदेशीहरूको मह्लमपट्टी: 'सात समुद्रपारि छौँ त के भयो ? प्रेम, सद्भाव साथमा छ, आस नमार्नू है !'

बम बानियाँ  |  दृष्टिकोण  |  असार ३, २०७८

मलाई कसैले कवि/लेखक भन्छन् । कसैले जनसंकृतिकर्मी भन्छन् । कसैले राजनीतिकर्मी भन्छन् । कसैले सामाजिक अभियन्ता भन्छन् त कसै कसैले पत्रकार पनि भन्ने गरेका छन् ।  तर म को हुँ ? खास अहिलेसम्म आफूले आफूलाई चिन्ने मौका भने पाएको छैन । मलाइ सबैभन्दा 'तपाईँ के गर्नु हुन्छ ?' भन्ने प्रश्न नै जटिल लाग्ने गर्दछ ।

 विगत १५ वर्षदेखि यो सबैभन्दा बढी र निरन्तर  मलाई सोधिने प्रश्न हो  । हो, हुन पनि म जे देख्यो त्यही गरौँ गरौँ लाग्ने मान्छे परे । जसले केही गरौँ भन्दा हुँदैन प्रायः नभन्ने मान्छे । कुनै कामलाई ठुलो सानो नभनी या मान मर्यादाको कुनै ख्याल नगरी काम गर्न बहुत मज्जा लाग्छ मलाइ । सायद यो मेरो कमजोरी हो या सकारात्मक पक्ष अझै अनभिज्ञ छु । तर काम गर्न पाउनु मेरो लागि अवसर पनि हो । करिब एक दर्जन सङ्घसंस्थामा संलग्न हुनु, सरकारी वा निजी जागिर नहुनु । जागिर नखाएर पनि कहिल्यै बेरोजगारीको महसुस गर्न नपाउनु मेरो दिनचर्या हो । यही क्रमको एउटा संस्मरण गर्न लायक विषय यहाँ पस्कने कोसिस गरिरहेको छु । 

खोटाङ सेवा समाज युके : अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’

खोटाङ सेवा समाज युके : अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ भन्ने नारासहितको स्वास्थ्य सामाग्री  हस्तान्तरण कार्यक्रमको सन्दर्भमा आधारित छ ।  लकडाउनको अति कठिन समयमा नै  मलाई एउटा फोन कल आउँछ । यसो कल नचिनेको नम्बरबाट फोन आएको रहेछ । फोन उठाए । फोन भिमु मेमोरियल ट्रस्टका अध्यक्ष तथा खोटाङ सेवा समाज युकेका सदस्य जानुका राईले गर्नु भएको रहेछ । 

उहाँले मलाइ खोटाङ सेवा समाज युके (खोसेस् युके)को सहयोग सामग्री हस्तान्तरण गर्न खोटाङको लागि सायद उपयुक्त पात्र ठान्नु भयो होला किनभने म वर्षमा दश बाह्र पटक खोटाङ काठमाडौँ गरिरहने मान्छे हुँ भन्ने उहाँलाई राम्रोसँग थाहा थियो । उहाँसँगको साहित्यिक र सामाजिक कार्यमा विगत नौ वर्षदेखि नै सहकार्यमा रहँदै आएका छौँ । मैले परिस्थिति घरबाट बाहिर ननिस्की भन्दै गरेको भए पनि आफ्नो जिल्लामा युकेदेखि डा. प्रमोद कोयी राई नेतृत्वको कार्यसमितिले जिल्लावासीलाई लाखौँको स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराउँदा आफ्नो जिम्मेवारी ठानेर जान तयार भएँ ।

खोटाङ जिल्लाकै सुङ्देल (हाल केपीलासगढी एक)मा जन्मनुभएका प्रमोद कोयी पेसाले कन्सल्ट्यान्ट साइकाटिष्ट (मानसिक र शारीरिक समस्या हेर्ने) विज्ञ मेडिकल डक्टरको रुपमा हुनुहुन्छ । उहाँ स्वास्थ्य क्षेत्रको विज्ञ र समाजसेवाको क्षेत्रमा काम गरिरहनु भएको कारणले संस्थाको उहाँलाई मुख्य जिम्मेदारी सम्हाल्नु भएको पहिलो हप्ताबाटै  महामारीले सङ्कटमा परेका खोटाङेहरु अक्सिजनको अभावका कारण ज्यान गुमाउनु नपरोस् भनेर युकेमा सहयोगका लागि अभियान सुरु गर्नुभएको थियो ।

 खोटाङ सेवा समाज युकेले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। खोटाङ घर भई युकेलाई कर्मथलो बनाइरहेकाहरूको साँझ संस्थाले ११ लाख ४६ हजार २ सय रुपैयाँ बराबरको कोभिड -१९ विरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको हो।

डा.कोयीको नेतृत्वमा भाग्यवती राई, प्रसाद राई, झलाम राई, भविन राई उपाध्यक्ष, महासचिव भोला विक्रम राई, सचिव राजेन रामजन राई, रोजिना राई, देवेन्द्र राई, कोषाध्यक्ष चन्द्र जयपाल, सह कोषाध्यक्ष सञ्जीव राई हुनुहुन्छ भने सदयमा वसन्त गुरुङ, सन्तोष राई, जानुका राई, खीलेन्द्र राई, धिरज राई, सञ्जीव पारदर्शी, शिव ध्वज राई, बम बहादुर तामाङ,लीला गोम्देन, सुमी राई, पूजन खत्री, अरुणा राई, प्रज्वल राई, ढक बहादुर राणा मगर रहेको समूह अभियानमा सरिक रहेको थियो । यो टिमलाई यो महत्त्वपूर्ण सहयोगका लागि हामी सम्पूर्ण  खोटाङेले सलाम गर्नै पर्ने हुन्छ । म पनि यो अभियानलाई सलाम गर्न चाहन्छु । 

 हामी जानुका नाना र मा  जाने भयौँ खोटाङ  । जानुका राई जसलाई म नाना भन्ने गर्छु । उहाँले मलाई  भाइ भन्नुहुन्छ । मलाई जानुका राईले जानकारी दिए अनुसार समाजको बारेमा बुझ्दै थप जानकारीहरू पनि लिँदै कसरी दिक्तेल पुग्ने र सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेर सुरक्षित यात्रा गर्ने भन्ने तयारी थालौँ । स्वास्थ्य सामाग्री खरिद गरेर मेरा एक जना मित्र परिवर्तन राईले अघिल्लो दिन नै खोटाङ पुर्‍याइ सक्नु भएको थियो । हामी भोलिपल्ट २०७८ जेठ २४ गते  ना १ ज ७४६९ नम्बरको सुमो जिप जो गणेश बहादुर सुनुवार चालकको नाउँमा तयार गरिएको सवारी प्रवेश अनुमति पत्र तयार गरी खोटाङ जिल्लाको यात्रा तय गर्‍यौँ । बन्दाबन्दीको कारणले बाटोमा खाने बस्ने सुविधा नहुने हुनाले हामीले बाटोमा खाने खाजा पानी आफैले बोकेर हिँडेका थियौँ ।

 

बाटोमा खाजा खादै गरेको तस्बिर । बाटोमा सधैँ झैँ खाने बस्ने सुविधा थिएन । सुनसान बाटोहरू थिए। 

कार्यक्रम व्यवस्थापन र संयोजनको जिम्मेवारी समाजका संस्थापक सदस्य रविप्रकाश राईले गर्नु भएको थियो भने राजनीतिक नेतृत्वको तर्फबाट संविधान सभा सदस्य दुर्गा जयन्ती राईले महत्त्वपूर्ण  साथ सहयोग  रह्यो ।  

काठमाडौँबाट खोटाङ मेरालागि कुनै नयाँ यात्रा होइन तर जानुका नानाका लागि भने यो करिब ३५ वर्षपछिको माइती गाउँ तर्फको यात्रा थियो । उहाँले आफ्ना बुबा भीम बहादुर र आमा मुगारी राईको नाउँबाट भिमु मेमोरियल ट्रस्ट नै स्थापना गर्नु भएको छ ।उहाँ धेरै नै गम्भीर र उत्साहित हुँदै यात्रा आरम्भ गर्नुभयो । बनेपा, धुलिखेल हुँदै भकुण्डेवेसी, नेपालथोक, खुर्कोट घुर्मी जस्ता बाटोमा पर्ने क्षेत्रहरूमा हामी बिसाउँदै जयराम पुग्दा ५ बजिसकेको थियो । जयरामको थाक्ले राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको जन्मस्थान हो । अहिले वार्षिक रुपमा त्यहाँ व्याकुल माइला गोल्ड कप खेल खेलाउने  गरिएको छ ।

हलेसीतुवाचुङ, नुनथला, हुर्लुङ, मुडे हुँदै रातको ९ बजे हामी दिक्तेल पुग्यौँ । रविप्रकाश राईले रुपाकोट होटेलमा हामीलाई दुई वटा सुरक्षित कोठा र खाना बस्नको व्यवस्था गरिदिनु भएको रहेछ । हामी त्यही बसियौँ । भोलिपल्ट १ बजे सहयोग हस्तान्तरण कार्यक्रम राखिएको थियो । कार्यक्रमलाई कोभिड कै कारणले अनौपचारिक रुपमा गर्ने सल्लाह अनुसार आयोजकको सल्लाह बमोजिम सहजीकरणको भूमिका निर्वाह गर्नु भयो ।

कार्यक्रममा रोहवरको रुपमा संविधान सभा सदस्य दुर्गा जयन्ती राई,  पार्टी प्रतिनिधिहरूमा नेकपा एमालेका अध्यक्ष राम दंगाल, नेपाली काँग्रेसका सचिव ज्ञानेन्द्र जोशी, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष देवान किराँती पृथ्वी तथा जसपाका केन्द्रीय सदस्य सूर्य राई तथा  सम्बन्धित नगरका नगर  प्रमुख दिपनारायण रिजाल लगायतको उपस्थिति  रहेको थियो । प्रजिअ तथा जिल्ला स्वास्थ्य प्रमुखको विशेष उपस्थितिमा संस्थाका प्रतिनिधि जानुका राई तथा संस्थाका संरक्षक सदस्य रविप्रकाश राईले खोटाङ सेवा समाज युकेका अध्यक्ष डा.प्रमोद कोयीको टिमले पठाएको ११ लाख ४६ हजार २ सय बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा  पत्रकार महासङ्घ खोटाङ तथा  जिल्लाका पत्रकारहरूको उपस्थिति रहने नै भयो । 

सञ्चारमाध्यमले  धेरै समाचारहरू लेखेका छन् । यी मध्ये  एउटा समाचार यस्तो रहेको  छ । 'खोटाङ सेवा समाज युकेद्वारा जिल्ला अस्पताललाई ११ लाख बढीको स्वास्थ्य सामग्री सहयोग' ।

 खोटाङ सेवा समाज युकेले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। खोटाङ घर भई युकेलाई कर्मथलो बनाइरहेकाहरूको साँझ संस्थाले ११ लाख ४६ हजार २ सय रुपैयाँ बराबरको कोभिड -१९ विरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको हो।

खोटाङ सेवा समाज युकेका अध्यक्ष डाक्टर प्रमोद कोयी राईको नेतृत्वमा आएको स्वास्थ्य सामग्री जिल्ला अस्पतालको प्राङ्गणमा खोटाङ सेवा समाज युकेका कार्यसमिति सदस्य जानुका राई र विशिष्ट संरक्षक सदस्य  रविप्रकाश राईले स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देललाई बुधवार हस्तान्तरण गरेका छन्। युकेमा दुई हप्ता बढी ‘अक्सिजन पठाऔँ आफन्तको ज्यान बचाऔँ’ अभियान चलाएर स्वास्थ्य सामग्री जुटाउन सफल भइएको समाजले जनाएको छ।

स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै खोटाङ सेवा समाज युकेका कार्यसमिति सदस्य जानुका राई र विशिष्ट संरक्षक सदस्य तथा संस्थापक रविप्रकाश राई । 

अस्पताललाई हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीहरूमा ९० वटा थर्मलगन, ९ वटा कन्सनट्रेटर, १ वटा बिपप, २० वटा अक्सिजन मास्क रिर्जभर, २ वटा ईन्टुबेसन सेट, ५ वटा पल्स अक्सिमिटर, ९० वटा एडल्ट पल्स अक्सिमिटर, ५० वटा सक्सटिक्सन ट्युव, १० वटा गाईडल एयरवे, ५० वटा अक्सिजन  क्रयमेल २२, ५ वटा हाईफ्लो नजल क्यानेला, १ वटा इलेक्ट्रिक सक्सटिक्सन र ९० वटा कनेक्सन पाइप छ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रशासन प्रमुख, राजनीतिक दलका प्रमुख, स्थानीय तहका प्रमुख, कर्मचारी, समाजसेवीहरू उपस्थिति रहेका  थियो । कोभिडका कारण जिल्लावासी कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री पठाइएको खोटाङ सेवा समाजका कार्यसमिति सदस्य राईले बताउनु भयो । कोभिड विरुद्ध लड्नका लागि अझै पनि थप सहयोग गरिने उनले आश्वासन दिनु भयो ।

उक्त स्वास्थ्य सामग्रीहरू आजै (२०७८ जेठ २६) दुई नगरपालिका, आठ गाउँपालिकाले पाउने गरी स्वास्थ्यकर्मीहरूलाई वितरण गरिएको छ। २०७३ सालमा खोटाङ सेवा समाज युकेले जिल्लालाई एकै पटक ७ वटा एम्बुलेन्स सहयोग गरेको थियो। त्यो भन्दा अघि जिल्ला अस्पताललाई एक थान अल्ट्रा साउन्ड मेसिन सहयोग गरेको थियो।कार्यक्रम संस्थाको लक्ष भनेका जिल्लाको १० वटै पालिकालाई पुग्ने गरी  सामाग्री हस्तान्तरण गरियो । यो एउटा मानवीय सेवाको उच्च कार्य थियो । 

 डा. प्रमोद कोयी राईको मे ३१ ,२०२१ को फेसबुक स्ट्याटस 

प्रिय खोटाङ ,

तिमी विसन्चौ हुँदा हामीलाई दुख्छ, पिडा हुन्छ ! सात समुन्द्र पारी छौँ त के भयो, हाम्रो प्रेम सद्भाव र साथ सधैँ हुन्छ ।धेरै गर्न नसके पनि ममह्लमपट्टी पठाउने प्रयास गर्दै छौ , हाम्रो आस-नमार्नु है ! परदेशी....

यसरी उहाँहरूले आफ्नो गाँस काटेर बालकदेखि बद्धसम्मको थोपा थोपा पसिनाबाट जोहो गरेर पठाउनु भएको अक्सिजन अहिले कोभिड महामारीको कारण अस्पतालमा छटपटाइरहेका बिरामीहरूका लागि जीवन दान सावित भइरहेको छ ।  हामी सम्पूर्ण खोटाङेले उहाँहरूको यो योगदानलाई सलाम गर्नै पर्छ । 

हामी नेपालीहरू जो जहाँ भए पनि आफ्नो ठाउँ र जन्मभूमिको लागि यसरी गाँस काटेर गरेको सङ्कटको सहयोगलाई राज्यले उचित मूल्याङ्कन गर्न सके हुन्थ्यो तर हामी कति सङ्कीर्ण बन्दै छौ हाम्रा दैनिक व्यवहारले प्रमाणित गर्दै छ । हाम्रा विवेकहरू गुम्दै छन्। हामी राजनीतिको नाउँमा कसैका कार्यकर्ता बनेका छौँ । पत्रकारिताको नाउँमा कुनै राजनीति नेताको इसारा मात्र कलम चलाई रहेका छौ ।

देश निर्माणकामा लाग्नु पर्नेहरू आज रोजगारीको लागि संसारका विभिन्न देशहरूमा भौँतारिन बाध्य  छौँ । हामी भने व्यवस्था र परिवर्तनका लागि लड्दा लड्दै एउटा श्रीपेचधारी राज दरबारबाट निकालेर टोपीधारी राजाहरूको जन्म गराइरहेका छौ । एकले अर्कोलाई सहयोग गरेर यो कठिन समयबाट बाचेर देश निर्माणको कार्यमा लाग्नु नै छ । एक पटक खोटाङ सेवा समाज युकेको झैँ हाम्रा स्वार्थ भन्दा अलि माथि उठेर सोच्न सके महामारीलाई सजिलै परास्त गर्न सकिने छ ।