मुस्लिम ब्रदरहुड आतंकी संगठन घोषित गरिने

मुस्लिम ब्रदरहुड आतंकी संगठन घोषित गरिने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १८, २०७६


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मुस्लिम ब्रदरहुड संगठनलाई आतंककारी घोषित गर्ने पहल गर्दैछन् । मिस्रको यो संगठन देशमा इस्लामिक कानून लागू गराउन वर्षौंदेखि हिंसात्मक गतिविधि गर्दै आइरहेको छ । 

वाशिगंटन, आइएसएनएस । अमेरिकाको ट्रम्प प्रशासन मिस्रको मुस्लिम संगठन मुस्लिम ब्रदरहुडलाई आतंककारी घोषणा गर्ने तयारीमा जुटेको  छ । 

यो संगठन सन् १९२८ मा मिस्रमा स्थापना भएको थियो । देशमा इस्लामिक कानून लागू गराउन विगत कैयन दशकदेखि यो संगठन हिंसात्मक गतिविधि संचालन गर्दै आइरहेको छ । 

स्थानीय मिडियाका अनुसार ह्वाइट हाउस प्रशासनले राष्ट्रिय तथा उच्च राजनीतिक अधिकारीहरुलाई यस संगठनमाथि प्रतिबन्ध लगाउने  मार्गचित्र कोर्न निर्देश दिएको छ । 

गत ८ अप्रिलमा मिस्रका राष्ट्रपति अब्देल फतेह अल सिसीको अमेरिका भ्रमण पश्चात ह्वाइट हाउसले यस्तो निर्देश जारी गरेको हो ।  अमेरिका भ्रमणमा रहँदा मिस्रका राष्ट्रपति अब्देल फतेहले मुस्लिम ब्रदरहुडलाई आतंककारी संगठन घोषित गर्ने आफ्नो प्रयासमा अमेरिकी सहयोग मागेका थिए । 

ह्वाइट हाउसको प्रवक्ता सारा सैन्डर्सका अनुसार ट्रम्प प्रशासन मुस्लिम ब्रदरहुडलाई आतंकी संगठन घोषित गर्न गम्भीर बनेको छ । 

मुस्लिम ब्रदरहुड आतंकी संगठन घोषित हुनासाथ यसमाथि आर्थिक संकलनदेखि लिएर अनेकौं प्रतिबन्ध लाग्ने छन् ।