सन्तोष थेबेका चार छोटा कविता

सन्तोष थेबेका चार छोटा कविता

सन्तोष थेबे  |  साहित्य  |  असार ५, २०७८

१. फरक छ

फरक छ
कावा खादै आकाशमा उडिहिड्ने काकाकुल
धरतिमा जताततै रातो रगत देख्छ
तिम्रो नामको एक मत कसले बदर गर्यो को नि
तास झैं भत्किएर पनि यहाँ कोहि सुन्दर जगत देख्छ
फरक छ धेरै फरक छ
बज्रिसकेपछि घन
भत्किसकेपछि मन
सुकेका पातपतिङ्गरहरुले पनि बडेमानको आधितुफान छेक्छ।

२. बेवारिस सम्झना

रहर र सपनाहरु आखिर
अनुहारमै ज्वारभाटा पिएर बाच्छ्न भने
ऐनाको एक किनारमा उभिएर रमिता हेर्नू
कतै छेकिइ हालेछु भने अँध्यारो छायाले
पोल्टामा जतनले भिरेको एउटा पुरानो ऐना छ
सम्झनाहरु बेवारिस मरे त के भो
जूनतिर फर्किएर एक अन्जूली उज्यालो घट्घट पिएकैछु त....!

३. पुरानो भित्ता 

कति सस्तो रहरहरुले पोतिएको
एक पुरानो भित्ता रहेछु
लिप्दा लिप्दै सम्झनाहरुले
पाप्रा पाप्रा भएर झरेछु
नछुनु पर्थ्यो छोइ त हाले
कस्सो तिम्रो तस्बिरमाथि खसिनछु ।

४. आधा बाटो 

आधा बाटो सङ्गै हिडेपछी
के सोचेर फिर्यौ को नि
तिम्रो त घुम्ती घुम्तीमा घरजम होला
म भएँ सुकुमबासी....!

धरान, सुनसरी