मधुबालासँग विज्ञान गफ

मधुबालासँग विज्ञान गफ

जय याधवा  |  ज्ञानविज्ञान  |  बैशाख १८, २०७६

वास्तवमा हामी वर्तमानमा जे हेरिरहेका हुन्छौं, त्यो चाहे करोडौं वर्ष टाढास्थित कुनै तारा होस् वा तपाईंको आलिंगनमा रहेकी प्रेमिका हुन् । ती सबै भूतकालका दृश्य हुन्छन् । टेक्निकली, थ्योरेटिकली वर्तमानजस्तो केही हुन्न ।

हामीले प्रत्येक कुरालाई भूतकालमा नै हेर्ने गर्छौं । वर्तमानको अभ्यस्त तपाईंलाई मेरो कुरामा विश्वास नलाग्न सक्छ । तर, आज म तपाईंलाई आफ्नो कुरामा सहमत गराउन कम्मर कसेरै लागेको छु । ल म आफ्नो काल्पनिक रोमान्सबाट श्री गणेश गर्छु । 

साँझको बेला थियो, हिन्दी फिल्मको चर्चित अभिनेत्री मधुबाला मलाई भेट्न आएकी थिइन् । नपत्याए तलको स्केच हेर्नुस् । 

के तपाईंलाई हामीबीच भएको कुराकानी सुन्ने मन छ ? ल ध्यानले पढ्नुस्, हामीबीच भएको कुराकानी :

म– मधुबाला !

उनी– हजुर । 

म– हेर, म विज्ञानको विद्यार्थी हुँ । विज्ञानको दृष्टिले हेर्ने हो भने तिमी अलिकति पुरानो देखिएकी छौ । 

उनी– तौबा, तौबा ! के भनेको हो तिमीले ! म पुरानो भएँ, तिमीलाई नयाँ चाहियो ?

म– होइन, होइन । मैले त्यसो भनेको होइन । नरिसाउ न । मेरो कुरा त पूरै सुन । 

उनी– सुन्नु छैन, मैले तिम्रो कुरा । तिमीले मेरो प्रेमको अपमान गरेका छौ ।

म– तिम्रो कसम मधु, मैले न प्रेमको र न त तिम्रो नै अपमान गरेको छु । हेर, तिमीलाई थाहै छ, म विज्ञानप्रेमी पनि हुँ । आफ्नो प्रियसीलाई विज्ञानको केही कुरा भनौं भन्ने इच्छाले चर्चा गर्न लागेको थिएँ । के तिमीलाई विज्ञान मन पर्दैन र ?

उनी– विज्ञान त मलाई औधी मन पर्छ । 

म– म विज्ञानकै त कुरा गरिरहेको थिएँ, तिमी रिसाइहाल्यौ, भैगो अब गर्दिनँ ।

उनी– विज्ञानको कुरा हो भने छिट्टै भनिहाल, नभए म फेरि रिसाउँछु ।  

म– ल सुन, मेरो आशय के थियो ।  हेर, जब म तिम्रो चञ्चल आँखा, हँसिलो मुहार हेर्छु...। तिमीलाई थाहा छ, यो कसरी सम्भव हुन्छ ? हेर, मेरो हेराईमा प्रकाशको पनि भूमिका हुन्छ ।

उनी– यो त कसलाई पो थाहा छैन । प्रकाश नभए त केही पनि देखिँदैन । 

म– हो तिमीले ठिक भन्यौ, अब यसको विज्ञान सुन । प्रकाशका किरण तिम्रो आँखा, अनुहारसँग ठक्कर खाएर फर्किन्छन् । ती फर्केका प्रकाश किरण मेरो आँखासम्म आई पुग्छन् । आँखाभित्र भिजुवल कोर्टेक्स प्रोसेस हुन्छ, त्यो जानकारी मस्तिष्कलाई प्रवाहित हुन्छ । अनि, मस्तिष्कले निर्णय दिन्छ, मेरो आँखासम्म आइरहेको प्रकाशका किरण तिम्रो अनुहारबाट परावर्तित भएर आएका हुन्छन् ।

उनी– हो र ? यो यतिको लामो झन्झटिलो काम हो ? मलाई चित्र कोरेर बुझाऊ ।

म– ल हेर । यो चित्रमा तिम्रो मुहारलाई मैले फूलका रुपमा बनाएको छु । सूर्यको प्रकाश फूल रुपी तिम्रो मुहारमा पर्छ । अनि परावर्तित हुन्छ, मेरो आँखाले त्यस प्रकाशलाई ग्रहण गरी तिम्रो चित्र बनाउँछन् । यो अर्को चित्रमा हेर, आँखामा तिम्रो चित्र बन्न कस्तो प्रक्रिया हुन्छ । 

उनी– सुभान अल्लाह ! के मेरो आँखाले पनि तिमीलाई यसरी नै हेर्छन् ? 

म– हो मधु, संसारका सबै आँखाले हेर्ने प्रक्रिया यही हो । र, यसमा समय लाग्छ । त्यसैले मैले भनेको थिएँ, ‘तिमी जे छौ, म त्यो होइन, त्योभन्दा केही पुरानोलाई हेर्ने गर्छु ।’ 

उनी– तिमीले कति जति पुरानो हेर्दैछौ, मलाई ? ठ्याक्कै भन्न सक्छौ ?

म– किन नसक्नु !

अहिले नै भनिदिन्छु । हेर, मेरो आँखाबाट तिम्रो अनुहार झण्डै ०.३ मिटर पर छ । तिमीलाई थाहै छ, प्रकाशको गति २,९९,७९२ किमि प्रतिसेकेण्ड हुन्छ । सूर्यबाट हिँडेको प्रकाशका किरण ५०० सेकेण्डमा आएर तिम्रो अनुहारको स्पर्श आनन्द लिन्छन् । र, तिम्रो मुहारबाट परावर्तित भई ०.३ मिटर पर रहेको मेरो आँखामा आइपुगेर तिम्रो चित्र बनाउँछन् ।

तिम्रो अनुहारको चित्र बोकेर प्रकाशका किरणलाई मेरो आँखासम्म आउन लाग्ने समय हिसाब गरौं–

समय= दूरी/गति
    =     ०.३ मिटर      
      २९९,७९२,४५८ मि/से   
    = १x१०-९ सेकेण्ड

विज्ञानको भाषामा यसलाई १ ‘नानो सेकेण्ड’ भनिन्छ । 

उनी– यो १ नानो सेकेण्ड भनेको के हो ?

म– १ नानो सेकेण्ड भनेको एक सेकेण्डको अर्बौं भाग हो । जसरी एक मिनेटलाई ६० ले भाग गर्दा एक सेकेण्ड हुन्छ, त्यसरी नै १ सेकेण्डलाई एक अर्बले भाग गर्दा समयको जुन लम्बाई प्राप्त हुन्छ, त्यो एक नानो सेकेण्ड हो । म तिमीलाई सधैं एक नानो सेकेण्ड पुरानो हेर्छु । 

उनी– ए...तिमी मलाई एक नानो सेकेण्ड पुरानो हेर्छौ ! छिट्टै यो सम्बन्धी अरु सबै कुरा भन, नभए एक नानो सेकेण्डमै म यहाँबाट बेपत्ता हुन्छु ।

म– मधु, प्लिज जाने कुरा नगर । म तिमीलाई यस विषयबारे सबै कुरा भन्छु ।

उनी– ल ल सुरु गरिहाल ।

म– हेर, हामी घरमा बसेर टिभी हेर्छौं नि, मानौं हामी टिभीबाट ३ मिटर पर बसेका छौं । यस दूरीमा टिभीको दृश्य हाम्रो आँखासम्म पुग्न झण्डै १० नानो सेकेण्ड समय लाग्छ ।

सबैभन्दा नजिकको खगोलीय पिण्ड चन्द्रमालाई हामी १.३ सेकेण्ड पुरानो हेर्छौं ।

हामी सूर्यलाई ८ मिनेट २० सेकेण्ड पुरानो हेर्छौं । कथंकदाचित सूर्यलाई कसैले गायव बनाइ दिने हो भने हामीलाई ८ मिनेट २० सेकेण्डपछि मात्र थाहा हुन्छ ।

यम (प्लुटो) नामक ग्रहलाई हामी ७ घण्टा पुरानो देखिरहेका हुन्छौं ।

हाम्रो सूर्यबाहेक छिमेकी सूर्य प्रोक्सीमा सेन्टुरीलाई ४ वर्ष पुरानो रुपमा नजर गर्छौं हामी । 

आकाशगंगा मिल्की वे मा रहेका कैयौं तारा जुन हामी आकाशमा देख्छौं, विश्वास गर तिनको जुन स्वरुप हामी देखिरहेका हुन्छौं त्यो १ लाख वर्ष पुरानो हुन्छ ।

मिल्की वे को छिमेकी अर्को आकाशगंगा एण्ड्रोमेडाका ताराको जुन स्वरुप हामीसम्म पुगेको हुन्छ, त्यो २५ लाख वर्ष पुरानो हुन्छ ।

ब्रह्माण्डमा रहेका दूरस्थ आकाशगंगाको स्वरुप त १३ अर्ब पुरानो हो ।

उनी– यदि हामी सबैकुरा भूतकालमा मात्रै हेर्छाैं भने वर्तमानकाल के हो ?

म– हाम्रो जीवनको सबैभन्दा ठूलो धोका । वर्तमान हाम्रो मस्तिष्कको उपज मात्रै हो । वर्तमान जस्तो केही हुन्न । हामीले मस्तिष्कमा वर्तमानबारे जुन चिन्तन पनि गर्छौं नि ! त्यो चिन्तन पनि भूतकालकै हुन्छ । 

पाठकगण, मेरा कुराले मधुलाई झर्को लागिसकेको थियो । म उनलाई फकाउन लंग ड्राइभमा गएँ । यो लंग ड्राइभमा जाने विचार पनि ‘डेड’ अर्थात् भूतकालमै मेरो मस्तिष्कमा आएको थियो । म त हेर्नुस्, ज्ञानी होइन, तपाईंलाई यस विषयमा अरु जान्ने ईच्छा भए यूजी कृष्णमूर्तिका दुई चार पुस्तक पढ्नुस् ।

यार, कम्तीमा मलाई मधुसँग ड्राइभमा जाँदा ‘ह्याप्पी एण्ड एडमायर जर्नी’ त भन्नुस् ।