रामवीर मानन्धर : वडाध्यक्षदेखि मन्त्री हुँदै विश्व रेकर्डसम्मको यात्रा

रामवीर मानन्धर : वडाध्यक्षदेखि मन्त्री हुँदै विश्व रेकर्डसम्मको यात्रा

आशिष पौडेल  |  अन्तर्मन्थन  |  असार ५, २०७८

एउटा अति सामान्य परिवारको अनि खासै पुर्ख्यौली इतिहास नभएको साथै उच्च शिक्षा समेत हासिल नगरेको मान्छे राजनीतिमा सफल भएका यस्ता विरलै उदाहरण पाइन्छन् । हुन त राजनीतिमा पद प्राप्त गर्नुलाई सफल मान्नेहरू धेरै छन् तर, रामवीर मानन्धर भने केवल पद प्राप्त गरेका कारण मात्र सफल भएको नभई राजनीतिमा एकदमै गाह्रो अनि कमै मात्र प्रदर्शन गरिने नैतिकता र इमानदारीका कारण पनि चर्चित र सफल हुनुहुन्छ । 

उहाँको सफलता यतिमा मात्र सीमित नरहेर बुद्धिचालको गोल्ड मेडलदेखि मन्त्री भएर लगातार चार घण्टा पाँच मिनेट बिस सेकेन्डसम्म गीत गाएर विश्व रेकर्ड कायम गर्ने सम्म रहेका छन् । सफल भन्दा पनि आफलाई एक असल राजनीतिकर्मीका रुपमा चिनाउनु भने उहाँको साँचो सफलता हो । उहाँको यस जीवनीबाट मान्छे सफल भन्दा पनि असल हुन गाह्रो अनि उक्त मार्गमा विभिन्न वाधा विघ्न आए पनि नैतिकताको बलमा त्यसलाई सजिलै परास्त गर्न सकिने महत्त्वपूर्ण पाठको रुपमा लिन सकिन्छ । 

पारिवारिक अवस्था

रामवीर मानन्धरको परिवार मध्यम वर्गीय परिवार हो । बुवाको सानोतिनो व्यापार थियो । बाजेको कुरा गर्दा उहाँको बाजे भने झोछेंको । मानन्धर परिवारको पुर्ख्यौली पेसा भनेको कोलमा तेल पेल्ने नै हो । झोछेंमा रहेको तीन चार वटा पुरानो साल (तेल पेल्ने कोल) हरूमध्ये एउटा उहाँको बाजेको रहेछ । जसलाई न्हुःसा अर्थात् नयाँ साल भन्ने गरिँदो रहेछ । 

त्यसबेला मनोरञ्जनको कुनै साधन थिएन । मनोरञ्जनको साधन भनेकै जुवा थियो । अनि उहाँको बाजे जुवामा हारेपछि टाट पल्टिएर हालको तारकेश्वर नगरपालिकाको खासमा भन्दा दौडने पानी (नेवारीमा लखपाता) आएर बस्नु भएको । 

दौडने पानी असन, ठँहिटी, पकनाजोल, क्षेत्रपाटी तथा सोह्रखुट्टे पछि पछिल्लो चरणमा त्रिशूली, नुवाकोट लगायत उत्तर पश्चिमको तिब्बतसम्मको व्यापारिक केन्द्रको रुपमा विकास हुँदै गएको थियो । 

उहाँको बुवाको तीन दाजुभाइ । अनि उहाँको बालाजुको हालको वासस्थान भने छुट्टा भिन्न हुँदा गोला प्रथाद्वारा उहाँको बुवाको भागमा परेका कारण दौडने पानीबाट उहाँहरूको बसाइ सराइ यता सरेको हो । 

जन्म र बाल्यकाल

उहाँको जन्म २०१९ साल वैशाख १ गते शुक्रवार राम नवमीका दिन भएको हो । राम नवमीका दिन जन्मिएका कारण उहाँको बुवाले उहाँको नाम रामवीर राख्नु भएको रहेछ । अझ उहाँको नाममा कर्ण पनि जोडिएको छ । जुन उहाँको हजुरबाको नामबाट समेत जोडिएर राखिएको रहेछ । यो तथ्य भने धेरैलाई जानकारी नभएको समेत उहाँले बताउनु भयो । 

उहाँको छ दाजुभाइ तीन दिदी बहिनी । उहाँको बाल्यकाल भने गुच्चा खेल्दै अनि च्याम्पुटी घुमाउँदै बितेको हो । तर, उहाँलाई च्याम्पुटी घुमाउन भने खासै आउँदैन थियो । 

प्रारम्भिक शिक्षा

उहाँलाई सानैदेखि स्कुल जान रहर लाग्ने त्यो पनि दुई वर्षको उमेरमा । अब त्यो उमेरमा हिँड्न सक्ने कुरो भएन । स्कुल हिँडेरै जानुपर्थ्यो । अनि छोरा मन्छेले बोक्ने कुरा भएन । बोकेर लैजानेमा उहाँको दिदी पर्नुहुन्थ्यो । घरमा खाना पनि बनाउनु अनि भाइलाई पनि बोकेर स्कुल लैजानुपर्दा दिदी एकदमै रिसाउनु हुन्थ्यो रे ! एक दिन दिदीले उहाँलाई बाटोमै छोडेर स्कुल जानु भएछ । 

तर, फर्कँदा भने उहाँले बाटोमा पाँच रुपैयाँ भेट्नु भएछ । त्यसबेलादेखि भाइले फेरि पनि पैसा भेट्छ भनेर होला दिदीले कहिले पनि स्कुल जाने बेलामा उहाँलाई नरिसाई बोकेर लैजानु भयो रे !

बालाजु बाइपास नजिकै त्यसबेला एउटा पाटी थियो । त्यसमा नवप्रकाश भन्ने स्कुल थियो त्यसबेला जसको नाम पछिल्लो चरणमा तरुण भएको छ । उहाँ तीन वर्षको उमेरमा त्यस स्कुलमा जानुहुन्थ्यो । उहाँले उक्त स्कुलमा एक कक्षादेखि तीन कक्षासम्म पढ्नु भयो । 

अनि गाउने शोख पनि भएका कारण उहाँलाई लाग्यो गीत नै गाउनु पर्ला । गिनिज वर्ल्ड रेकर्डमा भने फर्म भर्नका लागि मात्र एक लाख रुपैयाँ लाग्ने रहेछ । उहाँको पाँच घण्टा गाउने उद्देश्य रहेछ । उहाँले रियाज अथवा प्राक्टिस गरेर गाएको भने होइन । रेकर्ड हेर्दा पनि त्यो प्रस्ट देख्न सकिन्छ ।

अनि त्यसबेला त्यहाँ हिँड्न सजिलो होस भन्नका लागि घट्टको ठुलो पाङ्ग्रा राखिएको थियो त्यसमा खेल्नुहुन्थ्यो । अनि लेख्ने सिलोटलाई उहाँ गाडी जस्तै गुडाउनुहुन्थ्यो । स्कुलमा जान खेतको आलीबाट हिँडेर जानुपर्थ्यो । 

उहाँको दिदी तथा दाइहरूले उक्त स्कुललाई त्यसबेला 'पागलचा मन्दिर हाइस्कूल, ग्वारमरी मास्टर आलु अफिस' भन्नुहुन्थ्यो । त्यो भनेको पागलको स्कुल, तलब नआउने हुनाले मास्टर पनि मन लागेको बेलामा मात्र पढाउन आउने अनि बस्नलाई सुकुलसम्म पनि नभएको साथै अफिस पनि नभएको कारण त्यसो भनिएको रहेछ । 

उहाँ चार कक्षादेखि भने नेपाल युवक मावि, पकनाजोलमा पढ्न जानु भएको हो । सात, आठ कक्षा पछि मात्र त्यहाँ बस्ने डेस्क बेन्चको व्यवस्था भएको हो । कक्षामा त्यसबेला चालीस जना जति हुन्थे । छात्राहरूको सङ्ख्या भने त्यस्तै दश पन्ध्र जना हुन्थ्यो । उहाँ भने तेस्रो बेन्चतिर बस्नुहुन्थ्यो । पढाइमा भने उहाँको खासै रुचि थिएन । 

पढाइका विषयमा भन्नुपर्दा अङ्ग्रेजी र उहाँको जहिले पनि छत्तीसको आँकडा रह्यो । घनश्याम राणा सरले अङ्ग्रेजीमा, लिसन टु मी, भनेको पनि उहाँले कहिले राम्रोसँग भन्न र बुझ्न सक्नु भएन । विद्यालयको अन्तिम समयसम्म पनि अङ्ग्रेजी र उहाँको दुस्मनी कायम नै रह्यो । अरु विषयमा पास भए पनि उहाँ अङ्ग्रेजीमा कहिल्यै पास हुन सक्नु भएन । 

उहाँले २०३६ सालमा एसएलसी जाँच दिनु भएको हो । त्यसबेला २०३६ सालको चर्चित आन्दोलन पनि सुरु भएको थियो । उहाँ र अर्को एक जना साथी त्यसबेला लैनचौरमा आन्दोलनमा सहभागी हुन पनि जानु भएको थियो । 

त्यसको प्रभाव भनौँ वा जाँच नदिने स्वार्थ त्यसबेला पञ्चायत विषयको जाँच नदिने भनेर उहाँहरूले कापी च्यात्नु भयो । त्यसकारण धेरैको शून्य नम्बर आयो । ज–जसले लुकाएर वा नाम मात्र लेखेर पनि कापी बुझाए उनीहरू भने पास भए । कापी च्यात्ने उक्त आन्दोलनमा सहभागी साथी विकास हाल विकासनन्दको नामबाट चर्चित हुनुहुन्छ । 

विकासनन्दसँग उहाँ मन्त्री भएर गायनमा विश्व रेकर्ड राखेपछि पोखरामा उहाँले राख्नु भएको सम्मान कार्यक्रममा उहाँको भेट भयो । हुन त त्यसभन्दा अघि एक पटक २०७० सालमा माओवादी नेतृ हिसिला यमीसँग चुनाव लड्ने सिलशीलमा सहयोगको लागि उहाँ साथीहरू समेत लिएर उहाँको मनोक्रान्तीको कार्यालय रानीबारी पुग्नु भएको थियो । 

त्यसबेला उहाँले हिसिला यमीसँग तिमीले के चुनाव जित्छौ र भनेर भन्नु भएको रहेछ । उहाँले यो कुरो अहिले भन्दा पछि चुनाव लडेर जितेपछि मात्र भनौँला भनेर भन्नु भएको रहेछ । उहाँको स्वार्थ उहाँको चेला चपेटा पनि राम्रै भएको र उहाँको घर नरदेवी सम्बन्धित क्षेत्रमा परेको हुनाले चुनावमा केही मद्दत होला भन्ने रहेछ । 

एकवर्षपछि उहाँले बन्दीपुर गएर एसएलसी दिनुभयो । कारण रहेछ उहाँको छिमेकीको बुवा त्यसबेला बन्दीपुरमा जिल्ला शिक्षा अधिकारी हुनुहुँदो रहेछ । जसका कारण जाँचमा केही मद्दत हुन्छ भन्ने रहेछ ।  तर, परिणाम भने उही अङ्ग्रेजी जो सँग उहाँको दुस्मनी कायम नै थियो । हुन त उहाँलाई नक्कली सर्टिफिकेट बनाउन पनि धेरैले सुझाए । तर, जीवनमा नक्कली काम नगर्ने उहाँको प्रतिबद्धता हाल पनि कायमै रहेको उहाँ बताउनुहुन्छ । 

शायद एसएलसी पास भएको भए पास भन्ने घमन्डले अरु कुनै सानो, व्यापार वा जागिर खान पुगिन्थ्यो होला त्यसले अहिलेको राजनीतिक उपलब्धि हासिल नहुन सक्थ्यो उहाँ बताउनुहुन्छ । तर, अङ्ग्रेजीकै कारण आफू कतै अपमानित हुनु नपरेको पनि उहाँ बताउनुहुन्छ । बरु अहिले आफू अङ्ग्रेजी ठिकै बोल्ने, लेख्ने तथा बुझ्ने पनि उहाँले बताउनु भयो । 

पढाइ एउटा शिक्षा तथा ज्ञानको माध्यम रहेको र त्यो नै सर्वेसर्वा नरहेको पनि उहाँको ठम्याइ छ । पढाइ भनेको आफलाई आवश्यक रहेकोसम्म गर्दा त्यसले लाभ गर्ने बरु हानी नगर्ने उहाँको भनाइ छ । पढ्दैमा सबै कुरा हुन्छ र नपढ्दैमा केही नहुने भन्ने होइन, उहाँ भन्नुहुन्छ । 

केही सम्झना

उहाँको भिनाजु इन्जिनियर हुनुहुन्थ्यो । शायद त्यसकै कारणले होला उहाँको दाइले भरतपुरमा क्वाटर बनाउने ठेक्का लिनु भएको थियो । त्यसकारण छिमेकीको ट्रक चढेर उहाँ दश वर्ष नपुग्दै भरतपुर पुग्नु भएको छ । यो करिब २०२९ सालको कुरा हो ।

अनि त्यसबेला नारायणघाटको पुल बनिसकेको थिएन । पुल २०३६ सालमा मात्र बनेको हो । अनि त्यसबेला सरदारहरूले ट्रक चलाउने गर्थे । अनि हालको पुल रहेको स्थानभन्दा केही तलबाट फेरीमा राखेर ट्रक नारायणी नदी कटाउने गर्थे । 

त्यसबेला उहाँ त्यहाँका साथीहरू नारायणी नदीमा पौडी खेल्थे भने उहाँ चाहिँ ती साथीहरूका कपडा रुँगेर बस्नुहुन्थ्यो । अनि नारायणी नदी किनारमा रहेको गणेश टाकिजमा शशि कपुरको पाप और पुण्य हेरेको पनि उहाँलाई राम्रै सम्झना ताजै छ । ०३६ सालमा पुल बनेपछि मात्र नारायणघाट बजार बिस्तारै बसेको हो । अनि त्यही सालमा नै नारायणघाट मुग्लिङ सडक पनि बनेको हो, उहाँ भन्नुहुन्छ । 

उहाँ २०३० सालमा राजा वीरेन्द्रको राज्याभिषेकमा पिटी खेल्न दशरथ रङ्गशाला जानु भएको थियो । त्यसबेला रङ्गशालाको प्यारा फिट आधि मात्र थियो उहाँ भन्नुहुन्छ । त्यसबेला स्कुलमा आधा समय पढाएपछि पिटी खेल्न रङ्गशाला लग्ने गरिन्थ्यो । अनि उहाँलाई घरबाट स्कुलमा टिफिनका लागि पचास पैसा दिने गरिन्थ्यो । तर, स्वयम्भूको उहाँको एक जना साथीको भने किराना पसल थियो । उहाँले भने पाँच दश रुपैयाँ ल्याउने गर्नुहुन्थ्यो । र, त्यसबेला सोह्र खुट्टे चोकमा फुलौरा र चिया टिफिन खाएको पनि उहाँलाई सम्झना छ ।

२०३३ सालमा हाल वनस्थली स्कुल रहेको स्थानको आडैमा वृक्षारोपण गरेर रिङरोडको उद्घाटन भएको समेत उहाँलाई स्मरण छ । साथै त्यसबेला उद्घाटनका लागि बोलाइएका प्रधानमन्त्री नगेन्द्र प्रसाद रिजालको स्वागतार्थ राखिएको ठुलो त्रिपाल बिस्तारै लडेको साथै सबैभन्दा छिटो प्रधानमन्त्री रिजाल भागेको पनि उहाँलाई सम्झना छ । 

बालाजुमा त्यसबेला नै स्विमिङ पुल थियो । उहाँहरू स्विमिङ पुलमा बिहान खाना खाएर गएपछि बेलुका बन्द नभएसम्म खेल्ने गर्नुहुन्थ्यो । ्अनि खाजा भने त्यसबेला बालाजु औद्योगिक क्षेत्रमा भर्खरै स्थापना भएको हिमाली पाउरोटी उद्योगको पाउरोटी । एक पाउन्डको एक रुपैयाँ पच्चीस पैसा पर्थ्यो । 

उहाँको एक जना राजेन्द्र भन्ने साथी त्यहीँ काम गर्नुहुन्थ्यो । उहाँहरू साथी भेट्ने नाममा पाउरोटी खान पनि त्यहाँ जानहुन्थ्यो । भर्खरै बनाएको तात्तातो पाउरोटीको स्वादै बेग्लै उहाँ सम्झनुहुन्छ । अर्को भनेको उहाँहरूको रात्रि बस थियो । अनि बस आएर रोकिने भनेको हालको पुरानो बसपार्क । उहाँ त्यहाँ पैसा लिन जानुहुन्थ्यो । र, फर्कँदा महाबौद्धमा एक रुपैयाँ पच्चीस पैसा प्लेटको ममः खाएर फर्कनुहुन्थ्यो ।

विवाह

उहाँको मागी विवाह । विवाह २०४३ साल माघ ३ गते भएको हो उहाँको । उहाँको एक छोरा तथा दुई छोरी । छोराले चीनबाट पत्रकारितामा मास्टर्स गर्नु भएको छ । भने एउटा छोरी डाक्टर हुनुहुन्छ । अर्को छोरीले भने व्यवस्थापनमा सिंगापुरबाट मास्टर्स गर्नु भएको छ । 

उहाँको श्रीमतीको भने क्यान्सरका कारण २०५९ सालमा देहावसान समेत भैसकेको छ ।  

राजनीतिक यात्रा

उहाँको राजनैतिक यात्राको प्रारम्भ २०४३ सालतिर भएको हो । २०४३ सालमा राजा वीरेन्द्रले प्रधानमन्त्रीबाट सूर्यबहादुर थापालाई अपदस्थ गरे । यसको विरोधमा थापाले काठमाण्डौमा एउटा सभाको आयोजना गर्ने योजना बनाए । 

त्यसबेला बालाजु बाइपासको रोड भर्खर तयार भएको थियो । सभाका लागि स्टेज बनाएर कार्यक्रम चल्दै थियो । अनि त्यहाँ आलु तथा काँक्रोको व्यापार गर्नेहरू पनि थिए । पछि त्यहाँ कार्यक्रममा आलु तथा काँक्रोले हानेपछि झडप भयो । मान्छे कुटाकुट भागाभाग भयो । तर, उहाँ भने त्यसमा संलग्न हुनुहुन्थेन । 

त्यसबेला उहाँको रात्रि बस धनकुटामा चल्थ्यो । बसमा मानन्धर लेखिएको थियो । शायद त्यसबेला मानन्धर लेखिएको र बालाजुकै भएका कारण उहाँको दाइमाथि इटहरीमा आक्रमणको प्रयास भयो । त्यसलाई राजनीतिक रङ्ग दिइयो । 

अनि त्यसबेला बालाजु बाइपासमा एउटा क्लब गठन भयो । जसलाई त्यसबेलाका मन्त्री जोगमेहर श्रेष्ठले असी हजार रुपैयाँ दिए क्लब बनाउनका लागि । अब क्लबमा अरूको नै सहभागिता रह्यो । त्यहाँको सार्वजनिक जग्गा त्यही बेलामा अतिक्रमणमा पर्‍यो । त्यसका विरुद्ध खासै आवाज उठेन । 

अनि २०४६ साल आइपुग्दा भने उहाँलाई अब यो क्षेत्रको नेतृत्व आफूले गर्नुपर्छ भन्ने लाग्यो । २०४६ साल फागुन १९ वा २० गते मङ्गलवार पर्ने उहाँलाई अहिले पनि हेक्का रहेछ । कारण उहाँ उक्त दिन आन्दोलनको भुमरीमा पर्नु भएको रहेछ ।  उहाँले उक्त क्षेत्रका करिब सय जना जति मान्छे बटुल्नु भयो । र, करिब बिस जना जतिले बाटोमा पर्ने खोलाबाट दल्छिन ढुङ्गा टिपेर प्लास्टिकको झोलामा राखे । यदि झडप भइहालेको खण्डमा हान्न हुन्छ भनेर । 

साथीहरूले ढुङ्गा झिकेर बालाजु प्रहरी चौकीमा हान्न थाले । पुलिसले बाहिर निस्केर लाठी प्रहार गर्न थाल्यो । भाग्दा पनि बालाजु औद्योगिक क्षेत्रको गेटमा प्रहरी रहेछ । अनि उहाँ भने खेतै खेत भागेर जानुभयो । लुगा सबै हिलो भयो । कसैको घरमा गएर धोइपखाली गरौँ भने कसैले हेरेनन्, कारण रहेछ त्यसबेला मङ्गलवारको दिन रामायण आउँथ्यो । अनि सबै रामायण हेर्नमै मस्त । 

२०४६ चैत्र २४ गते पनि उहाँ आन्दोलनमा संलग्न हुनुभयो । डर त थियो पुलिसले हान्ला भन्ने तर पनि जानुभएको थियो । झडप भएपछि पुलिसले सबैको हात हेर्दै पठाउँदै थियो । उहाँको पनि हात हेर्‍यो । तर, उहाँले ढुङ्गा बोक्ने अनि हान्ने काम कहिल्यै गर्नुभएन कारण रहेछ नेतृत्व गर्ने मान्छे जहिले पनि अगाडि हुन्छ अनि उसले यस्ता चिज बोक्ने कुरै हुँदैन उहाँ भन्नुहुन्छ । 

चैत्र २७ गते राती बहुदल घोषणा भएपछि भोलिपल्टको विजय जुलुस देखेर उहाँ छक्क पर्नुभयो । अघिल्लो दिनसम्म जुलुसमा जाउन् भन्दा नजाने मान्छे पनि भोलिपल्ट रातो अबिर लाएर जुलुसमा सहभागी भएको देखियो । खासमा आन्दोलनमा भन्दा पनि त्यसबाट लाभ लिनेको जमात धेरै हुने रहेछ भन्ने कुराको ज्ञान त्यसबेला भयो उहाँलाई ।

वडाध्यक्षको यात्रा 

२०४९ सालमा वडाध्यक्षको चुनाव लड्नका लागि उहाँलाई पहिलो पटक एमालेले संगठित सदस्यता दिएको थियो । कारण रहेछ त्यसबेला करिब पच्चीस वर्ष प्रधानपञ्च भएका शारदा प्रसाद भट्टराईसँग चुनाव लड्न कोही तयार थिएनन् । मत गन्दा एकदमै किचलो भयो । करिब एक हप्ता लाग्यो । उनीहरूको मत बढी आयो भने गन्न सुरु अन्यथा अनेक बखेडा झिक्ने । 

उहाँले १३९० मत प्राप्त गरेर विजयी हुनुभयो भने शारदा प्रसाद भट्टराई को १३०० मत । केवल ९० मतको अन्तर । खास उहाँलाई चुनावको बारेमा केही थाहा थिएन । सभागृहमा चुनाव जितिसक्दा पनि उहाँ एक्लै हुनुहुन्थ्यो । झन्डा बोक्ने मान्छे पनि थिएन । बाजागाजा केही थिएन । उहाँ चुनाव जितेर घर आउनु भयो । 

चुनाव जितिसकेपछि वडामा कसरी जाने ?, के काम गर्ने ?, कसरी बोल्ने ?, के कस्ता कागजमा सही गर्ने केही अत्तोपत्तो थिएन । तर, उहाँलाई आफू इमानदार छु र रहनुपर्छ भन्ने कुराले मार्गनिर्देश गर्‍यो जसले आजसम्म उहाँलाई बचाएको छ, उहाँ भन्नुहुन्छ । 

२०४९ सालको चुनावमा राजेन्द्र श्रेष्ठ र केशव स्थापित क्रमशः मेयर र उपमेयरमा लड्नु भएको थियो । तर, दुवै पराजय हुनुभयो । त्यो क्षेत्रबाट जितेको सांसद भने साहाना प्रधान हुनुहुन्थ्यो त्यसबेला । 

तर, २०५१ सालको मध्यावधि निर्वाचनमा उक्त क्षेत्रबाट राजेन्द्र श्रेष्ठ नै चाहिन्छ भन्ने उहाँ एक्लो हुनुहुन्थ्यो । नभन्दै उहाँले चुनाव जिताएर पनि देखाइदिनु भयो । एमालेको नौ महिने शासनकाल सुरु भयो । त्यसबेला काठमाडौँमा फोहोर थुप्रिएको थियो । अनि भदौमा ठुलो बाढी आएर हाल भ्याली कोल्ड स्टोर रहेको ठाउँको सबै बाटो बगाएर लग्यो । 

उहाँले काठमाडौँको दुई महिनाको फोहोर सबै सङ्कलन गरेर उक्त ठाउँमा थुपार्न लगाएर बाटो बनाउनु भयो । साथै त्यसबेला स्थानीय मन्त्री रहनु भएको रामचन्द्र पौडेल र उहाँ गएर सिसडोलदेखि बन्चरे डाँडासम्म पुगेर त्यसको शुरुवात गर्नुभएको हो । 

 २०५४ सालको चुनावमा फेरि उहाँलाई टिकट नदिनका लागि चलखेल भयो । तेह्र जनामा आठ जना एकातिर उहाँको पक्षमा पाँच जना मात्रै । अनि उहाँले मैले टिकट नपाउनलाई कुनै त्यस्तो बदमासी केही काम गरेको छ भने भन्दिनु पर्‍यो नत्र किन नदिने । यदि मलाइ टिकट नदिएर अर्कोलाई दिँदा चुनाव जित्दैन भन्नुभयो । 

उहाँले २०५४ सालको चुनाव जित्नुभयो । तर, उहाँलाई भने त्यो चुनाव नजितेको भए हुन्थ्यो भन्ने लाग्यो । कारण रहेछ वामदेव गृहमन्त्री भएका कारण उहाँका कारण जित्यो भन्ने आरोप त्यसबेला लाग्ने गरेको थियो । 

पाँच वर्ष उहाँ फेरि वडाध्यक्ष बन्नुभयो । यसैबीचमा माओवादी जनयुद्धले उचाइ लियो । उहाँलाई धेरै पटक चन्दाका लागि धम्क्याइयो पनि । एक पटक उहाँलाई दश लाख चन्दा दिनका लागि पत्र नै पठाइयो । 

तर, उहाँले जहिले पनि मैले कुनै गलत काम गरेर कमाएको भए दिने हो, त्यस्तो केही भए छानबिन गर्नुस् नभए कसरी दिने भन्नुहुन्थ्यो । एक दिन हाल बसेको घरमा माओवादीहरू आएर उहाँलाई चन्दाका लागि बोलाए । तर, संयोगले त्यो दिन उहाँको घर माथिपट्टि आएर सशस्त्रको दुई वटा गाडी रोकियो । अनि त्यसपछि उनीहरू भागे । 

अर्को एक पटक पनि त्यस्तै भयो । माओवादीका पाँच, सात जना आएर रातको बाह्र बजे उहाँलाई बोलाए । किन डराएको भनेर हतियार देखाएर उहाँलाई तर्साउने कोसिस पनि गरे । तर, उहाँले म डराउने मान्छे होइन, डराउने काम गरेको छैन र तिमीहरू जस्तो गुन्डा हो र भनेर सामुन्ने नै भनिदिनु भयो । त्यो दिन पनि संयोग कस्तो पर्‍यो उहाँको नजिकैका एक जना युएनमा चालक काम गर्ने दीपक थापा राती ड्युटी सकेर घर आउँदै रहेछन् ।

उनीहरूलाई अफिसले वाकिट्वाकी दिने गर्थ्यो । अनि वाकिट्वाकी खोलेरै आएका रहेछन् । त्यसको आवाज बत्ती पिलिक्क पिलक गरेको उनीहरूले देखे । उनले पनि मान्छे जम्मा भएको देखेर अलि अगाडी लगेर बाइक रोके । वाटिटाँकीको आवाज झनै ठुलो आयो । शायद फेरि पनि पुलिस आयो भन्ने डरले उनीहरू भागे ।

अर्को पटक माओवादीका नेता तथा पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानको घरमा छापा मार्‍यो । वहाँ वडाध्यक्ष भएका नाताले एसएसपीले आएर बोलाएर लगे । पुलिसले कम्प्युटर र दुई बोरा जति किताब लग्यो । मुचुल्कामा उहाँले पनि सही गर्नुभयो । पछि प्रधानले उहाँलाई सिद्ध्याउने योजना रहेको पनि बताउनु भयो । तर, त्यसबेला पनि उहाँले मैले कुनै गलत काम गरेको भए छानबिन गर्न नभए कसैले केही गर्न सक्दैन भन्नुभयो । 

०६२/ ०६३ को जनआन्दोलन

०६२/०६३ को जनआन्दोलनमा बाहिरबाट आएका मानिसमा यस क्षेत्रको खासै जानकारी हुँदैन भनेर त्यस क्षेत्रको सबै जिम्मा उहाँले लिनुभयो । झन्डा बनाउनेदेखि अन्य सबै व्यवस्थापनको जिम्मा उहाँको नै थियो । 

त्यसबेला नेपाल टार स्कुलमा तीन सय जना जति जम्मा भएका थिए । तीन सय जनामा तरुण स्कुलसम्म आइपुग्दा जम्मा डेढ सय थिए । बाइपास चोकमा सशस्त्र र आर्मीहरू थिए । डेढ सय जनामा अब बिस्तारै केही मात्र बाँकी भए । पुल कटेर जाने बेलामा भने जम्मा तीन जना मात्र । तीन जना मात्र जान लागेकाले आन्दोलनमा जान लागेको होइन होला भनेर उहाँहरूलाई सशस्त्र प्रहरीले छेउछेउ जानु भनेर हप्काए पनि । 

भोटाहिटीसम्म उहाँहरू सजिलै जानुभयो । त्यसपछि लाठीचार्ज भयो । त्यत्रो मान्छेको भिडमा मान्छेहरू भाग्दा मान्छेको चाङ नै लाग्यो । मान्छेको त्यस्तो चाङ न लगाउन सकिन्छ न आफूले आजसम्म देखेको छ उहाँ भन्नुहुन्छ । पैँसट्ठी जना घाइते भए । घाइते सबैलाई वीर अस्पताल पुर्‍याएर, औषधि उपचार गरेर ती सबैको नाम डाक्टरलाई लेख्न लगाएर उहाँ घर फर्कनु भयो । 

सांसदको यात्रा 

२०५६ को चुनावमा उहाँले उठ्न खोज्नु भएको थियो । तर, माधव नेपाल आएर मंगलसिद्ध मानन्धरलाई सहयोग गर्न भनेपछि उहाँले सहयोग गरेर जिताउनु पनि भयो । २०६४ को चुनावमा फेरि पार्टीले राजेन्द्र श्रेष्ठलाई टिकट दियो । उहाँले जित्दैन भनेर भन्नु भएको थियो । हिसिला यमीले चुनाव जितिन । उक्त क्षेत्र नै माओवादी करण भयो । विकासको काम खासै भएन । 

अनि २०७० सालमा आइपुग्दा बल्ल उहाँले टिकट पाउनु भयो । त्यो पनि माओवादीको राप र चाप रहेकै बेला हिसिला यमीसँग चुनाव लड्नका लागि । उहाँलाई सबैले हिसिला यमीला के चुनाव हराउन सक्ला र भनेर 'अन्डर इस्टिमेट' गरेका थिए । उहाँले तेह्र हजार दुई सय सैँतिस मत प्राप्त गरेर उहाँले चुनाव जित्नु भयो ।  राजनीतिमा इमानदारिता र नैतिकता जोगाएर बस्न सक्नु पर्छ जुन सबैभन्दा गाह्रो चिज पनि हो, उहाँ भन्नुहुन्छ । 

वामदेवलाई चुनाव लड्नका लागि आफूले ठाउँ छोड्न लागेको सन्दर्भमा उहाँ भन्नुहुन्छ, चुनाव लडेर जितेको भए वामदेव प्रधानमन्त्री बन्थे कि बन्थेनन् ? तर, उहाँलाई प्रधानमन्त्री बनाउनु पर्छ भनेर केपी ओली, माधव नेपाल, प्रचण्ड झलनाथ लगायत सबैले भनेकै हो नि ! चुनाव जितेर एउटा भूमिकामा यदि वामदेव भएको भए पार्टीको आजको स्थिति नहुने उहाँको ठम्याइ छ । साथै नेताहरूलाई उहाँ सधैँ आफ्नो उमेर हेर्नका लागि पनि अनुरोध गर्नुहुन्छ । 

त्यसबेला उहाँले सांसद पदबाट दिएको राजीनामा पार्टीले स्वीकृत गरेन । २०७६ मङ्सिर ४ गतेदेखि अठार महिना उहाँ सहरी विकास राज्यमन्त्री बन्नुभयो । 

केही फरक कुरा

उहाँले कुनै जमानामा अर्थात् स्कुलमा नौ कक्षामा पढ्दा स्कुल स्कुलबिच हुने प्रतियोगितामा पनि भाग लिनु भएको छ । साथै उहाँ बुद्धिचालको राम्रो खेलाडी साथै गोल्ड मेडल पनि जित्नु भएको छ । 

उहाँको बुवा आमा एकदमै धार्मिक प्रवृत्तिको हुनुहुन्थ्यो । उहाँको घरमा लगातार पाँच वर्ष नारायण पूजा भयो भने सप्ताह पनि दुई तीन पटक । साथै उहाँको बुवा जहिले पनि राति चार बजे गएर गुह्येश्वरी मन्दिरमा गएर भजन गाउनु हुन्थ्यो । 

नारायण पूजा लगाउँदा रातभर भजन हुन्थ्यो । अनि नचाहँदा नचाहँदै पनि भजन गाएर बस्नुपर्थ्यो उहाँ भन्नुहुन्छ । कतिपय भजनहरू बुवाले घरमा गाएका कारण पनि कण्ठ भएका थिए उहाँलाई । 

गायनमा विश्व रेकर्डको लगाव उहाँलाई बुवाकै कारण भएको उहाँले बताउनु भयो । मन्त्री भएपछि उहाँले एक पटक विश्व रेकर्डमा मन्त्रीहरूले के गरेका छन् हेर्न लगाउनु भयो । खासै केही गरेको भेटिएन । 

अनि गाउने शोख पनि भएका कारण उहाँलाई लाग्यो गीत नै गाउनु पर्ला । गिनिज वर्ल्ड रेकर्डमा भने फर्म भर्नका लागि मात्र एक लाख रुपैयाँ लाग्ने रहेछ । उहाँको पाँच घण्टा गाउने उद्देश्य रहेछ । उहाँले रियाज अथवा प्राक्टिस गरेर गाएको भने होइन । रेकर्ड हेर्दा पनि त्यो प्रस्ट देख्न सकिन्छ, उहाँ भन्नुहुन्छ । कतिपय गीतहरू मिस पनि भएका छन्, उहाँले भन्नुभयो । 

उहाँले चार घण्टासम्म उभिएर उनन्साठी वटा गीत गाउनुभयो । उहाँले चार घण्टा पाँच मिनेट बिस सेकेन्ड गाएर उहाँले विश्व रेकर्ड राख्नु भएको हो । विश्व रेकर्ड राखिसकेपछि उहाँले रामवीर मानन्धर नामक फाउन्डेसन पनि गठन गर्नुभएको छ । 

पुरस्कार अथवा सम्मानका हकमा भने उहाँले संविधान निर्माण गरेबापत संविधान सभाबाट प्राप्त गर्नुभएको पुरस्कार, अनि बुद्धिचालमा गोल्ड मेडल र गिनिज वर्ल्ड बुक तथा वर्ल्ड रेकर्डबाट प्रमाण पत्र प्राप्त गर्नुभएको छ । 

उहाँलाई लाग्छ उहाँको यस जीवनी पढ्ने मान्छेले जस्तो सुकै विषम परिस्थितिमा पनि हरेस नखाई अगाडि बढ्न प्रेरित हुन सक्यो भने आफलाइ धन्य भएको सम्झनुहुन्छ उहाँ ।