धार्मिक तथा पर्यटकीय स्थल: लक्ष्मीनारायणदेखि बूढासुब्बासम्म

धार्मिक तथा पर्यटकीय स्थल: लक्ष्मीनारायणदेखि बूढासुब्बासम्म

प्रा.डा. सोमप्रसाद खतिवडा  |  पर्यटन  |  बैशाख १८, २०७६

 त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर क्याम्पस, विराटनगरको  संस्कृति विभाग प्रमुख प्रा.डा. सोमप्रसाद खतिवडा तयार पार्नु भएको कोशीप्रस्रवणक्षेत्रका धार्मिक एवम् पर्यटकीय स्थलहरू विषयक आलेखको पहिलो खण्ड विकासको पखाईमा कोसी प्रस्रवण क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थल, कोशी प्रस्रवण क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थल: पाथीभरादेखि अर्जुनधारासम्मकोटीहोमदेखि राधाकृष्ण रथजात्रासम्म  शीर्षकको आलेख प्रकाशन भइसकेको छ । यसपछि  पञ्चकन्यादेखि हलेसीमहादेवसम्म, वराहपोखरीदेखि हतुवागढीसम्म क्रमशः प्रकाशन गरिनेछ । 

लक्ष्मीनारायण मन्दिर, विराटनगर ३

विराटनगरका पाञ्चाली, अच्यूतमिल, पीपल चोक र हाटखोला लगायतका स्थानमा लक्ष्मीनारायणका मन्दिर छन् । यिनीहरूमध्ये सबैभन्दा महत्वपूर्ण लक्ष्मीनारायणको मन्दिर पाञ्चालीको हो, जसको स्थापना २०४२ सालमा भएको हो । वैदिक यज्ञयज्ञादि र कर्मकाण्ड पठनपाठनसमेत गर्ने उद्देश्यले उक्त मन्दिर स्थापना गरिएकोे बताइन्छ । तसर्थ हाल यस मन्दिरमा कर्म काण्डको पठनपाठन नियमित रूपमा हुने गरेको छ । लक्ष्मीनारायण मन्दिर दाताहरूको चन्दाबाट बनेको हो । यसको आम्दानीको बलियो तथा नियमित स्रोतको अभाव छ । तसर्थ, हालसम्म पनि दाताहरूको दानदातव्यबाट यसको खर्च चल्ने गरेको पाइन्छ । यस मन्दिरमा हाल शिक्षार्थी, शरणार्थी, धर्मार्थी र मोक्षार्थी नियमित रूपमा बसोबास गर्छन् । साधुसन्त, अतिथि र भिखारीहरू यस मन्दिरमा आएको खण्डमा तिनीहरूलाई तीन छाकसम्म खाना खान दिएर विदा गर्ने चलन छ । यहाँ आउने बटुकलाई प्रारम्भिक संस्कृत शिक्षा दिने र त्यसपछि तिनीहरूलाई मथुरा, वृन्दावन तथा बनारसतर्पm उच्च शिक्षा दिन पठाउने गरिन्छ । लक्ष्मीनारायण मन्दिरमा यज्ञशाला, पाकशाला, गौशाला र आवास गृह सबै यस्तै सरसहयोगबाट निर्माण गरिएका हुन् । 

लक्ष्मीनारायण मन्दिर शिखर शैलीमा निर्मित छ । यसको प्रवेशद्वार या गोक्रोम निर्माण गरिएको छ, जसको उचाई करिब ५० फिट अग्लो, चारपाटे तथा मन्दिरको स्वरूपको छ । शिखर स्वरूपको आयाताकार यो मन्दिरको माथ्लो भागमा पाँचवटा गजुर छन् । यसलाई हाल मन्दिरको प्रवेशद्वारका रूपमा मात्र प्रयोग गरिएको छ । यस मन्दिर पछाडि अर्को एउटा शिखर मन्दिर छ । करिब ५० फिट अग्लो उक्त शिखर मन्दिरको तल्लो भागमा कालो पत्थरका अढाइ फिट अग्ला लक्ष्मीनारायणका यूगल मूर्ति राखिएका छन् । 

राधाकृष्ण मन्दिर, विराटनगर

विराटनगरमा भएका राधा र कृष्णका मन्दिरमा मुख्य दुईवटा राधारमण मन्दिर बरगाछी र राधाकृष्ण मन्दिर पानीट्यांकी हुन् । यसबाहेक पनि राधाकृष्णका स–साना मन्दिरहरू विभिन्न गाउँटोलहरूमा छरिएर रहेका पाइन्छन् । तर, विराटनगरका ज्यादा प्रख्यात मन्दिर भने यी दुई वटा नै हुन् । यी दुवै मन्दिरका पुजारी निम्वार्कमार्गी छन् र यिनीहरूमा उनीहरूकै पहुँच रहेको छ । त्यस्ता मन्दिर निर्माण गर्ने क्रम पनि होडवाजीकै रूपमा चलिरहेको पाइन्छ । तर, राधाकृष्णका अन्य मन्दिर भने निम्वार्कमार्गीले निर्माण गराएका होइनन् र तिनीहरूमा निम्बार्कीको पहुँच पनि कम छ । 

विराटनगर तिनपैनीस्थित राधाकृष्ण मन्दिर १९८५ सालमा स्थापना भएको हो । यस स्थानमा २०१६ सालसम्म राधाकृष्णको सामान्य टिनको छानायुक्त मन्दिर थियो, जसमा राधाकृष्णका सामान्य मूर्तिहरू राखिएका थिए । पछि २०१६ सालमा भव्य मन्दिर बनाउनुका साथै राधाकृष्णका सिंहमर्मरका मूर्तिहरू राखिएको हो । विराटनगर तिनपैनीको राधाकृष्ण मन्दिरको हाताभित्रै एउटा शिवालय पनि स्थापना भएको छ । उक्त शिवालय  २०१८ सालमा पुनः निर्माण गरिएको हो । यसको पूजाआजा खर्चका लागि केही जमिन गुठी राखिएको छ । विराटनगर तिनपैनीको श्री राधाकृष्णका लागि सालिन्दा राधाकृष्णको रथ जात्रा गर्ने परम्परा छ । यो जात्रा कृष्णअष्टमीको भोलिपल्ट गरिन्छ । 

बरगाछी विराटनगरमा पनि एउटा राधाकृष्णको मन्दिर छ, जसलाई राधारमण मन्दिर भन्ने गरिन्छ । त्यहाँका एकै प्रांगणमा निर्मित तीन वटा मन्दिरहरूमा राधारमण, शिवपाञ्चायन र रामजानकी मन्दिर हुन् । एउटा ठूलो कोठायुक्त एउटा हलभित्र लहरै निकालिएका तीन वटा मन्दिरका स्वरूपमध्ये सबैभन्दा दक्षिणको राधारमण मन्दिर हो । यी तीन मन्दिरमध्ये राधारमण मन्दिरको स्थापना २०२० सालमा भएको पाइन्छ । यस मन्दिरका नाममा विभिन्न भक्तहरूले जमिन गुठी पनि राखिदिएका छन् । 

रामजानकी मन्दिर, विराटनगर

रामजानकी मन्दिर विराटनगरको मुख्य बजारमा रहेको छ । यो मन्दिर सर्वप्रथम वि.सं. १९७८ मा बनेको हुँदा यसलाई यस भेगको सबैभन्दा पुरानो मन्दिर मानिन्छ । विराटनगरमा बस्ती विस्तारका साथै रामानन्दी सम्प्रदायको प्रभावका बढेकाले रामजानकी मन्दिर स्थापना गरिएको मानिन्छ । विराटनगर १२ मा सुरूमा परालको छानो लगाएर एउटा झुप्रो बनाई त्यसैमा राम, सीता र लक्ष्मणका अष्टधातुका स–साना मूर्तिहरू स्थापना गरिएका थिए । १९९० सालतिर यहाँ जमिनको व्यवस्था गरी केही ठूलो मन्दिर निर्माण गरियो । बेलाबेलाको यस मन्दिरको जीर्णोद्धार र तथा पुनःनिर्माणले गर्दा हाल रामजानकी मन्दिर निकै भव्य छ । यसमा हाल राम, सीता, लक्ष्मण, शिव, पार्वती, कार्तिकेय, नन्दी र सूर्यका आकर्षक प्रस्तर मूर्तिहरू राखिएका छन् । यस मन्दिर अन्तर्गतनै जानकी सेवा सदन पनि सञ्चालित छ । २०४३ सालमा स्थापित उक्त सेवा सदनले विवाह लगायतका उत्सव सम्पन्न गर्न मण्डप, हल र आवश्यक भाँडावर्तनको व्यवस्था गरेको छ । हालको रामजानकी मन्दिर २०३६ सालमा निर्मित स्वरूप हो । स्थानीय व्यापारीहरूले मन्दिरको धर्मशाला र अन्य व्यवस्थाका लागि ठूलो धनराशी खर्चेका छन् । तसर्थ मन्दिर निकै भव्य पनि छ ।  

वाणेश्वरनाथ महादेव, विराटनगर

विराटनगर रानीमा मलायारोडको पूर्वतिर बाबा वाणेश्वरनाथ महादेवको मन्दिर रहेको छ । यस मन्दिरको प्रांगणमा मण्ठपोखरी नामको एउटा पोखरी पनि छ । करिव ५ कठ्ठाको क्षेत्रफलमा उक्त पोखरी फैलिएको देखिन्छ । यस मठक्षेत्रको पोखरी सबै पर्खाल लगाएर सुरक्षित गरिएको छ । बाबा वाणेश्वरको मन्दिर गुम्बज शैलीमा निर्मित छ भने मन्दिरभित्र करिव एक इञ्च अग्लो साधा शिवलिंग राखिएको देखिन्छ । यो मन्दिर सुरूमा वि.सं. १९६८ मा निर्माण गरिएको थियो । सामान्य प्रकारको उक्त मन्दिरलाई पछिमात्र जीर्णोद्धार गरिएको हो । साथै उक्त स्थानमा त्यसभन्दा धेरै पहिलेदेखि शिवलिंग र एउटा सानो शिवालय भएको बताइन्छ । उक्त शिवालयको उत्तर–पूर्वी दिशामा फुल्वारानीको पोखरी र एउटा सानो मन्दिर पनि रहेका छन् । त्यसको नामका आधारमा त्यस स्थानलाई रानी भनिएको हो । तसर्थ विराटनगरको रानी क्षेत्रमा धेरै अगाडिदेखि नै बस्ती रहेको र उक्त मन्दिर बनेको बुभ्mन सकिन्छ । शिवरात्रि र बालाचतुर्दशी लगायतका पर्वमा यस भेगमा भक्तको निकै ठूलो भीडभाड लाग्ने गरेको छ । 

मण्ठपोखरी क्षेत्र विराटनगर उपमहानगरपालिकाको हालसम्म जानकारीमा आएको सबैभन्दा पुरानो मन्दिर स्थल हो । यसको ऐतिहासिकता रानी फुल्वासँग समेत गाँसिएको हुनाले सांस्कृतिक रूपमा यसको अझ ठूलो महत्व रहेको देखिन्छ । तसर्थ विराटनगर भेगको पर्यटनको विकासका लागि यस पोखरी र मन्दिर क्षेत्रको उचित व्यवस्थापन, विकास र पूर्वाधार निर्माण गर्न आवश्यक देखिन्छ । मण्ठपोखरी छेउमा रहेका रानी फुल्वादेवीको मन्दिर र पोखरी तथा मसानलाई पनि व्यवस्थित पार्न आवश्यक छ । यसको सम्बन्ध यस नजिकै रहेको विराटराजासँग पनि रहेको अनुमान छ । 

कालीमन्दिर, विराटनगर

विराटनगरमा रहेका विभिन्न मन्दिरमध्ये मुख्य बजार बीचमा रहेको कालीमन्दिर आज आएर सबैभन्दा भिडभाड हुने स्थान हो । सर्वप्रथम मोरङको सदरमुकाम रंगेलीमा रहँदादेखि नै यस भेगमा कालीको पूजाआजा गर्ने परम्पराले फल्नेफुल्ने मौका पाएको थियो । यता रंगेलीमा पनि त्यसै बेलादेखि कालीको स्थापना भइसकेको देखिन्छ । 

विराटनगरमा भने विक्रमको १९६० को दशकमा कालीको स्थापना भएको बुझिन्छ । तर, प्रारम्भमा यहाँको कालीमन्दिर हालको जस्तो भव्य थिएन । एउटा सानो टिनको छाप्रोमा कालीको मूर्ति राखेर पूजाआजा गर्ने चलन थियो । पछि कालीका भव्य दुई मूर्ति भारततिरबाट किनेर ल्याइए र एउटा विराटनगरको कालीमन्दिरमा राखियो भने अर्कोचाहिं रंगेलीमा लगियो । तसर्थ, यी दुवै स्थानका पुराना कालीका मूर्तिहरू एकै स्वरूपका छन् । 

विराटनगरको कालीको पुरानो प्रस्तर मूर्ति भाँचिएकाले त्यसको ठाउँमा पित्तलका मूर्तिहरू स्थापना गराइए । हालको कालीको भव्य मन्दिर भने वि.सं. २०५३ सालमा निर्माण गरिएको हो । यसलाई नेपाली तले शैलीको मन्दिरको स्वरूपमा निर्माण गरिएको छ । विराटनगरको कालीमन्दिर भेगमा सालैभर भक्तहरूको भिडभाड लागि नै रहन्छ । तर पनि विशेषगरी दसैंको समयमा यस मन्दिरमा नपुग्ने विराटनगरका कोही पनि मानिसहरू हुँदैनन् । दसैंको समयमा यस मन्दिरमा पशुबलि दिने मानिसहरूको भिड लाग्ने गर्दछ । यसरी हाल आएर विराटनगरको कालीमन्दिर यस भेगकै निकै प्रख्यात र ज्यादा मानिसहरू जमघट हुने मन्दिरका रूपमा स्थापित भएको छ । तर, यसको क्षेत्र निकै सानो भएकाले चाडबाडका समयमा यिनको दर्शन र पुजन गर्न तथा अन्य धार्मिक क्रियाकलाप संचालन गर्न निकै कठिन हुने गरेको छ । 

टासी छ्योयलिङ बौद्धगुम्बा, विराटनगर

पूर्वी नेपालको विराटनगरस्थित रानीमा टासीछ्योलिङ नामको एउटा बौद्धगुम्बा छ, जसको स्थापना २००६ सालमा भएको हो । त्यहाँ त्यस समयको गुम्बाको स्वरूप भने निकै सामान्य थियो । अहिलेको गुम्बा भने हालसालै निर्माण गरिएको हो । यस गुम्बाको आम्दानीको स्रोत स्थानीय भक्त तथा शुभचिन्तकहरूको चन्दा नै हो भन्ने देखिन्छ । केही लामासमेत स्थायी रूपमा बसोबास गर्ने यस गुम्बालाई यस भेगको सबैभन्दा पुरानो गुम्बा मान्ने गरिएको छ । दुई तलाको यस गुम्बाको पूजाकोठा माथ्लो तलामा रहेको छ, जसमा पद्मशम्भव र अवलोकितेश्वरका प्रतिमा राखिएका छन् । यसबाट यो गुम्बा निङ्मा सम्प्रदायको हो भन्ने कुरा स्पष्ट छ । यसको तल्लो तला भने विभिन्न प्रयोजनका लागि प्रयोग भएको देखिन्छ । यसको प्रवेशद्वारको माथ्लो भागमा धर्मचक्रको आकृति छ भने त्यसको दुवैतिर दुई वटा मृगहरू बसेर एक आपसमा मुख फर्काको अवस्थामा रहेका देखिन्छन् । यस गुम्बामा लामा बौद्धमार्गी गुम्बाका विशेषता स्पष्ट देखिन्छन् । यहाँ लामा बौद्ध शिक्षा दिने व्यवस्था पनि गरिएको छ । गुम्बा निकै भव्य तथा आकर्षक पनि छ । टासी छ्योयलिङ गुम्बाको स्थायी आम्दानीको स्रोत नरहेकाले चन्दा संकलनबाट यसको खर्चबर्चको व्यवस्थापन गर्ने गरिएको बुझिन्छ । यस गुम्बामा विभिन्न अवसरमा बौद्ध संस्कार र धार्मिक कार्यक्रमहरू हुने गरेका छन् ।

वराहक्षेत्र

सुनसरीको उत्तर–पश्चिमी भागमा कोका खोला र कोशी नदीको संगम स्थलमा हिन्दूहरूको पवित्र स्थल वराहक्षेत्र रहेको छ । एउटा ढिस्कामाथि रहेको वराहविष्णुको मन्दिर रहेको स्थानलाई नै वराहक्षेत्रका नामले जान्ने गरिन्छ । तर, विगतमा यो क्षेत्र पूर्वमा तिष्टा, उत्तरमा हिमाल, दक्षिणमा गंगा र पश्चिममा जलेश्वरसम्म फैलिएको थियो । पछि गएर यसको सिमालाई संकुचन गरियो र वराहक्षेत्र एउटा सानो ढिस्काका रूपमा मात्र परिचित गराइयो । विभिन्न पुराणहरूमा उल्लेख कथाअनुसार वराहविष्णुको वासस्थान कोकामुख वराहक्षेत्र नै थियो । विभिन्न पुराणहरूमध्ये वामन, कुर्म, पद्म, वराह, स्कन्द, ब्रह्म र मत्स्य आदि पुराणले वराहतीर्थ र वराहक्षेत्रको बारेमा चर्चा गरेको पाइन्छ । तिनीहरूमध्ये ब्रह्म पुराणको २१९ अध्यायका सम्पूर्ण मन्त्रहरू (१–११९) कोका खोला, कोकामुख तीर्थ तथा विष्णुपादुकामा वराहविष्णुले पितृश्राद्घ गरेको विवरणसँग सम्बन्धित छ । उक्त पुराणमा वराहविष्णुले त्यहाँ पितृश्राद्घ गरेको विवरण परेको देखिन्छ । वराहक्षेत्रलाई विष्णु भगवान्ले मन पराएको र नित्य रूपमा बस्ने स्थान हो भन्ने जनविश्वास पाइन्छ । अघि पृथ्वीलाई हरेर पाताल पुर्याउने हिरण्याक्षलाई विष्णुले वराहअवतार लिई मारेपछि पृथ्वीको उद्दार गरेको पौराणिक कथा पाइन्छ । सत्वगुणी विष्णुले हिरण्याक्षलाई बध गर्नका लागि रूद्रतेज लिएको तर तिनले लिएको रूद्रतेज समाप्त नहुँदा वराहअवतार विष्णु विभिन्न तीर्थ घुम्दै हिँडेको र यस स्थानमा आएपछि तिनको रूद्रतेज समाप्त भई सत्वगुणी भएकाले यस स्थानलाई विष्णुको प्रिय स्थानमा मानिएको धार्मिक विश्वास छ । 

स्कन्दपुराणको हिमवतखण्डले वराहक्षेत्र परिधिका प्रायः सबै वस्तु पूजनीय भएको बताएको छ । यस स्थानमा विष्णु लक्ष्मीसहित भएर बस्ने चर्चा पुराणहरूले गरेका छन् । वराहक्षेत्र चतरा बजारदेखि आठ किलोमिटर उत्तर, महेन्द्र राजमार्गले छुने रामधुनीभाषी नगरपालिकाको झुम्का वजारदेखि २६ किलोमिटर उत्तर तथा सुनसरीको धरानदेखि १४ किलोमिटर पश्चिममा पर्दछ । चतरादेखि वराहक्षेत्रतर्फ जाँदा कोशी नदीको किनारैकिनार पहाडको फाँटबाट उत्तरतर्फ लाग्नुपर्छ । हाल वराह क्षेत्रसम्म पुग्नका लागि सडक यातायातको राम्रो व्यवस्था छ । झुम्का बजार तथा धरानदेखि पनि यातायातका साधन पाइने गरेका छन् । 

वराहक्षेत्रमा मूल मन्दिर, सूर्यवराह, गुरूवराह, नागेश्वर र लक्ष्मीका मन्दिरहरूका साथमा विभिन्न प्रकारका धर्मशाला छन् । त्यहाँ वराहकुण्डका साथमा अनेक प्रकारका निर्माण गरिएका छन् । तसर्थ, वराहक्षेत्रको मुहार दिनहुँजसो परिवर्तन हुँदै गएको छ । वराहक्षेत्रमा मेला लाग्ने मुख्य पर्व कार्तिक पूर्णिमा र मकर संक्रान्ति हुन् । तर, अन्य पर्व र उत्सवमा पनि यस स्थानमा मानिसको भीडभाड भई नै रहन्छ । यसरी कोशी किनारमा रहेको वराहक्षेत्र पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण छ ।  
विष्णुपादुका

विष्णुपादुका स्थान धरान उपमहानगरपालिकाको कोकाखोला किनारमा पर्छ । धरान बजारको उत्तर–पश्चिममा माछामारा भन्ज्याङ नजिकै कोका, विष्णुधारा र शंखधारा मिसिएको स्थानमा विष्णुपादुका मन्दिर अवस्थित छ । विष्णुपादुका स्थानसम्म कोकाखोला पहाडबाट सिधै हानिएर झरेको छ र त्यहाँदेखि त्यसको ढाल कम हुँदै पश्चिमतर्फ बगेर गएको देखिन्छ । विष्णुपादुका हाल धरान उपमहानगरपालिकाभित्र पर्ने हुँदा त्यहाँसम्म पुग्नका लागि यातायातको राम्रो सुविधा छ ।  विभिन्न धार्मिक ग्रन्थले विष्णुपादुकाका बारेमा अलगअलग प्रकारका विवरण दिएको देखिन्छ । यसलाई कतै ‘विष्णुपदतीर्थ’ र कतै ‘विष्णुतीर्थ’ नाम दिइएको छ । पुराणका अनुसार यज्ञवराहले लक्ष्मीसहित भएर पितृहरूको श्राद्ध गरेको तथा पाण्डवले कुरूक्षेत्रको लडाइँंमा दिवंगत भएका आफन्तको सम्झनामा श्राद्ध गरेको स्थान यही विष्णुपादुका थियो । यसरी विष्णुपादुकालाई एक महत्वपूर्ण तीर्थस्थलका रूपमा परिचित गराइएको देखिन्छ । विभिन्न पुराणमा उल्लेख कथाअनुसार अघि विष्णुले वराहअवतार लिई हिरण्याक्ष दानवको बध तथा पृथ्वीको उद्दार गरेपछि घुम्दै–फिर्दै यस भेगतिर आएर बस्न लागेछन् । तत्काल पितृहरू पतीत भई यसै भेगमा रूमल्लिएर बसेको देखेपछि विष्णुले तिनीहरूलाई तर्पणादी दिएर यसै स्थानमा पिण्डदान गरेको तथा पितृहरूको उद्दार गरी पितृलोक पठाएको मान्यतामा विष्णुपादुकालाई पितृ तर्पण तथा पिण्डादि श्राद्धका लागि सर्वोत्तम स्थान मान्ने गरेका छन् । तसर्थ, विष्णुपादुका पितृकार्यका लागि प्रख्यात छ । 
विष्णुपादुकामा विष्णुपादुकाको मन्दिर, शिवमन्दिर लगायत विभिन्न देवीदेवताका मन्दिर र धर्मशालाहरू छन् । यहाँ एउटा बौद्धगुम्बा पनि निर्माण गरिएको छ । आज आएर यस भेगमा मन्दिर, पार्क र धर्मशाला निर्माणले तीव्रता पाएको छ । तसर्थ, दिनहुँजसो यसको मुहार फेरिएको छ । विशेषगरी पुसेऔंसीका दिन मात्र तीर्थ श्राद्ध गर्ने मानिसको भीडभाड लाग्ने गरेको यस स्थानमा हाल अन्य अवसरमा पनि मानिस पुग्न लागेका छन् । तसर्थ यसको ख्याति पनि दिनहुँजसो बढ्दै गएको छ ।  विष्णुपादुकामा खाने तथा बस्ने सुविधा भएका केही होटल र धर्मशालाको पनि व्यवस्था छ ।   

रामधुनी 

सुनसरीको रामधुनी नगरपालिकामा झुम्का बजारदेखि करिव सात किलोमिटर पश्चिममा धुनीवन पर्छ । त्यस स्थानमा निरन्तर रूपमा धुनी बालेर राखिने हुनाले त्यसलाई धुनिवन भनिएको हो । त्यस वनको बीचमा तथा सुनसरी खोलाको पूर्वी तटमा धुनीमन्दिर छ । त्यस स्थानलाई स्थानीय मानिसहरूको बोलिचालिमा रामधुनी भन्ने गरिन्छ । त्यहाँको मूल मन्दिर धुनी मन्दिर हो, जसमा  देवप्रतिमाहरूको बदलामा एउटा साजको मुढा जलाएर राख्ने गरिन्छ । रामधुनीमा पूजाआजा हुने प्रमुख वस्तु पनि त्यही नै हो । त्यसै मुढाको जलेको खरानीलाई त्यस स्थानको देवताको प्रसाद मान्ने चलन छ । धुनीवन करिव ३१०० बिगाहाको क्षेत्रफलमा विस्तार भएको छ । तराइको सुगम फाँटमा पर्ने रामधुनीसम्म पुग्न झुम्का बजारदेखि पक्की मोटरबाटो निर्माण गरिएको देखिन्छ । 

रामधुनी उदासी सम्प्रदायसँग सम्बन्धित छ । यस सम्प्रदायको सुरूवात सिख धर्मका प्रवर्तक नानकका छोरा श्रीचन्द्र हुन् । उनले प्रचार गरेको उदासी सम्प्रदायको प्रचार नेपाली बाबा वनखण्डीबाबाले गरेका हुन् । यिनी वि.सं. १७६० मा  योग साधनाका लागि यहाँ आएर यिनैले रामधुनीमा धुनी जगाएको मानिन्छ । उदासीहरूका मतमा अघि अनुसूयाले तप गर्दा बालेको आगो त्रेतायुगमा रामचन्द्रलाई जिम्मा दिएकी रहिछन् । यता रामले पनि एकरात यही स्थानमा धुनी तापेर बसेछन् भने त्यसपछि लामो समयसम्म उक्त आगो जमिन मुनि रहेछ । पछि उदासी सिद्ध नथ्थासाहले वखण्डीबाबालाई मोरङ झाडीमा गएर रामधुनीको आगो जागृत गर्नु भन्ने आदेश दिएकाले गुरूको आदेशअनुसार वनखण्डीबाबाले धुनी जाग्रित गराई रामधुनीको परिचय गराएको मानिन्छ । यो एक तपस्थली हो । तसर्थ, रामधुनी भेग तप, ध्यान र ज्ञानसँग सम्बन्धित छ । अघि थुप्रै ऋषिमुनीहरूले यस स्थानमा बसेर तप गरेको मानिन्छ । रामधुनीमा धुनीमन्दिर, दरबार मन्दिर, गोशाला, वनखण्डेश्वर महादेव, हनुमान, राम र कृष्णका मन्दिरहरू बनेका छन् । रामधुनीमा मठमन्दिर र धर्मशाला बनाउने कार्य निरन्तर रूपमा चलेको छ । तसर्थ, यसको मुहार दिनहुँजसो फेरिने गरेको पाइन्छ । रामधुनीमा रामनवमीको दिन ठूलो मेला लाग्ने गर्छ । यसबाहेक अन्य अवसरमा पनि रामधुनी भेगमा मानिसहरूको भीडभाड लाग्ने गरेको छ । 

भवानीथान 

वराहक्षेत्रको पूर्वपट्टि भवानीथानको चुचुरो पर्छ, जुन स्थान वराहपर्वतको सबैभन्दा अग्लो चुचुरो हो । त्यहाँबाट पश्चिमतर्फ स–साना पहाडका सोतीहरू भिरालो भई कोकामुख र चतरातिर सिधा तल झरेका देखिन्छन् । भवानीथान वराहपर्वतको पश्चिमी टाकुरो हो, जसबाट पश्चिमतिर तल झरेको एउटा पर्वत मोहडाको काखमा वराहक्षेत्र अवस्थित छ । भवानीथानको टाकुराको जलश्रोत उत्तरी मोहडाबाट कोकाखोलामा र पश्चिमी तथा दक्षिणी मोहडाबाट चाहिँ कोशी नदीमा मिसिने गर्छ । भवानीथानको टाकुरामा देवी भवानीको सामान्य थान रहेको छ । पहाडको टाकुरामा अवस्थित त्यस थानको स्थापना मध्यकालतिर भएको मानिन्छ । त्यस वरिपरि देखिने मध्यकालिन किल्ला र बस्तीका अवशेषहरूले यस कुराको पुष्टि गर्ने गर्छन् । भवानीथानको दक्षिणतर्फ सेन राजाहरूको मध्यकालीन महत्वपूर्ण किल्ला लालकोट रंगमहल रहेको छ । चौदण्डाकोट नामक मध्यकालीन किल्ला पनि त्यसै स्थानमा पर्छ ।  

भवानीथानभित्र धमिराले माटो उठाएजस्तो एउटा करिब डेढ फिट अग्लो ढिस्को, केही घण्टा, त्रिशूल, एउटा फलामे तोपको करिब चार फिट लामो नाल र एउटा मन्दिरको तामाको गजुर राखिएका छन् । त्यस छेउमा नै आदिवराह स्थान पनि रहेको छ । सूर्यकुण्ड र लटेनीथान समेत त्यसै भेगमा रहेको हुनाले यस स्थानको महत्व अत्यधिक छ । भवानीथान वरपरका क्षेत्रमा पुराना भवनका भग्नावशेष, पक्की इँटा र झिंगटीका टुक्राटुक्री, प्रस्तरमा कुँदिएका विभिन्न प्रकारका वस्तु, जनावर र चराचुरूङ्गीका मृत्तिका मूर्ति तथा खेलौना बेलाबेलामा पाइने गर्छन् । त्यस स्थानमा भवनका भग्नावशेषहरू पनि सतहमा नै देखिएका छन् । यस दृष्टिले प्राचीनकालतिर नै त्यहाँ बाक्लो बस्ती बसिसकेको मानिन्छ । तसर्थ, ऐतिहासिक र पुरातात्विक दृष्टिले यो क्षेत्र निकै महत्वपूर्ण छ । 

चतरा 

धरानको पश्चिम तथा रामधुनी नगरपालिकाको उत्तरतिर वराहक्षेत्र गाउँपालिकामा पर्ने चतरा सप्तकोशी नदी तराईमा झर्ने स्थान हो । यसको नाम क्षेत्रबाट चतरा भएको मानिन्छ । यसको सप्तकोशी पारी रामपुरठोक्सिला भन्ने स्थान छ भने चतरादेखि करिब ७ किलोमिटर उत्तरमा सप्तकोशी किनारमा नै वराहक्षेत्र पर्छ । यसरी चतरा वराहक्षेत्र जाने बाटामा रहेको पुरानो धार्मिक स्थल हो । त्यहाँबाट चतरा नहर बनाइएको, बिजुली निकालिएको, दुर्वाशाघाट र चतराघाट जस्ता घाट त्यहीँ रहेको तथा जगद्गुरू पीठ, रामानन्दपीठ, विभिन्न मठमन्दिर र धर्मशालाका साथमा औलियामठ रहेको हुनाले पनि चतरा निकै महत्वपूर्ण छ । हाल आएर चतराबाट पश्चिमतिर जाने बैकल्पिक लोकमार्ग बनेको हुनाले यसको महत्व अझ बढेर गएको छ । 

चतरालाई प्राचीन हरिद्वारका रूपमा विकास गरिएको छ । नेपालका जगद्गुरू बालसन्त महाराजको आश्रम, राधासर्वेश्वर मन्दिर, शिवालयहरू, कुम्भ स्तम्भ, कुम्भकुण्ड, रामानन्द आश्रम, जोस्मनीहरूको आश्रम तथा अन्य विभिन्न मठमन्दिर, आश्रम र धर्मशालाले चतरा धार्मिक तथा आध्यात्मिक केन्द्र बनेको छ । यहाँ सधैंजसो हुने धार्मिक कृत्य, प्रवचन, पुराणवाचन, स्नान र अन्य कृयाकलापले चतराको महत्व बढेको हो । चतरामा प्रत्येक १२ वर्षमा कुम्भ मेला र ६ वर्षमा अर्धकुम्भ मेला लाग्न थालेको छ । यहाँ दिनहुँजसो अनेक प्रकारका निर्माण भइरहेका हुन्छन् भने अनेक प्रकारका कार्यक्रम हुने गरेकाले चतरामा सधैंजसो मानिस पुगी नै रहन्छन् । चतरासम्म पुग्नका लागि धरान, बक्लौरी, झुम्का र भेन्टाबारीतिरबाट पनि सडकमार्ग छन् । धरानबाट चतरा जान नियमित बससेवा उपलब्ध छ भने झुम्काबाट पनि चतरासम्म बस चल्ने गर्छन् । यता बक्लौरी र भेन्टाबारीबाट पनि चतरा जाने पक्की बाटाहरू छन् । भेन्टाबारबाट कोशी नदीको किनारैकिनार चतरासम्म पक्की बाटो गएको छ । कोशिटप्पू वन्यजन्तु आरक्षबाट नै भेन्टाबारीतिरको बाटो गएको छ । चतरामा कुम्भ मेला, बोलबम मेला र अन्य विभिन्न प्रकारका मेला लाग्ने गरेका छन् । यसबाहेक पनि प्रत्येक दिन मानिसको भीडभाड चतरामा भई नै रहन्छ । 

चतरामा पुरानो औलियामठ छ, जुन मठ मध्यकालताका स्थापना गरिएको हो । त्यहाँ मनमुकुन्देश्वर शिवालय, भीमसेन मन्दिर, शिव गणेश हनुमान मन्दिर, भैरव मन्दिर, राधा–कृष्ण मन्दिर, काली मन्दिर, औलिया बाबाको गद्दी, धर्मशाला र अन्य भवन छन् । यो मठको स्थापना मध्यकालमा सेनहरूले गराएका हुन् । यहाँको राधा–कृष्ण भक्ति साधना आध्यात्मिक प्रतिष्ठान बालसन्त मोहनशरण देवाचार्यले स्थापना गराएका हुन् । कुम्भ स्तम्भ, कुम्भ कुण्ड, शिवालय र अन्य विभिन्न प्रकारका मठमन्दिर पनि देवाचार्यले स्थापना गराएका छन् । यता रामानन्द सेवाश्रममा भने महन्त निवास, हनुमानमूर्ति र अन्य वास्तुहरू निर्माण गरिएका छन् । यसैगरी विभिन्न धर्मशालाहरू, गुम्बाहरू र मन्दिरहरू पनि यस स्थानमा दिनहुँजसो निर्माण भइरहेका छन् । यसबाट चतरा धार्मिक तथा पर्यटकीय दृष्टिले ज्यादै महत्वपूर्ण स्थानका रूपमा विकसित भएको छ । 
पिण्डेश्वर

धरानको विजयपुरमा पिण्डेश्वर महादेवको मन्दिर छ । यसको स्थापना मध्यकालतिर भएको मानिएको छ । पिण्डेश्वमा ईसाको चौधांै शताब्दीदेखिका कलावस्तु, मूर्ति र मन्दिर रहेका छन् । मध्यकालतिर सेनका पालमा यी मठमन्दिर स्थापना गरिएको मानिन्छ । पिण्डेश्वरको उत्पत्तिबारे के कथा पाइन्छ भने अघि देवताले समुद्र मन्थन गरी निकालेको अमृत भाँडोमा राख्ता तर (छाली) लागेछ, जसलाई बटारेर पिण्डजस्तै बनाई यस स्थानमा राखिएको हुनाले त्यही पिण्ड वा गोलो वस्तु पिण्डेश्वर महादेवका रूपमा परिणत भएछन् । तसर्थ, पिण्डेश्वरलाई अमृतको तरबाट बनेको शिवजी मान्ने गरिन्छ । पिण्डेश्वर बाबाको महिमागान स्कन्दपुराणको हिमवत्खण्डअन्तर्गत पर्ने रूद्राक्षारण्यमहात्म्यले गरेको छ । पिण्डेश्वरबाबाका नामले सादा शिवलिंगमा पूजाआजा हुने गर्छ । यसको मन्दिर पनि सामान्य गुम्बज शैलीमा निर्मित छ । धरान भेगका मानिसहरू दिनहुँजसो पिण्डेश्वर भेगमा पुग्ने गर्छन् । यहाँ प्रत्येक वर्ष साउन महिनामा पानी चढाउने बोलबमहरूकोे भिडभाड लाग्ने गर्छ । यहाँ सप्तकोशी नदीको पानी ल्याई चढाउने गरिन्छ । यसबाहेक अन्य विभिन्न पर्व, उत्सव र अवसरमा पनि पिण्डेश्वरमा मानिसको निकै ठूलो भीडभाड लाग्ने गरेको छ । प्रत्येक शनिबार पिण्डेश्वरमा मानिसहरूको बाक्लो उपस्थिति हुने गरेको छ । पिण्डेश्वर भेगमा गणेश, अष्टभूजा र अन्य देवीदेवताका मन्दिर र प्रतिमा निर्माण गरिएका छन् । यहाँ नजिकै रहेको सरस्वतीकुण्ड पनि धार्मिक रूपमा निकै महत्वपूर्ण मानिन्छ । 

दन्तकाली

दन्तकाली मन्दिर धरान विजयपुरको एउटा महत्वपूर्ण धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय स्थल हो । दन्तकालीको मन्दिर भव्य तले शैलीमा निर्मित छ । यो मन्दिर पिण्डेश्वरदेखि करिव ५०० मिटर उत्तरतिर विजयपुर डाँडामाथि पर्छ । यसको स्थापना अघि मध्यकालतिर गरिएको हो । तर, तत्काल यो मन्दिर सामान्य थियो भन्ने देखिन्छ । रूद्राक्षारण्य महात्म्यमा पनि यसलाई पिण्डेश्वरको बायव्य दिशामा रहेकी देवी भनिएको छ । स्वस्थानी व्रतकथामा पाइने सतीदेवीका दाँत पतन भएको स्थान यही दन्तकाली थियो भन्ने जनविश्वास पाइन्छ । तसर्थ, यसलाई दन्तकाली भनिएको हो । दन्तकाली मन्दिरको मुख्य पूज्य वस्तु पनि दाँत आकारको वस्तु नै हो । यसलाई चाँदीका पाताले मोरेर राखिएको छ । यसलाई मध्यकालताका विजयपुरे कालिका भनिन्थ्यो । दसैंको समयमा दन्तकाली मन्दिर क्षेत्रमा मानिस को ठूलो भिडभाड लाग्ने गर्छ । अन्य अवसरमा पनि यहाँ प्रत्येक दिन भ्रमण र दर्शन गर्न आउने मानिसको कमी रहँदैन । तर, यस स्थानको पर्यटन विकास भने विजयपुर भेगका सबै मन्दिरलाई समन्वय गरी एकीकृत रूपमा गर्न आवश्यक छ । यहाँ पशुबलि दिएर पूजाआजा हुने गरेको छ । दसैं, चैते दसैं र अन्य चाडपर्व तथा अवसरमा दन्तकाली भेगमा मानिको भीडभाड लाग्ने गरेको छ । 

बूढासुब्बा    

विजयपुर भेगमा रहेको एउटा महत्वपूर्ण मन्दिर बूढासुब्बाको हो, जसमा रहेको एउटा सानो ढिस्कालाई बूढासुब्बाका नाममा पूजाआजा गर्ने गरिन्छ । तर, यी सुब्बा को थिए भन्ने कुराचाहिँ हालसम्म स्पष्ट छैन । कसैले यिनलाई विजयपुरे सुब्बा, कसैले यहाँका पुजारी र अन्य कसैले अन्य प्रकारका व्यक्तित्वका रूपमा परिचय गराउने गरेका छन् । बूढासुब्बालाई विजयपुरे मन्त्री बुद्धिकर्ण राईको समाधि मान्ने मानिसहरू पनि पाइन्छन् । जे भए पनि हाल यो स्थान प्रख्यात देवमन्दिर र आस्थाको केन्द्रका रूपमा परिचित भएको छ र त्यस भेगमा विशेषगरी विभिन्न जातजातिका साथमा किराँतीहरूको विश्वास रहेको देखिन्छ । यस स्थानको विकास पनि विजयपुर भेगका अन्य देवालयहरूसँग समन्वय गरेरमात्र गर्न सकिने देखिन्छ । बूढासुब्बा स्थान दन्तकालीदेखि करिव ५०० मिटर पूर्वतिर सेउती खोलाको डिलमा विजयपुर डाँडामा नै रहेको छ । यहाँ बूढासुब्बा र बूढीसुब्बेनीको पूजाआजा हुने गरेको छ । यिनलाई चिताएको कुरा पूरा गराउने देवता मानिन्छ । बूढासुब्बा भेगमा टुप्पा ठूटो देखिने बाँस पाइन्छ, जसलाई बूढासुब्बाले गुलेली हानेर भाँचेको मान्यता राखिन्छ । यहाँ विभिन्न प्रकारका मट्यांग्राहरू पनि पाइन्छन् । बूढासुब्बालाई किराँतेश्वरका रूपमा लिने पनि चलन छ । यहाँ प्रायः शनिवारका दिनहरूमा ज्यादा भीडभाड लाग्ने गरेको छ ।

याे पनि

विकासको पखाईमा कोसी प्रस्रवण क्षेत्रका धार्मिक एवं पर्यटकीय स्थल

कोशी प्रस्रवण क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थल: पाथीभरादेखि अर्जुनधारासम्म

कोटीहोमदेखि राधाकृष्ण रथजात्रासम्म