मीन बहादुर परियार: स्वरोजगारीका लागि लिएको एकलाखबाट बिसौँ लाखको आर्जन !

मीन बहादुर परियार: स्वरोजगारीका लागि लिएको एकलाखबाट बिसौँ लाखको आर्जन !

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ६, २०७८

म मीन बहादुर परियार । वर्ष ३८ । स्थायी घर अर्थात् जन्म स्थान सर्लाहीस्थित इश्वरपुर नगरपालिका वडा नं  १२  । हाल सिन्धुली जिल्लास्थित कमलामाई नगरपालिका-६, धुरावजारमा ओम शान्ति ब्याग सिलाई हाउस व्यवसाय सञ्चालक । 

म विगत एक दशकदेखि सिन्धुली जिल्लास्थित कमलामाई नगरपालिका-६, धुरावजारमा बसेर व्यवसाय सञ्चालन गर्दै आएको छु । सर्लाहीबाट आएर सामान्य पुस्तैनी व्यवसाय गर्न थालेँ । त्यसले मेरो व्यवसाय त्यति राम्रो हुन सकेको थिएन । त्यति हुँदाहुँदै पनि केही रकम जम्मा गर्ने उद्देश्यले स्थानीय सिन्धु बचत तथा ऋण सहकारी संस्थामा सुरुवाती बखतदेखि नै नियमित बचत कर्ता सदस्य भए । मैले कमाएको सानोतिनो रकम नियमित रुपमा जम्मा गर्न थाले । मेरो  सदस्यता नम्बर ८८८ रहेको  तियो । 

केही आफूले जम्मा गरेको रकममा थप गरेर कर्जा उपलब्ध गराउन आफू सदस्य रहेको सिन्धु बचत तथा ऋण सहकारी संस्था समक्ष माग गरे ।  सहकारी संस्था मार्फत  प्रवाह हुँदै आएको  युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यक्रम अन्तरतको न्यून ब्याजदरको एक लाख  उपलब्ध गराउन सकिने आश्वासन दियो ।  आश्वासन मात्र  दिएन । ऋण सापटी नै दिने निर्णय गर्‍यो ।

उक्त  ऋण लिई घर व्यावसायिक रुपमा  'ओम शान्ति ब्याग सिलाई हाउस'  दर्ता गरी व्यावसायिक जीवन सुरु गरे। अहिले हामी  दम्पती दुवै  जना यही व्यवसायमा व्यस्त हुने गरेका छौँ। साँझ बिहान छोरीहरूले पनि सघाउँछन् । विद्यालयको शैक्षिक सत्र सुरु हुने वैशाख महिना यस व्यवसायको विशेष सिजन भएकाले माग अनुसार उत्पादन दिन हामीलाई धौ धौ पर्न गरेको छ ।  विद्यालय तथा सङ्घ संस्थाको 'अर्डर' बढेको र आफ्नो उत्पादनले  नपुगेको वेला बाहिरबाट 'रेडीमेड' झोला मगाएर समेत विक्री वितरण गर्ने गरेका छौँ । यही व्यवसायबाट पछिल्लो समयमा संस्थामा मासिक बचतका अलावा दैनिक, ऐच्छिक बचत गरिरहेका छौँ । 

सामान्यतया दैनिक ५ देखी १० झोला उत्पादन गर्ने गरेका छौँ । यसबाट परियारको सबै खर्च कटाई मासिक ४० हजार भन्दा माथि नै  आम्दानी हुने गरेको छ ।  उत्पादित झोला  पसल तथा घर मै लिन आएर लैजाने भएकाले बजारको हलसम्म  चिन्ता लिनु परेको छैन । अझ हाम्रो उत्पादन बलियो भएको हुँदा बजारको 'रेडीमेड' झोलामा भन्दा ग्राहकको आकर्षण बढी नै छ । साथै हामीले विक्री गरेका झोलाको मर्मत समेत पनि निःशुल्क रुपमा गरिदिन्छौ । त्यसो भएकाले हाम्रा ग्राहक पसलमा धाएर आउने गरेका छन् । यो उत्पादनको विश्वसनीयता टिकाइराख्न  दिनरात मेहनत गरिरहेका छौँ । 

हामी पछिल्ला दिनमा झोला व्यवसायबाट सम्पूर्ण लागत खर्च कटाई औसत वार्षिक ३लाख ५० हजार  जति आम्दानी हुने गरेको  छ ।  ४० ,५० हजार कमाइका लागि घर छोडेर  बिदेसिनुभन्दा परिवारसँगै बसेर  कमाई गर्न सफल भएका छौँ । व्यवसायका अलावा  पारिवारिक खुसी पनि सँगै रहेको छ । त्यहीको कमाइबाट हामीले परिवार चलाउँदै नानीहरूको शिक्षा दीक्षा पनि वोडिङ स्कुलमा गराउन सफल भएका छौँ । 

यस व्यवसायलाई विस्तार गरी ५ लाख लगानी पुर्‍याएका छौँ भने ५ तोला सुन पनि जोडेका छौँ  । झोला व्यवसायको कमाइले सर्लाहीमा १० लाखको  पक्की घर निर्माण गर्न भ्याएका छौ । हामीले समयको महत्वलाई बुझेर उपल्वध भएको साधन स्रोतलाई प्रयोग गरेर स्थानीय स्तरमै लगनशील भएर काम गरेको खण्डमा जीवनमा निकै नै परिवर्तन ल्याउन सकिने रहेछ । अहिले मलाई युवा व्यवसायी मीन बहादुर भनेर सबैले चिन्छन् । 

हाम्रो मेहनत र इच्छा शक्तिलाई देखेर नै पछिल्लो समय सहकारीले युवा तथा साना व्यवसायी अन्तरगतको  युवा स्वरोजगारको सहुलियत ऋण पनि  उपलब्ध गराएको छ । व्यवसायीक सफलताका  लागि निरन्तर इच्छा शक्तिसहित लाग्ने हो भने  सिन्धु सहकारी जस्तो सहयोगी संस्थाको साथ रहने रहेछ ।  

त्यसैले सानो साने थोरै थोरै रकम नियमित रुपमा रकम बचत गर्न सबै सदस्यहरूलाई म पनि सुझाव दिन चाहन्छु । बचत उत्तरार्द्धको जीवन साथी  भएकाले यसलाई निरन्तर जीवनभर लैजान सल्लाह दिन्छु  । भोलिका दिनमा सहकारीले सदस्यहरूलाई व्यवसायमूलक सीप विकास गर्ने र लगानी गरी उद्यमशीलताको विकास गर्ने, नेतृत्व क्षमता विकास गर्ने, व्यावसायिक क्षमता अभिवृद्धिको कार्यक्रमहरू सञ्चालन गर्दै   हामी जस्ता सदस्यहरूलाई आत्मनिर्भर बनाउनमा महत्त्वपूर्ण भूमि खेलोस् भन्ने कामना समेत  गर्दछु । 
   नवराज कोइराला