दोस्रो लहर ल्याउने 'डेल्टा भेरियन्टमा नयाँ म्युटेसन' नेपालमा रहेको पुष्टि ! 'नेपाल भेरियन्ट'भन्न चाही नमिल्ने

दोस्रो लहर ल्याउने 'डेल्टा भेरियन्टमा नयाँ म्युटेसन' नेपालमा रहेको पुष्टि ! 'नेपाल भेरियन्ट'भन्न चाही नमिल्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ७, २०७८

काठमाडौँ । नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलाउने प्रमुख कारक मानिएको डेल्टा भाइरसमा नयाँ म्युटेशन पुष्टि भएको छ। भारतको नयाँदिल्लीस्थित इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गर्दा ९ वटा नमुनामा नयाँ म्युटेसन फेला परेको हो । देशका विभिन्न भागबाट विभिन्न उमेर समूह र लिङ्गलाई प्रतिनिधित्व हुने गरी राष्ट्रिय प्रयोगशालाले गत वैशाख २६ देखि जेठ २० गतेसम्म ४८ वटा नमुना सङ्कलन गरेको थियो । ती नमुनालाई विश्व स्वास्थ्य संगठनले समेत मान्यता दिएको भारतको प्रयोगशालामा गरिएको परीक्षणमा ४८ मध्ये ४७ जनामा डेल्टा भेरियन्ट र एउटामा अल्फा भेरियन्ट फेला परेको थियो ।

डेल्टाका ४७ नमुनामध्ये ९ नमुनामा के.४१७ एन म्युटेसन भेटिएको छ । गत महिना बेलायतको डेली मेलले कोरोनाको नेपाल भेरियन्टले बेलायतीको बिदालाई असर गरेको समाचार छाडेको थियो । डेली मेलले दाबी गरेको नेपाल भेरियन्ट यही म्युटेशन भएको बताइएको छ । तर यो म्युटेशन पहिलो पटक नेपालमा फेला परेको होइन । त्यसैले यसलाई नेपाल भेरियन्ट भन्न नमिल्ने विज्ञको तर्क थियो । नेपालमा डेल्टा, अल्फा र कप्पा भेरियन्ट पनि भेटिएको थियो । नेपालमा कोरोनाको दोस्रो लहर यही डेल्टाका कारण तीव्र गतिमा फैलिएको थियो । सन् २०१९ मा  चीनको वुहानमा भेटिएको भाइरसको दाँजोमा यो दुई गुणा तीव्र गतिमा फैलिन सक्छ । सुरुवाती चरणमा त्यति धेरै खतरनाक र संक्रामक नरहेको कोरोना भाइरस यसका विभिन्न भेरियन्टसँगै संक्रामक बन्दै गयो । युकेको केन्टमा पहिलो पटक पहिचान गरिएको अल्फा भेरिअन्टले कोरोनाको फैलिने क्षमता धेरै बढाएको मानिन्छ ।

भारतमा देखिएको डेल्टा भाइरस तीव्र रुपमा फैलिने क्षमताको थियो । जसका कारण भारत र नेपालसहित विभिन्न देशमा कोरोना संक्रमितको संख्यमा ठूलो वृद्धि हुन पुग्यो । कोरोना भाइरस क्रमिक विकास भइरहेको छ । 

कति खतरनाक छ ?

कोरोना भाइरस अझै विकास हुँदै गएको छ। जसले गर्दा यसका नयाँ नयाँ प्रजातिले मानव जीवनलाई प्रभावित पारिरहेका छन् । विज्ञका अनुसार कोरोना भाइरसले पूर्णतः फरक प्रजातिलाई संक्रमित गर्नेमा ठूलो फड्को मारेको छ । पहिलो भेरिअन्ट महामारी सुरु गर्न पर्याप्त थियो । ‘जब यो भाइरस मानिसमा प्रवेश गर्‍यो त्यसबेला यसका लागि पूर्ण हुनु भनेको निकै दुर्लभ थियो’, इम्पीरियल कलेज लन्डनका भाइरोलोजिस्ट प्राध्यापक वेन्डी बार्क भन्छिन्,‘उनीहरू मानिसमा प्रवेश गरेर व्यवस्थित भए र त्यसपछि भाइरसको लागि राम्रो समय आयो ।’ रुघाखोकीदेखि इबोलासम्मका भाइरसहरू एकबाट अर्कोमा सर्ने र क्षमता विस्तार हुने गरेको देखिएको छ । 

भाइरसको शुद्ध जैविक फैलावट शक्तिबारे स्पष्ट तुलना गर्ने माध्यम भनेको तिनिहरूको आर–शून्यमा हेर्नु हो। यो भनेको यदि कसैले पनि खोप लगाएका छैनन् र कसैले पनि संक्रमणबाट बच्न थप सावधानी अपनाएका छैनन् भने त्यस्तो बेलामा हरेक संक्रमित व्यक्तिले कति भाइरस सार्न सक्छन् भन्ने संख्याको औसत हो। इम्पीरियलका रोग अनुसन्धानकर्ताहरूका अनुसार त्यो अङ्क वुहानमा महामारी सुरु हुँदा करिब २.५ थियो भने डेल्टा भेरिअन्टको ८.० सम्म उच्च हुनसक्छ ।

‘यो भाइरसले हामीलाई धेरै नै अचम्मित पारेको छ’, अक्सफर्ड विश्वविद्यालयमा भाइरस विकासक्रमबारे अध्ययन गर्ने डा.एरिस काट्जिरकिसले भने, ‘यो १८ महिनाभित्र दुईपटक यसको संक्रामकता बढ्यो। दुईवटा भेरिअन्ट (अल्फा र त्यसपछि डेल्टा) हरेकमा संक्रमण फैलाउने दरमा ५० प्रतिशतभन्दा बढीको असाधारण परिवर्तन देखा पर्‍यो ।’ यो अझै कति संक्रामक हुन्छ भनेर अनुमान गर्न नसकिए पनि थप संक्रामक हुनेमा भने विज्ञ सहमत देखिन्छन्। अन्य भाइरसहरू पनि कीर्तिमानी र अधिक आर–नटयुक्त छन्। जस्तो कि दादुराको भाइरसले विस्फोटक महामारीको रूप लिनसक्छ । 

‘अझै पनि यो माथितिर जाने ठाउँ छ’, प्राध्यापक बार्कले भन्छिन्, ‘दादुराको भाइरसको आर–नट १४ देखि ३० को बिचमा छ। कोरोनाभाइरसको कतिसम्म पुग्छ भन्ने म भन्न सक्दिन ।’ 

अल्फा भेरिअन्ट शरीरमा कुनै भाइरस प्रवेश गर्दा त्यसको जानकारी दिने प्रणालीलाई झुक्याउन सफल भएको थियो । त्यस्तो जानकारी दिने प्रणाली कोषभित्र हुन्छ । तर यो अनन्तसम्म फैलन्छ भन्ने होइन । ‘कुनै न कुनै सीमा हुन्छ र कुनै पनि सुपर–अल्ट्रा भाइरस छैन, जसले हरेक खराब अवस्थामा पनि उत्परिवर्तन गर्न सकोस्’, डा.काट्जिरकिस भन्छन् । भाइरसको अर्को विकासक्रमको दिशा र जितका लागि तीव्र गतिमा भइरहेको खोप कार्यक्रमले पनि अवरोध सिर्जना गर्नेछ। डा. काट्जिरकिसले भने, ‘खोपबाट बच्न उसलाई बलियो बनाउने परिवर्तनहरूले भाइरसलाई उसको फैलाउने दरलाई कम गर्ने सम्भावना पनि हुनसक्छ ।’ उदाहरणका रूपमा डेल्टा भेरियन्टको उत्पर्रिवर्तनले प्रतिरक्षा प्रणालीबाट बच्नसके पनि त्यो तीव्र संक्रामक बन्न सकेन । 

यद्यपि डेल्टामा संक्रामक र आंशिक रूपमा प्रतिरक्षालाई छल्नसक्ने उत्परिवर्तन देखिएका छन्। फरकफरक भाइरसको संक्रमणमा फरकफरक तरिका पाइएको छ । दादुरा विस्फोटक हुन्छ तर यसले जीवनभरिका लागि प्रतिरक्षा छाडिदिने भएकाले संक्रमण हुनका लागि कोही नयाँ व्यक्ति खोज्नुपर्छ । इन्फ्लुएन्जामा एकदमै थोरै मुस्किलले एकभन्दा माथि आर–नट हुन्छ तर यसले लगातार एकपछि अर्को प्रतिरक्षा उत्परिवर्तन गर्छ ।

बार्कलेका अनुसार हामी वास्तवमै रोचक, मध्यविन्दुको र कुनै हिसाबले अनुमान गर्न नसक्ने चरणमा छौं, एक वर्षपछि के गर्छ भन्ने अहिले नै अनुमान गर्न कठिन छ । भाइरसले कसैलाई मार्नुभन्दा धेरै अघि उक्त व्यक्तिबाट अर्कोमा सरिसकेको हुन्छ र जसले धेरै भाइरस फैलाउँछन् तिनीहरु खासै बिरामी पर्दैनन् । राम्रो खोप कार्यक्रम अघि बढेको र विश्वमा धेरै देशमा व्यापक प्रतिरक्षा विकास भएका कारण अब आउने भेरियन्टले ठूलो नोक्सानी पुर्‍याउँदैनन भन्ने विश्वास गरिएको छ । तर नयाँ भेरियन्टहरु बाँकी विश्वका लागि नयाँ संकटका रुपमा खडा हुनसक्छन्। 
(बीबीसीमा जेम्स ग्यालहरको रिपोर्टमा आधारित)