अन्तिम १६ मा पुग्न अन्य देशको खेल कुर्दै स्विट्जरल्यान्ड

अन्तिम १६ मा पुग्न अन्य देशको खेल कुर्दै स्विट्जरल्यान्ड

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार ७, २०७८

काठमाडौं  । १६ औं संस्करणको युरोकप फुटबलमा स्विट्जरल्यान्डले पहिलो जित निकालेको छ ।

आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३-१ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित निकालेको हो ।

बाकुमा भएको खेलमा स्विट्जरल्यान्डलाई जित दिलाउन जद्रान शाकिरीले दुई गोल गरे । हरिस सेफेरोभीले एक गोल गरे । यता, टर्कीका इरफान केभाचीले एक गोल फर्काए ।

खेलको छैटौं मिनेटमा हरिसले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि २६ औं मिनेटमा शाकिरीले गोल गर्दै स्विट्जरल्यान्डलाई २-० गोलको अग्रता दिलाए । खेलको ६२ औं मिनेटमा इरफानले गोल गर्दै टर्कीलाई २-१ को स्थितिमा ल्याए । 

तर, खेलको ६८ औं मिनेटमा जुबेरको पासमा शाकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्यान्डलाई ३-१ को जित दिलाए । समूह चरणको अन्तिम खेलमा जित निकालेपनि स्विट्जरल्यान्ड सिधै नकआउट चरणमा प्रवेश गर्न असफल भएको छ ।

तर, स्विट्जरल्यान्डको समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिम बन्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको छ ।

जसको लागि सबै समूह चरणको खेल सकिनु पर्नेछ । समूह ‘ए’मा रहेको स्विट्जरल्यान्डले ३ खेलमा ४ अंक जोड्यो । वेल्ससँग गोल अन्तरमा पछि पर्दा स्विट्जरल्यान्ड दोस्रो स्थानमा रहन असफल भएको हो ।