विद्युत् प्राधिकरणको जग्गा व्यक्ति र गुठीका नाममा

विद्युत् प्राधिकरणको जग्गा व्यक्ति र गुठीका नाममा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०७६

ललितपुर । जिल्लाभर विद्युत् वितरणका लागि ६६ केभी प्रसारण लाइनदेखि कार्यालय भवनसम्म रहेको लगनखेलस्थित विद्युत् प्राधिकरणले १० रोपनीभन्दा बढी जग्गा भोगचलन गर्दै आएको छ। तर नेपाल विद्युत् प्राधिकरणको जिल्लादेखि केन्द्रसम्म त्यसबारे कुनै विवरण छैन, न त कार्यालयका कुनै कर्मचारीलाई जग्गाको क्षेत्रफल नै थाहा छ।

लालपुर्जाबारे जानकारी माग्दा वितरण शाखा प्रमुख वीरेन्द्रकुमार शाहले प्राधिकरणको केन्द्रीय कार्यालयस्थित सम्पत्ति व्यवस्थापन महाशाखामा हुन सक्ने बताए। तर महाशाखाले उक्त जग्गाबारे कुनै विवरण दिन सकेन। नागरिकले उक्त जग्गाबारे खोजबिन गर्दा नेपाल विद्युत् प्राधिकरणको नाममा नभई गुठी र व्यक्तिको नाममा भएको तथ्य फेला परेको छ। चल्तीको मूल्यअनुसार एक अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने उक्त जग्गाको भोग दशकौंदेखि प्राधिकरणले गर्दै आए पनि उसका नाममा लालपुर्जा प्राप्त नभएको देखिन्छ।

यसबारे प्राधिकरणको ललितपुर वितरण केन्द्रदेखि केन्द्रीय कार्यालयसम्म जानकारी माग्दा स्वामित्व या भोगाधिकारको कुनै विवरण उपलब्ध हुन सकेन। मालपोत कार्यालयको रेकर्डमा विभिन्न कित्ताका जग्गा गुठी र व्यक्तिका नाममा छन्।

उक्त जग्गामा प्राधिकरणअन्तर्गत काठमाडौं ग्रिड महाशाखाको पाटन सबस्टेसनदेखि वितरण महाशाखाका भवनहरू बनेका छन्। नापी कार्यालयले उपलब्ध गराएको नक्सामा ललितपुर महानगरपालिकाअन्तर्गत कित्ता नं. ५ ‘क’को ९९, १००, १०३, २८६, २९२ लगायत विभिन्न कित्ताका जग्गा नेपाल विद्युत् प्राधिकरणले उपभोग गर्दै आएको छ। नागरिकले जिल्ला मालपोत कार्यालय ललितपुरसँग ती कित्ता नम्बरहरूको जग्गाको हकवालाबारे जानकारी माग्दा व्यक्ति र गुठीका नाममा रहेको पाइएको छ। आजको नागरिक दैनिकमा खबर छ ।