अन्यौलमा एमाले एकता, प्रयासरत दोस्रो पुस्ताका नेताहरु

अन्यौलमा एमाले एकता, प्रयासरत दोस्रो पुस्ताका नेताहरु

लोकसंवाद संवाददाता  |  लोकसंवाद  |  असार ८, २०७८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरु सहमतिको अन्तिम प्रयासमा जुट्नुभएको छ । सहमतीको अवस्था सन्तोषजनक बन्न नसके पनि अन्तिम समयसम्म पार्टी एकताको लागी प्रयास जारी राख्ने दुवै पक्षका नेताहरुको भनाई छ ।

एमाले एकतालाई कायम राख्न भएको छलफलमा नेता माधव नेपाल पक्षका पूर्व सांसदहरुले सर्वोच्चमा बहस शुरु हुनुअघि नै हस्ताक्षर फिर्ता लिनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओली पक्षको माग छ । सर्वोच्चको बहसपछि अनपेक्षित फैसला आउन सक्ने सम्भावना देखेरै पार्टी एकता जोगाउन एमाले अध्यक्ष ओलीले २०७५ जेठ २ कै अवस्थामा एमालेको सबै निकाय क्रियाशील गराउने प्रस्ताव राख्नुभएको छ ।

नेता नेपाल भने दोस्रो पुस्ताका नेताहरुको वार्ता र एकता प्रयासप्रति खासै सन्तुष्ट नरहनुभएको सो पक्षका नेताहरुले बताउने गर्नुभएको छ । विपक्षी गठबन्धनलाई साथ दिने पतिवद्धता आफूले गरिसकेकाकारण पछाडि नफर्किने नेपाल समुहले बताएको छ । नेता नेपाल र भीमबहादुर रावलले एमाले परित्याग गरी अर्को पार्टी गठन गर्ने अभ्यासमा लागिसक्नु भएकाले एमालेमा फर्किने सम्भावना कम रहेको सो पक्षका नेताहरुको भनाई छ ।

एमाले दोस्रो पुस्ताका नेताहरुले पार्टी एकता गराउने प्रयास जारी राख्नु भए पनि उपलब्धी अझै हात लागिसकेको छैन । दुई पक्षीय नेताहरुबीच सहमतिको विभिन्न विकल्प र मोडलमा छलफल भइरहेको छ । तर ठोस निस्कर्ष आएको छैन । अध्यक्ष ओली पक्षले सर्वोच्चको पछिल्लो निर्णय आउनुअघि नै पार्टी एकता कायम गर्ने तयारीमा जुटे पनि नेता नेपाल पक्षका केही नेताहरुले स्वीकार गरिसक्नु भएको छैन । अध्यक्ष ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने र प्रतिनिधिसभा विघटन गरेको गल्ती स्वीकार गर्नुपर्ने अडान नेता नेपालले राख्दै आउनुभएको छ ।

अध्यक्ष ओली पक्षका नेताहरुलाई सहमतिको वातावरण बन्दाबन्दै नेता नेपाल विपक्षी गठबन्धनमा नियमित छलफलमा जाँदा समस्या पर्नेगरेको एमाले स्रोतको दावी छ । अध्यक्ष ओलीले पार्टी एकताका लागि हर प्रयास गर्दा पनि नेता नेपाल विपक्षी गठबन्धनमै जोड दिनुभएको र पार्टीको एकता प्रक्रियामा चासो नदिनुभएको आरोप ओली पक्षका नेताहरुको छ ।


वार्तामा नियमित सहभागी रहनुभएका प्रधानमन्त्री निकट मानिनुहुने स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले सहमतिको वातावरण अझै आशलाग्दो बनिनसके पनि प्रयास गर्न नछाड्ने बताउनुभयो । दुवै पक्षबीच औपचारिक तथा अनौपचारिक छलफल जारी रहेको उहाँको भनाई छ ।

पार्टी एकताको प्रयासका लागि नेताहरुले एक्लाएक्लै, सामुहिक र दुई पक्षीय छलफल जारी राख्नुभएको छ । पार्टी एकता बचाउन अर्थमन्त्री तथा एमाले नेता विष्णुप्रसाद पौडेलले नेता बामदेव गौतमसँग पनि पछिल्लो समय सघन छलफल गरिरहनुभएको छ । यसअघि नेकपा पार्टी एकताको प्रयासमा दत्तचित्त भएर लाग्नुभएका नेता गौतम अहिले करिब निस्क्रीयझैं बस्नुभएको छ ।

एमाले एकताको पक्षमा उहाँको उत्साहजनक प्रयास देखिएको छैन । नेता नेपाल निकट मानिनु हुने नेता सुरेन्द्र पाण्डे पार्टी एकताको पक्षमा आफू रहेको बताउँदै आउनुभएको छ । त्यस्तै, नेपाल पक्षका योगेश भट्टराई, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य लगायतका नेताहरु पार्टी विभाजनको पक्षमा नरहेको सञ्चार माध्यममा धारणा सार्वजनिक गर्दै आउनुभएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्य उपचारका लागि दिल्ली जाँदाजाँदै पार्टी एकता जोगाउन प्रधानमन्त्री ओलीसहित पार्टीका नेताहरुलाई आग्रह गर्नुभएको थियो । उहाँले विज्ञप्ति मार्फत एकताको आव्हान गर्नुभएपछि पार्टी पङ्तिमा एक किसिमको उत्साह जागेको थियो । तर भोलिपल्टै नेता नेपाल विपक्षी गठबन्धनका नेताहरुसँग बुढानिलकण्ठ र खुमलटारको बैठक गएपछि पार्टी पङ्तिमा पुनः खिन्नता छाएको छ ।