भारतीयलाई नेपाली नागरिकता प्रकरण: अदालतले पुर्जी दिए पनि पक्राउ गर्न प्रहरीको आलटाल

भारतीयलाई नेपाली नागरिकता प्रकरण: अदालतले पुर्जी दिए पनि पक्राउ गर्न प्रहरीको आलटाल

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०७६

झापा । झापाको कचनकवल गाउँपालिकामा भारतीयलाई नेपाली नागरिकता दिलाउन मिलोमतो गरेका जनप्रतिनिधि र स्थानीयलाई पक्राउ गर्न प्रहरीले आलटाल गरेको छ । घटना सार्वजनिक भएको एक साता बितिसक्दा पनि नागरिकताका लागि कागजपत्र मिलाइदिने जनप्रतिनिधि, कर्मचारी र सर्जमिन गर्ने स्थानीयलाई प्रहरीले समातेको छैन । 

नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक भूपाल गुरुङलाई प्रहरीले १० वैशाखमा जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुंगेलले भूपाललाई भारतीय मतदाता परिचयपत्रसहित पक्राउ गरेका थिए । भर्खरै भारतमा सम्पन्न लोकसभा निर्वाचनमा मत दिएका भूपालको औँलामा मसी लागेको देखेपछि उनीमाथि सोधपुछ गरिएको थियो । बरामद भएको मतदाता परिचयपत्रमा भूपालको बाबुको नाम चन्द्रबहादुर गुरुङ लेखिएको छ । 

भूपाल आफ्नो जेठो छोरो भएको बताउँदै नागरिकता दिलाउन प्रशासन कार्यालय पुगेका झापा कचनकवल गाउँपालिका–२ का ५५ वर्षीय बमबहादुर गुरुङ पनि समातिएका थिए । उनीहरू पक्राउ परेको आठ दिन बितिसक्दा पनि जन्मदर्ता बनाइदिने, नागरिकता सिफारिसमा सहयोग गर्ने र सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्ने वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि र केही स्थानीयमाथि अनुसन्धान भएको छैन । आजको नयाँ पत्रिका दैनिकले यो समाचार प्रकाशित गरेको छ ।