व्यवस्थापन समिति अध्यक्षकै घरमा कुटिए दलित प्रधानाध्यापक

व्यवस्थापन समिति अध्यक्षकै  घरमा कुटिए दलित प्रधानाध्यापक

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०७६

म्याग्दी । धवलागिरि गाउँपालिका–५ भेडिखाल्टास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेशमबहादुर विश्वकर्मा जातीय विभेदको सिकार बनेका छन् । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती पुर्जा (मगर)को घरमा विद्यालय सञ्चालनकै विषयमा स्थानीय अगुवासँग छलफल गरिरहेका वेला उनीमाथि कुटपिट भएको छ ।

‘दलित भएर मगरको घरभित्र पस्ने’ भन्दै स्थानीय बलबहादुर रोका र जितेन्द्र जुग्जालीले उनलाई कुटेका हुन् । ‘लतारेर आँगनमा ल्याए, आँगनको डिलबाट पाँच मिटर तल कान्लामा खसाले,’  रेशमले भने । उनको देब्रे खुट्टाको दुईवटा औँला र पैताला जोड्ने हड्डी भाँचिएको छ । उनले मणिपाल अस्पतालमा उपचार गराएका छन् । 

वडा सदस्यसमेत रहेकी विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुर्जाले पनि आफ्नो घरमा विद्यालयको छलफलका क्रममा प्रअ विश्वकर्मा कुटिएको बताइन् । ‘विद्यालय सञ्चालनका सम्बन्धमा छलफल चलिरहेका वेला उहाँ (प्रअ)माथि आक्रमण भएको हो,’ पुर्जाले भनिन् । आजको नयाँ पत्रिका दैनिकमा याे समचार छ ।