वाग्मती समाचार :  सडक बालबालिकाको उद्धार

वाग्मती समाचार :  सडक बालबालिकाको उद्धार

लोकसंवाद संवाददाता  |  समाज  |  असार ८, २०७८

हेटौँडा । लामो समयदेखि हेटौँडामा सडक बालबालिकाको रुपमा रहेका सात जनालाई विभिन्न सङ्घसंस्थाको पहलमा  उद्धार गरिएको छ । उद्धार गरिएका बालबालिकामा छ जनालाई मामाघर नेपालमा र एक जना बालिकालाई माइती नेपालमा संरक्षणको लागि राखिएको बताइएको छ ।

ती बालबालिकाहरुमा १५ वर्षीया सन्ध्या लामा, १० वर्षीय आकाश मलाह, १३ वर्षीय सन्दिप गोले, १५ वर्षीय मुस्कान मलाह, १८ वर्षीय उमेश तामाङ, १८ वर्षीय भिमराज थिङ र १४ वर्षीय हिमाल लामा रहेका छन् । बालबालिकाकाका अभिभावकहरुलाई अविलम्ब सम्पर्कमा आउन पनि अनुरोध गरिएको छ ।

सङ्क्रमित दरको तुलनामा निको हुने सङ्ख्या धैरे

मकवानपुर जिल्लामा कोभिड–१९ सङ्क्रमित दरको तुलनामा निको हुने सङ्ख्या धैरे रहेको पाइएको छ ।  पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार जिल्लामा ८९ कोरोना सङ्क्रमित थपिदा ९७ जना कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्कमा पछिल्लो २४ घण्टामा विभिन्न मितिमा कोरोना सङ्क्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेकामा  सोमबार मात्र ९७ जना सङ्क्रमण मुक्त भएका छन् । आज सङ्क्रमण मुक्त हुने ९७ सहित जिल्लामा हालसम्म कोरोना मुक्त हुनेको सङ्ख्या नौ हजार २२३ पुगेको छ ।

किरियापुत्री भवनको निर्माण गर्न सहयोग

वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा उपमहानगरपालिका–७, नवज्योति टोलमा निर्माणाधीन किरियापुत्री भवनको निर्माण कार्य पूरा गर्न सोही वडाका अध्यक्ष राजन थापाले  ६० हजार सहयोग गर्नुभएको छ । वाग्मती प्रदेश सरकारको सहयोगमा उपभोक्ता समूहमार्फत निर्माण भइरहेको किरियापुत्री भवन निर्माणका लागि वडाध्यक्ष थापाले वनदेवी राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष राजीप्रसाद ढकाललाई सहयोग रकम उपलब्ध गराउनुभएको हो । 

प्रदेश सरकारको १५ लाख सहयोग तथा उपभोक्ताको रु तीन लाखको श्रमदानमा किरियापुत्री भवन निर्माण भइरहेको छ । तीन वटा कोठा, एक कोठा बराबरको बरण्डा र शौचालयसहितको किरियापुत्री भवनको निर्माण कार्य दुई साताभित्र पूरा हुने वडाध्यक्ष थापाले जानकारी दिनुभयो । 

अक्सिजन कन्सट्रेटर सहयोग

वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस प्रालिले मकवानपुरका दुई स्थानीय तहलाई अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । यस सर्भिसेसले एक्सपर्ट फाउण्डेशनमार्फत कैलाश र मकवानपुरगढी गाउँपालिकालाई एक÷एक थान अक्सिजन कन्सट्रेटर सहयोग गरेको हो । 

एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तान र मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईलाई १० लिटर क्षमताको सो अक्सिजन कन्सट्रेटर सोमबार हस्तान्तरण गर्नुभयो  ।  

अक्सिजन कन्सट्रेटर ग्रहण गर्दै कैलाश गाउँपालिकाका अध्यक्ष मोक्तानले माहामारीसँग लड्न र अन्य समयमा पनि बिरामीलाई सहज उपचार पाउनका लागि अक्सिजन कन्सट्रेटरले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । अर्का अध्यक्ष हुमागाईँले गाउँपालिकाभित्र २०० भन्दा बढी कोरोना सङ्क्रमित फेला परिसकेकाले अक्सिजनको आवश्यकता अझै उत्तिकै रहेको बताउनुभयो । 

एक्सपर्टका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले सुगम क्षेत्रमा भन्दा पनि दुर्गम क्षेत्रका जनताले सहज रुपमा अक्सिजन पाउन समस्या झेल्नु पर्ने गरेकाले अक्सिजन कन्सट्रेटर सहयोग गरिएको बताउनुभयो । 

यस संस्थाले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीलाई विभिन्न राहत प्याकेजहरु वितरण गरेको छ भने नेपालका विभिन्न स्थानमा खाद्यान्न वितरण, अक्सिजन सिलिन्डर वितरण, रक्तदानलगायतका सहायताहरु प्रदान गरिसकेको छ ।