मानिसको प्रभुत्व र कर्तुत : पेट भर्न, स्वाद मेटाउन र सन्तुष्टिमा प्रकृतिको अस्वाभाविक दोहन

मानिसको प्रभुत्व र कर्तुत : पेट भर्न, स्वाद मेटाउन र सन्तुष्टिमा प्रकृतिको अस्वाभाविक दोहन

सेबिका सुवेदी  |  दृष्टिकोण  |  असार ८, २०७८

आज पुरा विश्व कोरोना महामारीको दोस्रो लहरको उत्पीडनमा छ । सम्पूर्ण विश्व नै महामारीबाट बच्ने उपायको खोजीमा लागि रहेका छ । तर पनि प्रभावकारी उपाय निकाल्न सकिरहेको छैन । विश्वभरका मानिसहरू असहाय जस्तै महसुस गरी रहेका छन् । आफ्ना परिवार र आफन्त गुमाएकाहरूको पिडा अझै कहाली लाग्दो छ ।  अधिकांश त डिप्रेसनको सिकार हुन बाध्य भई रहेका छन् ।यस्तो अवस्थामा कतिपयले भने आफ्नो मन र दिनचर्यालाई सहज गराउनकै लागि भए पनि अध्यात्म सहारा लिन बाध्य भइरहेका छन् । 

भनिन्छ, भौतिक सुख, सुविधा, सफलता हुँदासम्म मानिसले अध्यात्मको चिन्तन गर्न चाहँदैन तथा वास्ता गर्दैन ।  जब व्यक्ति शारीरिक, मानसिक, भावनात्मक रुपमा कुनै न कुनै अभाव, अशान्ति र दुःखको अनुभूति गर्न थाल्छ । मानिस त्यसपछि मात्र अध्यात्मको खोजी गर्न थाल्छ । कुनै पनि भौतिक वस्तुले दिन नसकेको आनन्द र खुसी अध्यात्ममा मिल्छ जसको स्वाद त चाख्नेलाई मात्र थाहा हुन्छ । मानिस स्वभावले नै स्वार्थी हुन्छ जब दुःख आउँछ अर्थात् वृद्ध अवस्थामा पुग्छ त्यसपछि मात्र भगवानको नाम लिन तयार हुन्छ । अध्यात्मको सहारा खोज्छ ।

भौतिक सुख सुविधाको पछाडि भाग्दा भाग्दै मानवले प्रकृति माथि पनि ठुलो अन्याय गरि रहेको छ । विज्ञान प्रविधिको नयाँ नयाँ आविष्कारसँगै प्रकृतिको विनाश र वातावरण प्रदूषण पनि बढिरहेको छ । यसको प्रतिफल भनौँ या सजाय स्वरूप प्राकृतिक विपत्ति र महामारीको सामना गर्न विवश छौ हामी मानिस । आधुनिक विज्ञान र प्रविधिको विकासले मानिसको जीवन सहज र सुविधा सम्पन्न भएको कुरालाई नकार्न भने सकिन्न तर अति भोग, महत्त्वाकाङ्क्षा, लोभ, लालच बढ्नुको कारण मानिसमा अहङ्कार, भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार चोरी जस्ता अनुशासनहीन कार्यहरू पनि मौलाउँदै गएका छन् । यसको परिणाम हुन सक्छ प्रकृतिले मानव जातिलाई चेतावनी दिलाउन र सृष्टिको तालमेल मिलाउन पनि यस्ता महामारी, प्राकृतिक विपत्तिको सिर्जना गरी दिएकी हुन ।

विश्वव्यापीकरण र आधुनिकी करणसँगै हामी नेपाली पनि पश्चिमा संस्कृतिमा भुल्दै रमाउँदै हाम्रो मौलिक अस्तित्वबाट टाढा भाग्दै छौ । हामी अप्राकृतिक बन्दै गयौँ हाम्रो आफ्नै बन पाखा, जङ्गल, करेसाबारी, भान्सामा भएका औषधिजन्य प्राकृतिक खाद्यपदार्थलाई छोडेर कृत्रिम, अप्राकृतिक भोजन गर्न थाल्यौ परिणामतः व्यक्तिमा अनुशासनहीन छाडा प्रवृत्ति मौलाउँदै गएको छ ।

यो पृथ्वीमा मानिस लगायत सबै प्राणी साझा वासस्थान हो । मानिस सम्पूर्ण प्राणी जगत् , बोटविरु, वनस्पति सबैले खुुशि साथ रम्ने रमाउने र जिउन पाउने ईश्वरको अनुपम संरचना यो प्रकृति अर्थात् पृथ्वी हो । यसलाई सन्तुलित तरीकाले जोगाएर राख्नु प्राणी मध्येको सर्वश्रेष्ठ प्राणी मानिसको परम कर्तव्य हो । मानिसको जीवन र प्रकृतिबिच अन्योन्याश्रित सम्बन्ध छ भन्ने सत्यलाई बुझी सम्भव र सम्मान भावको साथमा सबै प्राणीको रक्षा गर्नु प्रकृतिको संरक्षण, संवर्द्धन गर्नु हामी मानिसको दायित्व हुन आउँछ । हामीले प्रकृतिको संरक्षण गर्न नसक्दा र प्राकृतिक नियम अनुसार चल्न नजान्दा आजको जस्तो अकल्पनीय र भौतिक विज्ञानले हार खाने किसिमका डरलाग्दो महामारी, बाढी पहिरो, आँधी, भूकम्प जस्ता प्राकृतिक प्रकोपको सामना गर्नु परिरहेको छ ।

प्रकृति, पर्यावरण संरक्षण र संवर्द्धनका लागी विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट विभिन्न समयमा प्रयासहरू नभएको होइन तर धेरै मानिसले प्रकृति पर्यावरण र मानव बिचको अन्तरसम्बन्धलाई चिन्न नसक्नु र भौतिक अति भोगका र कारण आज यो नियतिको सिकार सबै मानव बन्नु परेको छ । प्रकृतिले हामीलाई सबै कुरा दिएकी छन् हामी जीवन्त रहनका लागि श्वासदेखि लिएर जीवनमा आवश्यक सबै कुरा सित्तैमा पाएका छौ त्यसैले यसको महत्त्व बुझ्न सकेनौ । उद्योग धन्दाको विकाससँगै प्रकृतिको विनाश र प्रदूषणको वृद्धि भइरहेको छ प्रदूषण व्यवस्थापन तर्फ ध्यान गएको छैन । हामी दिन दिनै यही प्रदूषणयुक्त अखाद्य शरीरलाई हानिकारक भोजन गरी रहेका छौ । प्रकृतिको नियम विपरीत अनुशासन हीन कर्मका कारण हामी अधोगति तिर गइरहेका छौ ।

यो विश्व ब्रह्माण्डमा भएका सबै मानिस, जीवजन्तु, वनस्पति, पहाड, पर्वत, खोला नाला नदी सबैको सबैसँग अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । सबैभन्दा विवेकशील भनिएको मानिसले यी सबै माथि आफ्नो प्रभुत्व जमाइरहेको छ । मानिसले जीवजन्तुको स्वतन्त्रता खोसेको छ, आफ्नो पेट भर्न, स्वाद मेटाउन र सन्तुष्टि प्राप्तिका निम्ति उनीहरूलाई सिकार बनाइरहेको छ । पहाड पर्वत, ढुङ्गा गिट्टी बालुवाको लागि उत्खनन गरिरहेका छन् । नदी दोहन गरी बस्ती बसालिएको छ, उद्योगधन्दा कलकारखानाको लागि अनधिकृत रुपमा बन जङ्गल तथा वनस्पतिको प्रयोग भइरहेको छ यी सबै मानिसका कर्तुतलाई 'माँ' प्रकृतिले शान्त भएर टुलुटुलु हेरिरहेकी हुन्छिन् जब अति हुन्छ उनले उग्ररुप लिन्छिन् अर्थात् देखाउँछिन् । त्यही क्षण मानिसले आफ्नो केही गल्तीको महसुस गर्छ तर पछि बिर्सेर पुनः तीनै कर्म दोहोर्‍याई रहन्छ ।

विश्वव्यापीकरणै आज विश्व सानो गाउँमा परिणत भइसकेको छ । विश्वको कुनै पनि कुनामा देखिएको समस्या द्रुतगतिमा संसारभर फैलिन्छ कुनै एउटा राष्ट्र वा स्थानमा मात्र सावधानी अपनाएर वा सचेत भएर मात्र पनि समाधान हुने अवस्था छैन । यो मानिसको लागि ठुलो चुनौतीको विषय हो । यसर्थ सम्पूर्ण मानव जगतले प्रकृतिलाई माया र संरक्षण गर्नु आजको आवश्यकता हो । यो संसार एउटा व्यक्तिको वा मानिसको मात्र नभएर सम्पूर्ण प्राणी जगतको साझा फूलबारी भुली रहेका छौँ । मानिसको उत्पत्ति पूर्व नै विभिन्न वनस्पति, जीवजन्तु, वनस्पतिको सृष्टि भएको हो । मानिसको उत्पत्तिसँगै उसलाई चाहिने अन्य बस्तुहरूको सृष्टि गरी 'इकोसिस्टम' कायम गरिएको हो । यसर्थ संसारका सबै प्राणी बिच सहअस्तित्वको खाँचो छ । अबको दिनमा यी सबै सत्यलाई बुझेर मानिसले यी सबै पद्धतिलाई जोगाएर राखे मात्र मानव जातीको अस्तित्व जोगिने छ नत्र मानव जातिको अस्तित्व सङ्कटमा पर्ने देखिन्छ ।

पूर्वीय दर्शन प्राकृतिक र आध्यात्मिक जीवन उपयोगी रहँदै आएको छ । विश्वव्यापीकरण र आधुनिक करणसँगै हामी नेपाली पनि पश्चिमा संस्कृतिमा भुल्दै रमाउँदै हाम्रो मौलिक अस्तित्वबाट टाढा भाग्दै छौ । हामी अप्राकृतिक बन्दै गयौँ हाम्रो आफ्नै बन पाखा, जङ्गल, करेसाबारी, भान्सामा भएका औषधिजन्य प्राकृतिक खाद्यपदार्थलाई छोडेर कृत्रिम, अप्राकृतिक भोजन गर्न थाल्यौ परिणामतः व्यक्तिमा अनुशासनहीन छाडा प्रवृत्ति मौलाउँदै गएको छ ।

अतः यी सबै दृश्य र मानवीय प्रवृत्तिलाई हेर्दा पुन एक पटक मानिस आफ्नो मूल अस्तित्वमा फर्कनु जरुरी छ । बढिरहेको महामारी र प्राकृतिक प्रकोपबाट बच्न र बचाउन पनि हामीले हाम्रो व्यवहार र आचरणमा सुधार गर्नु जरुरी छ ।  ऋषिमुनिहरुले तपस्या गरेको तपोभुमि, विभिन्न समयमा दिव्य आत्माहरूको अवतरण भएको पवित्र देवभुमि नेपाल र नेपालीले हाम्रा पुर्खाले देखाएको बाटो अवलम्बन गर्नु अपरिहार्य छ । विश्व सामु नेपाली र हाम्रो संस्कार, संस्कृति, असल आचरण, दिनचर्याको साथै कर्म व्यवहारलाई सुधार गर्दै प्राकृतिक, आध्यात्मिक शक्तिको संरक्षण संवर्द्धन गरी भरपुर उपयोग गरी सम्मानपूर्वक पहिचान बनाउन जरुरी छ ।


इलाम