शुक्लाफाँटा नगरपालिकाको बजेट ७१ करोड ४८ लाख

शुक्लाफाँटा नगरपालिकाको बजेट ७१ करोड ४८ लाख

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  असार ९, २०७८

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले आव २०७८/ ७९ का लागि  ७१ करोड ४८ लाख तीन हजारको अनुमानित बजेट निर्णयार्थ नगरसभामा पेश गरेको छ । नगर उपप्रमुख तुलसीदेवी हमाले नगरपालिकाको नवौँ नगरसभामा मङ्गलबार अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।

उहाँले आयतर्फ वित्तीय समानीकरण अनुदान  १४ करोड ९७ लाख, राजश्व बाँडफाँट अन्तःशुल्क, मूल्य अभिवृद्धिकर  १० करोड ४२ लाख ३० हजार, प्रदेश समानीकरण अनुदान रु एक करोड आठ लाख ७८ हजार, प्रदेश सरकारबाट प्राप्त राजश्व बाँडफाँट ४५ लाख ८४ हजार, क्षेत्रीय शहरी विकास कार्यक्रम रु एक करोड ९१ लाख, सामाजिक सुरक्षा अनुदान  १४ करोड र सङ्घ सरकारबाट प्राप्त सःशर्त अनुदान  २२ करोड रहेको जानकारी दिनुभयो ।

यसैगरी समपूरक अनुदान (सङ्घीय सरकार) रु ४२ लाख, विशेष अनुदान प्रदेश सरकार  ५४ लाख, गरिबसँग विश्वेश्वर कार्यक्रम पाँच लाख ४६ हजार, प्रदेश सरकार सःशर्त अनुदान  एक करोड २२ लाख २७ हजार, प्रदेश सरकार समपूरक अनुदान  एक करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदान  ५४ लाख, सडक बोर्ड ७२ लाख, आन्तरिक आय  दुई करोड १७ लाख ३८ हजार र सङ्घीय कोष मौज्दात  १० लाख गरी जम्मा  ७१ करोड ४८ लाख तीन हजार आम्दानी हुने अनुमान गरिएको छ ।

खर्चतर्फ नगरपालिकाको चालु र पूँजीगत खर्च जम्मा  ७१ करोड ४८ लाख तीन हजार व्यय हुने अनुमान गरिएको छ । आन्तरिक आय स्रोतलाई सुधारात्मक बनाउन करका दायराहरु फराकिलो गरी करका दरहरु संशोधन गरिएको नगर उपप्रमुख हमालले बताउनुभयो । उहाँका अनुसार आगामी वर्षका लागि सःशर्त अनुदानतर्फ कूल रु २२ करोड प्रस्ताव गरिएको छ । चालु आवको जेठ महिनासम्मको संशोधित बजेटअनुसार  ५४ करोड ४६ लाख ९५ हजार ४२९ मध्ये जेठ मसान्तको चालु खर्च  ३१ करोड ४० लाख ८६ हजार ७०० रहेको छ ।

सोही अवधिको पूँजीगत खर्च  दुई करोड ६४ लाख ५६ हजार रहेको छ । जम्मा खर्च  ३४ करोड पाँच लाख २५ हजार १६६ र बाँकी रकम  २० करोड ८१ लाख ७० हजार रहेको छ । बाँकी रकममध्ये असार मसान्तसम्म चालु खर्च सात करोड ५० लाख १७ हजार २६३ र पूँजीगत खर्च  १३ करोड ३१ लाख ५३ हजार गरी जम्मा खर्च २० करोड ८१ लाख ७० हजार हुने अनुमान गरिएको छ ।

नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख दिलबहादुर ऐरले कृषि तथा पशुपालन, पर्यटन, संस्कृति, सहकारी, वित्तीय क्षेत्र, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, खेलकूद, सामाजिक सुरक्षा, स्थानीय अदालत र सामुदायिक मेलमिलाप, जग्गा विकास नीति, रोजगारी, स्थानीय कर, सडक, सिँचाइलगायतलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको बताउनुभयो ।

भवन तथा शहरी विकास, सञ्चार, वैकल्पिक ऊर्जा, साना जलविद्युत्, वातावरण तथा विपद् व्यवस्थापन, जलवायु परिवर्तन, जलउत्पन्न प्रकोप नियन्त्रण, वारुणयन्त्र सञ्चालन, जलाधार र वन्यजन्तु संरक्षण, मानव संशाधन विकास, संस्थागत विकासलाई समेत उत्तिकै प्राथमिकतामा राखिएको उहाँको भनाइ थियो ।

यसैगरी सूचना तथा प्रविधि, नगरीय सुशासन, तथ्याङ्क सङ्कलन र वित्तीय व्यवस्थापन सुशासनलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नगरमा सञ्चालन भइरहेका योजनालाई बजेटमा निरन्तरता दिइएको छ । आर्थिक, सामाजिक, पूर्वाधार विकास, शैक्षिक सुधार, महिला, दलित, जनजाति, अपाङ्गता, बालबालिका, ज्येष्ठ नागरिक, धर्म संस्कृति पर्यटन प्रवद्र्धनलाई समेत बजेटमा समावेश गरिएको छ ।

नगरसभामा निर्णयार्थ प्रस्तुत गरिएको बजेट यही असार २२ गते छलफलपछि पारित गरिने नगरप्रमुख ऐरले जानकारी दिनुभयो । नगरसभामा प्रस्तुत गरिएका बाल संरक्षण नीति, २०७७ र आव २०७८र७९ को सेवा र कार्यका लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ सर्वसम्मतिले पारित भएका छन् ।

दशरथचन्द नगरपालिकाको बजेट ७२ करोड ६१ लाख

बैतडी– बैतडीको दशरथचन्द नगरपालिकाले अगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु ७२ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । मङ्गलबार बसेको नगरसभाले ७२ करोड ६१ लाख २२ हजार ३८ बराबरको बजेट सार्वजनिक गरेको छ ।

नगरसभामा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्दै  नगरउपप्रमुख मीना चन्दले आगामी आवमा कोरोना नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताउनुभयो । विदेशबाट फर्किएका नागरिकलाई रोजगारी दिने खालका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि भारतसँग सीमा जोडिएको झुलाघाट नाकाको हेल्थ डेस्कलाई व्यवस्थित बनाइने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीलाई सहुलियत बीमा र थप सुविधा दिई प्रोत्साहित गर्ने उल्लेख गरिएको छ ।

यसैगरी नगरउपप्रमुख मातृशिशु सुरक्षा योजनालाई निरन्तरता दिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । शिक्षा क्षेत्रमा विद्यालय ‘मर्ज’ कार्यक्रमलाई प्राथमिकता दिने, स्थानीय पाठ्यक्रम तयार पार्ने, कम्तीमा एक वडालाई बालमैत्री वडा घोषणा गर्ने कुरा नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

 नीति तथा कार्यक्रममा सबै नगरवासीका खानेपानीमा पहुँच पु¥याई सुरक्षित पानीयुक्त समुदाय घोषणा गर्ने व्यवस्था गरिएको छ । यसैगरी धार्मिक सम्पदाहरुको संरक्षण र प्रवद्र्धन गरिने तथा लक्षित समुदायका लागि विभिन्न खालका कार्यक्रम सञ्चालन गरिने छ ।

भौतिक पूर्वाधारतर्फ नगर सडक यातायात गुरुयोजना तयार पार्ने, विद्युत् नपुगेका वडाहरु विद्युतीकरण गर्ने, कृषि क्षेत्रको प्रवद्र्धन गर्न कृषि उपकरण तथा औजार खरिदमा अनुदान दिइने, कृषि तथा पशुपकेट क्षेत्रमा महिला किसानको सहभागिता बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

जिल्लाका अन्य स्थानीय तह पनि आगामी आवको  नीति, कार्यक्रम तथा बजेट ल्याउने तयारीमा जुटेका छन् । असार १० गतेभित्र नीति, कार्यक्रम ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार यहाँका स्थानीय तहहरु हाल त्यसको तयारीमा जुटेका हुन् ।