पासपोर्टमा तोकिएभन्दा बढी डलर बोक्न निषेध

पासपोर्टमा तोकिएभन्दा बढी डलर बोक्न निषेध

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०७६

काठमाडाैं । नेपाल राष्ट्र बैंकले पासपोर्टमा तोकिएभन्दा बढी विदेशी मुद्रा बोक्न निषेध गरेको छ । यसअघि राष्ट्र बैंकको अस्पष्ट सूचनाका आधारमा विदेशी मुद्राको तस्करी भइरहेको खुलेको थियो । विदेश भ्रमणमा जाँदा पाँच हजार अमेरिकी डलरबराबरको विदेशी मुद्रा बोक्न पाइन्छ । पासपोर्टमा एक हजार उल्लेख गरेर पाँच हजारसम्म लैजाने प्रचलन थियो । यही छिद्रको उपयोग गरी अवैध बजारबाट डलरलगायत विदेशी मुद्राको कारोबार र तस्करी हुने गरेको थियो । 

हालै राष्ट्र बैंकले नयाँ सूचना जारी गरी पासपोर्टमा उल्लेख गरिएको भन्दै धेरै विदेशी मुद्रा बोक्न निषेध गरेको छ । राष्ट्र बैंकको सूचनाअनुसार विमानस्थलमा प्रहरीले कडाइ सुरु गरेको छ । ‘पासपोर्टमा दरपिठ गरिएको भन्दा धेरै विदेशी मुद्रा बोक्नेलाई अब पक्रिन्छौँ,’ विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारी भने । विमानस्थलमै पसल चलाउँदै आएका व्यवसायी सुवास श्रेष्ठ गत महिना पासपोर्टमा उल्लेख गरेभन्दा धेरै विदेशी मुद्रासहित पक्राउ परेपछि राष्ट्र बैंकले नयाँ सूचना निकालेको हो । आजको नयाँ पत्रिका दैनिकले याे समाचार प्रकाशित गरेकाे छ ।