अकासे पुलमा भेटवालको रजाइँ : महानगरपालिकालाई वार्षिक साढे ४ करोड घाटा

अकासे पुलमा भेटवालको रजाइँ : महानगरपालिकालाई वार्षिक साढे ४ करोड घाटा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०७६

काठमाडाैं । खुलामञ्चमा अवैध सटर बनाउने जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सका सञ्चालक मनोज भेटवालले अकासे पुलबाट मात्रै काठमाडौं महानगरलाई वार्षिक साढे चार करोड रुपैयाँ घाटा लगाउने गरेको खुलेको छ । नयाँ बसपार्क र टुँडिखेलआसपासका अकासे पुलको लिज सम्झौतामा चलखेल गरी उनले १५ वर्षअघिदेखि रकम असुल्दै आएका छन् । महानगरपालिकाका अनुसार रकम असुल्ने धन्दामा मनोज भेटवालका दाइ भैरव भेटवाल पनि संलग्न छन् । 

टुँडिखेल, रत्नपार्क, जमल र नयाँबसपार्कको गेटसहित महानगरपालिकाभित्र नौवटा अकासे पुल छन् । तिनका दुई सय १० सटर र शौचालयबाट प्रतिमहिना न्यूनतम साढे ३८ लाख रुपैयाँ संकलन हुन्छ । यसबापत ठेकेदार कम्पनीले महानगरपालिकालाई प्रतिमहिना एक लाख ८३ हजार रुपैयाँ मात्रै रोयल्टी बुझाउँछ । बाँकी ३६ लाख ६५ हजार रुपैयाँ ठेकेदार कम्पनीले लिन्छ । जसबाट महानगरपालिकाले प्रत्येक वर्ष चार करोड ३८ लाख रुपैयाँ गुमाउँदै आएको छ ।

यसबाहेक, ठेकेदार कम्पनीले प्रत्येक अकासे पुलमा बहुराष्ट्रिय तथा स्थानीय कम्पनीको होर्डिङ बोर्ड लगाएको छ । यसबाट ठेकेदार कम्पनीले पुलका सटरबाट भन्दा बढी रकम संकलन गर्छ । तर, कर तिर्दा न्यून कमाइ भएको विवरण महानगरपालिकालाई पेस गर्छ । १५ वर्षयता ठेकेदार कम्पनीले अकासे पुल यसैगरी दोहन गरिरहेको महानगरपालिकाको दस्तावेजले देखाएको छ । महानगरपालिकासँगको सम्झौता यथावत् राखिए ठेकेदार कम्पनीले ०८५ सालसम्म यसरी नै पुल दोहन गर्नेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।