बोधिसत्व खोप

बोधिसत्व खोप

प्रकाश सिलवाल  |  साहित्य  |  असार १०, २०७८

कुनै जादुगरले
कागजका पानाहरूलाई
चपाई चपाई स्वाट्ट निलेर
ह्वालह्वाल्ती पानी निकाले झैँ
किन चटक हेर्न
विवश छन्
स्वयम्भूका आँखाहरू ?

घरी कर्ममौरीहरुलाई
डकैतीले झैँ घेर्न खोज्छ
घरी आफैँलाई 
जिउँदै जलाएको सपना देख्छ 
र आफ्नै मलामीको जुलुसलाई 
घन्टौँ कर्कश सम्बोधन गर्छ !

यो कस्तो सङ्क्रमण हो 
जसले,
लालीगुराँसको सुगन्धमा बाँचिरहेको
डाँफे चरीको
श्वासथैलीलाई 
चलमलाउन दिँदैन
प्राणवायु प्रवाह हुने
कोषिकापत्रलाई नै
कुनै समय नेपालको मानचित्रबाट
कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई 
अलप गराइए झैँ
क्षणभरमै अलप गराइदिनसक्छ
रक्तनलीभित्रको होमोग्लोबिन तत्वलाई
चैतमासको खहरे झैँ सुकाइदिएर
आनन्द लिन चाहन्छ  
अशान्ति र पृथकतावादका सूत्रधारहरुलाई
रानीमहलका जोडीले झैँ 
असीम प्रेमको आलिङ्गन सुम्पन छोड्दैन !

यतिबेला म 
आधुनिक धन्वन्तरी भएर
समृद्धिको धरहरालाई सम्झिएर
एउटा त्यस्तो मेसिन बनाउँदैछु
जसले तुरुन्तै पत्ता लगाउनेछ–
यो भयानक भाइरसका कारण र असरहरु 
प्रिय बुद्धभूमिविरुद्धका 
घातक कुण्ठा 
र तुच्छ स्वार्थका बीजहरु...

सुन !
म एउटा त्यस्तो ‘बोधिसत्व खोप’ बनाउँदैछु
जसले पहिलो मात्रामै
परास्त गर्नेछ–
सगरमाथा हाँस्दा रमाउन नसक्ने
विकृत स्नायुग्रन्थीका तमाम सङ्क्रमणहरु !

शिवपुरी गाउँपालिका–८, थानापति, नुवाकोट, हाल: काठमाडौँ
 

राष्ट्रिय कविता महोत्सव २०७८ को तृतीय कवित