सिंहदरबारकै जग्गा अतिक्रमण : किन मिचियो सिंहदरबार ?

सिंहदरबारकै जग्गा अतिक्रमण : किन मिचियो सिंहदरबार ?

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०७६

काठमाडाैं । सिंहदरबारको पूर्व अनामनगरतर्फ कुलो र गोरेटो मात्रै थियो । ०४७ मा सडक निर्माण योजना बन्यो । सडक बनाउँदा चल्तीको गोरेटोलाई केन्द्र मानेर दुवैतर्फ बराबरी जग्गा उपयोग गर्नुपर्नेमा शतप्रतिशत जमिन सिंहदरबारको मात्रै मिचियो । पर्खालभित्रबाट मात्र सडक निर्माण गर्दा सिंहदरबारको ४६ रोपनी ६ आना जग्गा अतिक्रमण भयो । पूर्वपट्टिको आफ्नो निजी जग्गा जोगाउन एकतर्फी रूपमा सिंहदरबारको जग्गा अतिक्रमण गरिएको ठहर गर्दै रामबहादुर रावल नेतृत्वको आयोगले जग्गा फिर्ता गराउन सिफारिस गरेको थियो । तर, ०५२ मा प्राप्त प्रतिवेदनउपर सरकार २४ वर्षसम्म मौन छ । 

०४७ सम्म घट्टेकुलोबाट हनुमानस्थान पुग्ने सानो कुलो थियो । कुलोको डिलैडिल पैदल बाटो थियो । त्यहाँबाट भित्रपट्टि सिंहदरबारको पर्खाल थियो । सिंहदरबारबाहिर व्यक्तिका खेत थिए । सिंहदरबार गुरुयोजनाअन्तर्गत पूर्वतर्फ सडक बनाउँदा कुलोको डिलको बाटोलाई केन्द्र बनाएर दायाँबायाँ बराबरी जग्गा उपयोग हुनुपथ्र्यो । तर, सिंहदरबारभित्रै उच्च तहमा रहेका कर्मचारीको जग्गा पर्ने भएपछि उनीहरूले गुरुयोजना नै उल्ट्याउन लगाएर सिंहदरबारको मात्र जग्गा मिचे र सडक बनाए । 

तत्कालीन गृह मन्त्रालयका सहसचिव पद्मराज सुवेदीको पनि अनामनगरमा सडकनजिकै जग्गा थियो । पछि उनले त्यही जग्गामा घर बनाए । अहिले बाजेको सेकुवासँगै पूर्वसचिव सीताराम खनालको घर छ । उनी त्यतिवेला मन्त्रिपरिषद् सचिवालयका सहसचिव थिए । नियमअनुसार आधा जग्गा सरकारको र आधा व्यक्तिको गरी सडक विस्तार भएको भए उनको जग्गा पनि काटिन्थ्यो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।