मध्यसहरमा टुकुचा खोला नै गायब : नारायणहिटीभित्र खोला छ बाहिर हरायो

मध्यसहरमा टुकुचा खोला नै गायब : नारायणहिटीभित्र खोला छ बाहिर हरायो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०७६

काठमाडाैं । काठमाडौंको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा (इच्छुमती) खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब भएको छ । काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापीनक्साबाटै गायब भएको छ । खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिका नाममा दर्ता गरिएको छ । जग्गामा ६ तलेभन्दा अग्ला भवन बनेका छन् । सबै व्यापारिक प्रयोजनमा प्रयोग भएका छन् । 

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त डा. भाइकाजी तिवारीले काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको पाँच सय मिटर लम्बाइको टुकुचा खोला नक्साबाटै गायब भएको बताए । उनले भने, ‘काठमाडौं महानगरपालिकाको अनुरोधमा हामीले टुकुचा खोलामा मिचिएको जग्गा खोजी गर्‍यौँ । स्थलगत अध्ययनमा पनि टोली गए । खोला बग्ने ठाउँमा पक्की घर बनेको पाइयो । हामीले नक्सा अध्ययन गर्‍यौँ । नापी कार्यालयलाई पत्र लेख्यौँ । नापीले त्यस क्षेत्रमा खोला नै गायब भएको जवाफ पठायो । हामी चकित परेका छौँ ।’

प्राधिकरणका अनुसार टुकुचा खोलाको चौडाइ विभिन्न ठाउँमा दुईदेखि १० मिटरसम्म कायम छ । तिवारीका अनुसार काठमाडौं प्लाजादेखि जय नेपाल हलसम्म सरदर कम्तीमा चार मिटर चौडाइ छ । यसलाई आधार मान्दा झन्डै १० रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । जय नेपाल हल क्षेत्रमा अहिले सरकारी दरमै प्रतिआना जग्गाको भाउ एक करोड पर्छ । यस आधारमा टुकुचाको एक अर्ब ६० करोड रुपैयाँबराबरको जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।