पत्रकारितामा पीएचडी गर्नेलाइ छात्रवृत्ति दिने

पत्रकारितामा पीएचडी गर्नेलाइ छात्रवृत्ति दिने

लोकसंवाद संवाददाता  |  लोकसंवाद  |  असार ११, २०७८

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले पत्रकारिता तथा आमसञ्चार विषयमा विद्यावारिधि (पीएचडी) अध्ययन गर्ने नगरवासी विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको नवौं नगरसभामा प्रस्तावित आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा पत्रकारिता तथा आमसञ्चार विषयमा पीएचडी अध्ययन गर्ने नगरवासीलाई विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने उल्लेख छ ।

पत्रकारिता तथा आमसञ्चार विषयमा पीएचडी अध्ययन गर्ने विद्यार्थीलाई आर्थिक वर्ष २०७८/०७९ देखि छात्रवृत्ति उपलब्ध गराउने हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताउनु भयो । हलेसी तुवाचुङ नगरपालिकाले स्थानीय तथा जिल्लाबाट प्रकाशित÷प्रसारित सञ्चारमाध्यमलाई सहज तरिकाले लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने नगरप्रमुख राईले प्रतिबद्धता जनाउनु भएको छ ।

 नगरको प्रस्तावित नीति तथा कार्यक्रमको ‘सञ्चार तथा सूचना प्रविधि’ शीर्षकमा हलेसी तुवाचुङ नगरपालिकाबाट प्रकाशन गरिने सूचना तथा विज्ञापन हलेसी तुवाचुङ नगरपालिका र जिल्लाभित्रकै विज्ञापन एजेन्सी वा पत्रकारलाई प्रकाशित गर्न दिने उल्लेख गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७८/०८९ का लागि ५८ करोड १६ लाख २८ हजार चार सय ५० रुपैयाँको बजेट असार १० गते सम्पन्न नवौं नगरसभाले सर्वसम्मत पारित गरेको हो ।