अण्डाको मूल्य घट्दा दैनिक दुई करोड घाटा

अण्डाको मूल्य घट्दा दैनिक दुई करोड घाटा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०७६

चितवन । रत्ननगर नगरपालिका–१२ का ५४ वर्षीय रघुनाथ भट्ट २० वर्षदेखि कुखुरापालन व्यवसायमा छन्। १० हजार कुखुरापालन गर्ने क्षमताका खोर भए पनि पछिल्लो एक वर्षदेखि उनले चल्ला राखेका छैनन्। यसअघि उनले खोर खाली राखेका थिएनन्। पछिल्लोपटक गरेको कुखुरापालनबाट भएको अण्डा उत्पादनको दर लागत मूल्यभन्दा कम पर्न थालेपछि खोर खाली राखेको उनी बताउँछन्।

‘दाना, औषधिको मूल्य बढेका छन्। रोगहरु बढी लागेका छन्,’ उनी भन्छन्, ‘अहिले पोल्ट्री बजार अत्यन्त कमजोर भएको छ, लागतअनुसार उत्पादन मूल्य पाइराखेका छैनन्।’ उत्पादनअनुसार लागत मूल्य पाउने वातावरण बने चल्ला राख्ने सोच रहेको उनी बताउँछन्। अहिले पनि अण्डाको मूल्य ज्यादै न्यून भएकाले लागतअनुसार मूल्य पाउने वातावरण बन्नेमा उनी ढुक्क हुन सकेका छैनन्। 

‘कुखुरापालन गर्दा सधैं तनाव भइराख्छ, तैपनि वातावरण सुध्रियो राख्नुपर्ला भनेको उस्तै नै छ,’ उनी भन्छन्, ‘नेपालमा आत्मनिर्भर बन्न लागेको यो व्यवसाय धरापमा छ। सुध्रिन्छ भन्ने गाह्रो अवस्थामा पुगेको छ।’ बजार सुध्रिएला र चल्ला राखुँला भन्ने रघुनाथ मात्र अहिलेको बजार अवस्थाले चिन्तित छैनन्, खोरमा कुखुरा भएका र अण्डा उत्पादन गरिरहेका किसानलाई पनि चिन्तित बनाएको छ। नेपाल अण्डा उत्पादक संघले वैशाख २ गते एक क्रेटको दुई सय रुपैयाँ मूल्य कायम गरेको छ। नागरिक दैनिकले याे समाचार प्रकाशित गरेको छ ।