'किन हटेनन् अझै बिभेदहरु ?'

'किन हटेनन् अझै बिभेदहरु ?'

मुकुन्द कृष्ण थापा  |  साहित्य  |  असार १२, २०७८

रगत पसिनाले सिंचीत माटोमा 
अङ्कुरित बिज हुर्काउँदै, 
पल्लवित लोकतन्त्रको वृक्षमा 
गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर
वीरताको अमर गाथा कोरेकाहरु,
परिबर्तनको प्रतिफलबाट बन्चित भएर
बाँचिरहेछन् ,                 
गुमनाम जिन्दगी !
जीवनोपयोगी शिक्षाबाट ठगिएर
व्यापारिकरणको नङ्ग्राले चिथोरिएर 
ठालुहरुको होच्याइबाट थलिएर
थिलथिलो भएका पाठशालाहरुले
जन्माइरहेछन् ,
बेरोजगार बहादुर र कान्छाहरु ।
पुर्णीमालाई लखेटेर 
औँसीले साम्राज्य गरिरहेको आधा आकाशमा
झलमलाई रहेछन् ,
पितृसत्तात्मक सोचका ताराहरु ।
असमानताको कालोपत्रे बिछ्याउँदै
एउटै पाङ्ग्राले रथ हाँकिरहेछन् ,
एक्काइसौँ शताब्दीका अर्जुनहरु ।

पहिचान लुकाउनेहरुको विवशता देखेर,
सिर निहुराउँदै मानवता झोक्राइरहेछ ।
आफैँले सजाएका मन्दिर महलहरु हेर्दै,
छुवाछूतले फाटेका मन सिलाउने मेसिन
आविष्कार नहुनुका कारणहरु,
खोजिरहेछन् आरनहरु ।
सङ्कीर्णताको माला भिरेर
अहङ्कारको टीका लगाएर
ठूलो हुने होडबाजीको मृगतृष्णामा दौडिँदै
शीतयुद्धमा भाग लिइरहेछन् ,
धर्मका अनुयायीहरु ।
हुरी बतास र बर्षादसँग
आत्मासमर्पण गरिरहेछन् ,
चिसो चुल्हो बोकेका श्रमजीवीका वासस्थानहरु ।
वर्गीय उत्पीडनका खाडलहरु गहिर्‍याउँदै
बगिरहेछन् निरन्तर, 
भोकको आगोलाई निभाउन नसकेका
अभावलाई बगाउन नसकेका
पसिनाका नदिहरु ।

सुशासनको रटानले तिर्खाएर
धारा उपधाराहरुले
प्यास मेटेकाहरु सामुन्ने
ठडिरहेछन् प्रश्नका सगरमाथाहरु
आखिर, 
किन हटेनन् अझै बिभेदहरु ???

    खोटाङ