अच्युत घिमिरे ‘बुलबुल’ : रेडियो कार्यक्रमले जन्माएको ‘सेलिब्रेटी’

अच्युत घिमिरे ‘बुलबुल’ : रेडियो कार्यक्रमले जन्माएको ‘सेलिब्रेटी’

आशिष पौडेल  |  अन्तर्मन्थन  |  असार १२, २०७८

पेसा र विधा आफैँमा केही होइन । यति हुँदाहुँदै पनि समाजले पेसा र विधाप्रति आफ्नै मानक खडा गरेको छ । तर, समाजको आँखामा परेको मानक भन्दा बाहिर गएर स्थापित मध्येको एक नाम हो,  अच्युत घिमिरे । 

आफ्नो स्वरको माधुर्य अनि त्यसबेला चलेका रेडियो कार्यक्रमहरू मध्ये एक फरक कार्यक्रमका कारण उहाँ चर्चित हुनु भएको हो ।  हुन त रेडियो नेपालले मात्र आधिपत्य जमाएको बेलामा थुप्रै ‘सेलिब्रेटी’ र ‘रोल मोडल’हरू जन्मिए । तर, खुला समाजमा आइसकेपछि र बिस्तारै एफएम रेडियोका माध्यमबाट रेडियो आम हुँदै गरेको अवस्थामा जन्मिएका एक रेडियो ‘सेलिब्रेटी’ हुनुहुन्छ घिमिरे । 

एउटा सामान्य परिवारमा जन्मिएको आम मानिस आफ्नो लगन, मेहनत, पेसाप्रतिको इमानदारी र निरन्तरताका कारण कसरी सफल र स्थापित हुन पुग्यो भन्ने रोचक र प्रेरणादायी कथा हो यो आलेख । 

पारिवारिक अवस्था

उहाँको परिवार मूलतः कृषक नै हो । त्यसमाथि पनि काठमाडौँ उपत्यकाको काँठ समुदाय । अनि काँठ समुदायको स्थानीय भएका नाताले पनि दुई चार रोपनी जग्गा नहुने भन्ने कमै मात्रै हुने गर्छन । तर, आय आर्जनका लागि भने कृषि उहाँको बुवाको लागि पर्याप्त रहेन । र, उहाँको बुवाले फर्निचरको काम गर्नुभयो । अर्थात्, सिकर्मी । 

मान्छे आफू स्थापित भइसकेपछि आफ्ना परिवारका बारेमा बोल्दा दुई पटक सोच्ने गर्छन् । तर, उहाँले भने विना हिचकिचाहट बुवा सिकर्मी भएको तथा आफ्नै फर्निचर पसल सहित काम गर्ने भएको बताउन कुनै सङ्कोच मान्नु भएन । 

उहाँको बुवा फर्निचरका भारतीय कालिगढसँगै मिलेर काम गर्नुहुन्थ्यो । यो भने उहाँको नगद आम्दानीको श्रोत थियो । जसले घरका नून, तेल तथा केटाकेटीको पढाइ साथै अन्य भई परिआउने कामका लागि समेत टेवा पुग्थ्यो । 

जन्म र बाल्यकाल

उहाँको जन्म २०३४ सालमा भएको हो । काठमाडौँको जोरपाटीमा । जोरपाटी गाउँ थियो उहाँका लागि र, अहिले पनि भन्नुपर्दा उहाँहरू गाउँ नै भन्नुहुन्छ । तर, अहिले भने सहर भएको छ जोरपाटी । साथै अहिले काठमाडौँमा गाउँ भन्दा आफूमा एक प्रकारको हीनता बोध महसुस गर्ने पनि छन् । तर, उहाँ भने ढुक्कैले भन्नुहुन्छ, म गाउँमै जन्मेको ।

अहिले उपत्यकामा औँलामा मात्र गन्न सकिने गरीका गाउँ छन् । प्रायजसो नगरपालिका भएका छन् । उहाँको गाउँ पनि गोकर्णेश्वर नगरपालिका भएको छ । हालको जोरपाटी हेरेर यसो भनिरहँदा मान्छेलाई पत्याउन गाह्रै होला । तर, यथार्थ यही हो । त्यस बेलाको जोरपाटी सुनसान, चकमन्न जस्तै थियो । फाट्टफुट्ट गाडी चल्थ्यो । बाटोमा गहुँ हाल्ने काँठको आम प्रचलन हो । त्यसमा जोरपाटी पनि अछुत थिएन । 

बाउसे, टाउचे, खनजोत, गोडमेल लगायतका खेतबारीका काम उहाँले गरेकै हो । भन्नुपर्दा परम्परागत कृषि कर्म उहाँको तीस वर्षको उमेरसम्म जारी नै रह्यो । मिडियामा जोडिएपछि भने उहाँको यो क्रममा अवरोध आएको छ । 

प्रकाशन गृह भनेको  एउटा विशुद्ध व्यवसाय समेत हो । व्यवसायमा व्यवसायीक हुन जान्नु पर्छ त्यो गुण भने उहाँमा नरहेको बताउनु हुन्छ । व्यवसायीक हुन खोज्दा एउटा असल रेडियोकर्मी मर्‍यो भन्ने आक्षेप आउला भन्ने कुरामा पनि उहाँ एकदमै सचेत देखिनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, मध्यम खालको परिवारबाट आएको हुनाले चढ्न, सड्न पाइएन । सानोमा पनि केटाकेटीले गर्ने फलफूल चोर्ने, चुरोटका बट्टाका कित्ता खेल्ने अनि गुच्चा खेल्ने, पैसा चोर्ने जस्ता कुरा भएनन् उहाँबाट । यसको कारण भने खासमा पैसा पनि नहुने र नैतिक रुपमा अलि अनुशासित र कठोर परिवार भएको हुनाले यस्ता कर्म दूर नै रहे । त्यसमाथि त्यसबेला पैसाको अभाव मध्यम वर्गीय परिवारको आम समस्या हो । पैसा नभएको हुनाले बिग्रने ‘सुनौलो अवसर’ पनि प्राप्त गर्नु भएन उहाँले । 

कहिले काहीँ टाकटुक फुटबल, भलिबल खेल्ने कुरो बेग्लै हो । तर, बाह्य खेलकुदमा उहाँको खासै रुचि नभएका कारण ती त्यति प्रिय पनि रहेनन् । उहाँ बुद्धिचाल भने राम्रै खेल्नुहुन्थ्यो । 

प्रारम्भिक तथा उच्च शिक्षा

उहाँ बोर्डिङ पढेको । एसकेजीसम्म उहाँको पढाइ सरस्वती स्कुलमा भयो । त्यसपछि भने उहाँ मनकामना स्कुल जानुभयो । मनकामना पछि भने चामुण्डा स्कुल । जहाँबाट उहाँले स्कुले शिक्षाको बिट मार्ने काम गर्नुभयो । 

मनकामना स्कुलको कुरा गर्नुपर्दा अलि दुःख नै थियो, उहाँ भन्नुहुन्छ । झ्यालहरू मान्द्राले बारेका थिए । शौचालय थिएन । शौचालय जान तल खहरेमा जानु पर्थ्यो । जुन गोकर्णको जङ्गलबाट बगेर आउँथ्यो । लामा छोटा सबै शौच कार्य त्यतै सम्पन्न हुन्थे । 

स्कुल पुरै छाप्रो पनि थिएन अनि पक्की संरचना भन्न पनि नमिल्ने । सानोमा सुकुलमै बसेर पढ्नु भएको हो उहाँले । स्कुलको तला ढलान नभएको हुनाले माथिल्लो तलामा कोही हिँड्दा तल्लो तलामा वाधा पुग्थ्यो । अहिले भने स्कुल वैभवशाली भएको छ, उहाँ भन्नुहुन्छ । 

एक पटक शुक्रवार हुनुपर्छ उहाँ पौडी खेल्न खोलामा जानु भएको थियो । उहाँलाई पौडी खेल्न राम्रो नआउने, त्यो क्रम अहिले पनि जारी छ । उहाँ खोलामा डुब्नु भयो । उहाँको सोमनाथ भन्ने साथीले उहाँलाई खोलाबाट उद्धार गर्‍यो र बाहिर ल्याएर पानी छदाउने काम भयो । त्यसबेला देखि उहाँलाई पौडी भनेपछि अलि डर लाग्छ । 

मनकामना स्कुलको कुरा गर्दा सामान्यतया त्यसबेला कक्षामा पच्चीस/तीस जना हुन्थे । छात्राहरू भने पाँच/छ जना । उहाँ प्राय सेकेन्ड लास्ट बेन्चमा बस्नुहुन्थ्यो । तर, रोटेशनमा भने कहिले काहीँ फस्ट बेन्च पनि पर्थ्यो । 

उहाँ चामुण्डा स्कुलको भने फर्स्ट ब्वाइ । अनि उहाँको बसाइ पनि फस्ट, सेकेन्ड बेन्चमा नै हुन्थ्यो । चामुण्डा स्कुलबाट नै उहाँले स्कुले शिक्षाको बिट मार्ने काम गर्नुभयो । अर्थात् नौ र दश कक्षासम्म अध्ययन गरेर ‘फलामे ढोका’ पार गरेर उहाँले त्यस स्कुलबाट बिदा लिनु भएको हो । 

तर, उहाँलाई स्कुलले सजिलै बिदा दिएन । कारण थियो उहाँ त्यस स्कुलको फर्स्ट ब्वाई अनि अरूलाई बुझाउन सक्ने उहाँको खुबी । उहाँको खुबीलाई सरहरूले राम्रै चिनेका थिए । 

त्यसमाथि जयन्ती म्यामलाई उहाँको गतिलो विद्यार्थी बिग्रेला भन्ने चिन्ता थियो । त्यसैले एसएलसी सकिने बित्तिकै भोलिदेखि आएर यहाँ पढा, भनेर उहाँलाई एउटा जिम्मेवारी सुम्पनु भयो पढाउने, त्यो पनि दश कक्षाकै विद्यार्थीलाई । करिब एक वर्ष पढाउनु पनि भयो उहाँले । 

अतिरिक्त क्रियाकलाप भने सधैँ उहाँका प्रिय विषय रहे । वादविवाद, वक्तृत्वकला, हाजिरी जवाफ प्रतियोगितामा पनि उहाँ प्रथम नै हुनुभयो । संयोग नै होला, उहाँको टिम नै फुटबलमा पनि प्रथम भयो । 

जिल्ला स्तरीय प्रतियोगितामा पनि यो क्रम चलिरह्यो । त्यसैले पनि त्यसबेलाको स्कुले सम्झना उहाँलाई मिठो लाग्छ । त्यस बेलाका प्रमाणपत्र अहिले पनि सुरक्षित रहेको बताउनुहुन्छ उहाँ । 

चिट कहिल्यै चोर्नु भएन उहाँले । त्यो आवश्यकता पनि परेन । र, नम्बर अथवा प्रमाणपत्रप्रति खासै मोह पनि रहेन उहाँको । त्यसैले अहिले पनि उहाँका प्रमाणपत्र घरमा कतै छन्, वा छैनन् पनि उहाँलाई हेक्का छैन । 

उहाँले घरमा ट्युसन समेत पढाउनु भयो । करिब एक हजार जना जतिलाई । चार/पाँच वर्ष । त्यो पनि फि नै लिएर । स्कुलमा भने उहाँले खाजा खर्च मात्र लिएर पढाउनु भएको थियो । 

उहाँको जीवनको पहिलो कमाइ भनेको ट्युसनबाट प्राप्त एक सय रुपैयाँ हो । जुन पैसाले उहाँले डिल्लीबजार आएर पारिजातको किताब किनेर लैजानु भएको थियो । उहाँले २०५१ सालमा एसएलसी दिनु भएको हो । उहाँको फर्स्ट डिभिजन आयो । त्यसपछि उहाँ त्रिचन्द्र कलेजमा पढ्न जानु भयो । 

उहाँले दुई वर्ष आइएस्सी पढ्नु भयो । समानान्तर रुपमा प्राइभेटमा आइए पनि । स्नातक भने दर्शनशास्त्र र अङ्ग्रेजीमा । र, पढाइका अन्य सबै तहको समापन पनि उहाँले त्रिचन्द्रबाट नै गर्नु भएको हो । 

रेडियोको प्रसङ्ग

उहाँको रुचि साहित्यमा त थियो नै । तर, रेडियोकर्मी हुन्छु नै भन्ने चाहिँ थिएन । शायद पढाउने क्रममा बोलीबाट विद्यार्थी प्रभावित भएकाले होला सरले एफएममा बोल्दा राम्रो हुन्छ भन्ने एक जना विद्यार्थीलाई लागेको रहेछ । 

तर, उहाँ भने अलि लजालु स्वभावको । एफएममा बोल्न सकिएला र ? भन्ने एक किसिमको सङ्कोच थियो । अनि आत्मविश्वास पनि थिएन । शायद त्यसभन्दा अघि एफएम अन्तर्गतका केही कसैसँग उहाँको दूरको नाता नभएको हुनाले पनि होला । 

तर, विद्यार्थीको जिदको अगाडि उहाँको केही जोड चलेन । एफएमले विज्ञापन गरेको रहेछ । विद्यार्थीले नै फर्म लिएर आयो । उहाँले भरेर बुझाउनु भयो । नाम निस्कियो । अनि एक जना विदेशी इटालियन क्लाउडी रकको नेतृत्वमा रहेर काम सुरु गर्नुभयो । रेडियो थियो एचबिसी (एफएम) । यो २०५६ सालको कुरा हो ।

त्यस बेलासम्म परम्परागत कार्यक्रमकै ढर्रा चलेको थियो । उहाँलाई पनि त्यस्तै गर्ने हो भन्ने लाग्थ्यो । तर, एचबिसीको दर्शन भने केही फरक थियो । सुमधुर सङ्गीतमा र अध्यात्ममा पनि केही फरक गर्ने भन्ने सोच रहेछ एचबिसीको । 

इन्फोटेनमेण्ट रेडियोको रुपमा विकास हुँदै गरेको थियो एचबिसी । त्यसले गर्दा उहाँलाई परम्परागत धार भन्दा केही फरक हुन मद्दत गर्‍यो । र, सोसियो कर्मशियल ब्रोडकास्टरको रुपमा उहाँले काम गर्न पाउनु भयो । उहाँ छिट्टै नै व्यवस्थापनमा पनि सहभागी हुनुभयो । जसका कारण उहाँको भूमिका उत्पादक तथा प्रसारकका रुपमा समेत हुन पुग्यो । 

हाल उहाँ संलग्न उज्यालो रेडियो नेटवर्कमा पनि उहाँको भूमिका यस्तै सोसियो कर्मशियल ब्रोडकास्टरको रुपमा नै रहेको छ । 

श्रुति संवेग 

रेडियोमा उहाँको पहिलो कार्यक्रम थियो श्रुति संवेग । जसको निरन्तरता आजसम्म पनि छ । जुन अहिले पनि असी भन्दा धेरै रेडियोबाट बज्ने गरेको छ । केही फरक धार बोकेको रेडियो अनि केही फरक कार्यक्रम गर्नुपर्छ भन्ने क्लाउडी रकको घचघच्याइले सुरु भएको हो श्रुति संवेग । 

एक समयमा उहाँलाई एक जना साथीले तेरो वाचन गर्ने शैली र ‘फिल’ गज्जबको छ भनेर बेलाबेलामा उसको कविता वाचन गर्न लगाउँथ्यो । अनि जब अन्य सबै परम्परागत कार्यक्रमका अव धारणाहरुलाई क्लाउडीले फेल गरे तब उहाँलाई लाग्यो कतै किताब वाचनको कार्यक्रम पो बनाउनु पर्छ कि के हो ! त्यसपछि उहाँले कथा वाचनको प्रस्ताव लिएर जानुभयो । 

क्लाउडीलाइ ‘सिग्नेचर ट्युन’ भन्दा पनि मान्छेको बोलीसँगै ‘ब्याकग्राउण्ड म्युजिक’ बजोस् भन्ने लाग्थ्यो । एकातिर बोली र अर्कोतिर ‘म्युजिक’ नभएर सँगै होस भन्ने उसको चाहना थियो । श्रुति संवेगले त्यसको ‘फलो’ गरेको छ ।

उहाँको पहिलो वाचन थियो, गुरु प्रसाद मैनालीको कथा चिताको ज्वाला । किशोर मानसिकतामा विपरीत लिङ्गीप्रतिको प्रेम त्यो कथाले बोलेको छ । र, उक्त कथाले उहाँलाई छोएका कारण सो कथा त्यसबेला उहाँको छनौटमा परेको थियो । 

उहाँलाई लाग्यो, आफूलाई छोएको कुरा बढी भावुकताका साथ प्रस्तुत गर्न सकिन्छ र कथा पनि कारुणिक भएका कारण उक्त कथा उहाँको छनौटमा पर्‍यो । दोस्रो वाचनको कार्यक्रम त्यति हेक्का नरहे पनि पछि भने भैरव अर्यालको जयभूँडी पढेको उहाँलाई सम्झना छ । त्यसपछि उहाँले एक भागमा सकिने छोटा कथाहरू वाचन गर्न सुरु गर्नुभयो । त्यसपछि दौलत विक्रम विष्टको ‘म र चिठी’, माया ठकुरीको ‘मृगतृष्णा’ आदि उहाँले पढ्नु भयो । 

त्यसभन्दा अगाडि उहाँको समय पर्गेल्ने अनुभव थिएन । र, कथा पढ्दै जाँदा एक भाग भन्दा बढी हुन गएछ शायद । त्यसपछि उहाँलाई लाग्यो कथा त शृङ्खलामा पनि वाचन गर्न सकिँदो रहेछ । त्यसले एक प्रकारको अनुभव र आत्मविश्वास दुवै दिलायो । 

अनि अट्ठाइसौँ भागमा आएर उहाँलाई शोभा भट्टराईको उपन्यास ‘अन्त्यहीन अन्त्य’ पढेजस्तो लाग्छ । त्यसले उहाँलाई चर्चाको शिखरमा पुर्‍यायो । त्यसपछि उहाँलाई आजसम्म पछाडि फर्केर हेर्नु परेको छैन । 

‘बुलबुल’को शुरुवात

उहाँले २०५८ सालमा ‘बुलबुल’ कार्यक्रमको शुरुवात गर्नु भएको हो । उहाँलाई त्यस बेलासम्म गजलको ‘ग’ को पनि ज्ञात थिएन । अनि रेडियोमा गजल कार्यक्रम हुन्छन् भन्ने पनि थाहा थिएन । 

संयोग कस्तो पर्‍यो भने एक दिन स्टेसन मेनेजर प्रकाश थापाले गजलको एउटा कार्यक्रम गर्नुपर्‍यो अच्युतजी भनेर भन्नुभयो उहाँलाई । तर, उहाँले हिन्दी गीत सुनेका भरमा कहाँ हुन्छ सक्दिन दाइ भनेर भन्दा नभन्दै मेनेजर सापले उहाँलाई किन नसक्नु भनेर पेल्दिनु भयो । अनि बाध्यता आइलाग्यो उहाँलाई ‘बुलबुल’ सुरु गर्ने । 

‘बुलबुल’को न्वारन भने मित्र रुपेश सिलवालले गरेका हुन् । नाम युनिक हुनुपर्छ भन्ने शर्तमा । बुलबुलको अर्थ खोज्दै र व्याख्या गर्दै दुईचार वटा कार्यक्रम गर्न भ्याउनु भयो उहाँले । 

खासमा ‘बुलबुल’ एउटा सुन्दर इरानी चरो हो । साथै यसको अर्को प्रसङ्ग पनि छ, इरान र पर्सियाको युद्ध भइसकेपछि फारसी संस्कृति इरानमा विलय भयो । विलयपछि एक आपसका शब्द र संस्कृति पनि साटफेर भए । एक आपसमा समाहित भए । अनि इरानमा ‘बुलबुल’ भन्ने शब्द त्यसबेला गजलको बिम्बको रुपमा प्रयोग हुने रहेछ । यसैबाट उहाँको कार्यक्रमको नाम ‘बुलबुल’ जुरेको हो । 

गजलको खासै अर्थ नबुझ्दा उहाँले गजलका नाममा हिन्दी गीत पनि बजाउनु भयो । तर, पछि कार्यक्रम मार्फत चिनेका गजल बुझेका साथीहरू भेट्न आए । उनीहरूले तपाईँले पढेको गजल होइन । गजल यस्तो हुन्छ भनेर बुझाए । रदिफ, काफिया, मतला अनि शेरका बारेमा पनि जानकारी दिए । त्यसपछि ‘बुलबुल’ गजलको पायोनियर नै बन्यो । 

गजलको सन्दर्भ उल्लेख गर्दा उर्दु तथा हिन्दी गजललाई मानकको रुपमा लिइने गरिन्छ । तर, रदिफ र काफिया नमिले पनि वाह वाह भन्दै ताली बजाउने हामी भने यहाँ गजलको सन्दर्भमा यसो भएन र उसो भएन भनेर आपसमा लडेको देख्दा भने उहाँको मन अमिलो हुने गर्छ । 

एक पटक यस्ता दुई पक्षको सामाजिक सञ्जालमा भएको झगडाले वितृष्णा भएर यो नै ‘बुलबुल’को अन्तिम कार्यक्रम हो कि भन्ने पनि उहाँको मनमा नआएको होइन । तर, उहाँले आफ्नो धैर्यलाई कायम राख्दै यसलाई निरन्तरता दिइरहनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘निरपेक्ष रहेर राम्रा लाई राम्रा भन्नुपर्छ ।’

उहाँले २०७३ सालमा अर्को ‘बुलबुल’को प्रारम्भ गर्नुभयो । तर, त्यो भने गजल नभएर प्रकाशन गृह थियो । किताबसँग खेल्ने र बस उठ गर्ने भएका नाताले लेखकहरूले राम्रा प्रकाशन गृहका नाम सुझाउन उहाँलाई आग्रह गर्थे । 

उहाँले सिफारिस गरिदिनु हुन्थ्यो । तर, साथीहरूले ठगिएको गुनासो लिएर फेरि उहाँकोमा नै आउँथे । त्यसो भए एउटा प्रकाशन गृहको काम किन नगर्ने त भनेर एउटा इमानदार सोचका साथ यसको प्रारम्भ गरेको बताउनुहुन्छ उहाँ । 

तर, प्रकाशन गृह भनेको  एउटा विशुद्ध व्यवसाय समेत हो । व्यवसायमा व्यवसायीक हुन जान्नु पर्छ त्यो गुण भने उहाँमा नरहेको बताउनु हुन्छ । व्यवसायीक हुन खोज्दा एउटा असल रेडियोकर्मी मर्‍यो भन्ने आक्षेप आउला भन्ने कुरामा पनि उहाँ एकदमै सचेत देखिनुहुन्छ । 

प्रकाशन गृहको पछिल्लो नाफाखोरी प्रवृत्तिका बारे बुलबुल मार्फत अक्षरको व्यापार गरेर बोरामा धन कुम्ल्याउन लागेको भन्ने आक्षेपका सम्बन्धमा पनि उहाँको आफ्नै दृष्टान्त छ । 

यति भनिरहँदा उहाँ आडम्बरी र अहङ्कारी नदेखियोस् अनि नसुनियोस् भन्ने कुरामा पनि सचेत हुनुहुन्छ र उहाँको आचरण, चरित्र र जीवनशैलीले पनि यसको सत्य तथ्य उजागर गर्छ । सँगसँगै उहाँले आफू बाँचेको आफ्नो परिवेश र वास्तविकता पनि उजागर गर्नुभयो । 

कुनै जमानाको काँठको जोरपाटी अहिले सहर भएको छ । धान, मकै फल्ने खेतमा अहिले आनाको पचासौँ लाख र करोडका बाला झुलेका छन् । अनि रोपनीमा बनेको भव्य बिल्डींग, अहिले पनि आफ्नै खेतमा झुलेको धानको भात र रेडियोको शानदार कमाइले गाडी चढ्न पुगेकै छ उहाँलाई । 

हजुरबाले जोडेको माटोले नातीपुस्ता सम्मलाई केही नगरे पनि खान दुःख हुनेवाला छैन । यसको अर्थ निष्क्रिय रहेर लम्पट हुने कदापि होइन, भने के का लागि थप कमाउने र कमाएर के गर्ने उहाँको प्रतिप्रश्न छ । 

अथाह पैसा भएपछि र पैसाका पछि लागिसकेपछि त्यसका ‘बाइप्रोडक्ट’ का रुपमा देखिने अहङ्कार, आडम्बर र विध्वंसका बाछिटा पनि राम्रै देखेकाले र सरल व्यक्तित्व भएकाले पनि पैसा कमाउन प्रकाशन गृह खोलेको भन्ने आरोपका बारेमा थप प्रस्ट्याउन समेत उहाँले आवश्यक देख्नु भएन । 

उहाँको जीवन उधिनी सकेपछि यति भन्न सकिन्छ, कामले नाम दिन्छ, अनि दाम पनि । तर, निरन्तरता र स्तरको ग्राफ भने उँभो चढ्नु पर्छ । उँभो लागि सकेपछि कसलाई पो उँधो झर्नु मन पर्छ र ! अनि जन्मन्छ एउटा अच्युत घिमिरे । तब जन्मन्छ ‘बुलबुल’ ।