वीर अस्पतालमा खरिद अनियमितता : १ पैसामै १७ उपकरण

वीर अस्पतालमा खरिद अनियमितता : १ पैसामै १७ उपकरण

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०७६

काठमाडौं । एक पैसामा पनि सामान किन्न पाइन्छ ? पत्याउनै नसकिने गरी वीर अस्पतालमा अक्सिजन सिलिन्डर ट्रली, हि्वलचेयर, बिरामी सुताएर गुडाउन मिल्ने ट्रलीलगायत स्वास्थ्य उपकरण १ पैसाको दरमा खरिद गरिरहेको छ । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाईले हजारौं पर्ने स्वास्थ्य उपकरण १ पैसामा खरिद गरिरहेको हो । स्वास्थ्य क्षेत्रका संवेदनशील उपकरण १ पैसामा खरिद हुनुले अस्पतालको स्वास्थ्य सेवाको गुणस्तरमै शंका उब्जिएको छ ।

पछिल्लो पटक अस्पतालले बुधबार श्री श्रेष्ठ साइन्टिफिक टे्रडस -सप्लायर्स र्फम) को टेन्डर स्वीकृत गर्‍यो । निवेदन दिने चार र्फममध्ये सबभन्दा सस्तो मूल्यमा सामान दिने कबोलेकाले श्री श्रेष्ठको टेन्डर स्वीकृत भएको हो । अरूले १० हजारसम्म तोकेका उपकरण यो र्फमले एक पैसामा दिने भएको छ । भण्डारी सर्जिकल हाउसले ५ हजार ८ सय रुपैयाँ तोकेको अक्सिजन सिलिन्डर ट्रली श्रेष्ठले एक पैसामा दिने भएको छ । बजारमा यो उपकरणलाई ३ हजार रुपैयाँसम्म पर्छ ।

गुणस्तरीय हि्वलचियरको बजार मूल्य अहिले ८ देखि १० हजारसम्म छ । प्रतिस्पर्धामा उत्रेका अन्य र्फमले यो सामानको भाउ यही हाराहारी तोकेका छन् । श्री श्रेष्ठले भने १ पैसामै अस्पताललाई दिन तयार भएको छ । १० हजार बजार मूल्यको औषधि बोक्ने ट्रली पनि एक पैसामा खरिद गरिँदै छ । लगभग ५ हजार पर्ने एक्सरे हेर्ने उपकरण (एक्सरे भीयू बक्स), ६ हजारसम्म पर्ने बिरामी सुताएर गुडाउन मिल्ने ट्रली पनि एक पैसामा श्री श्रेष्ठले दिँदै छ । अस्पतालले १७ वटा स्वास्थ्य उपकरण एक पैसाका दरले खरिद गरेको हो । श्री श्रेष्ठको २० लाख १३ हजार २ सय रुपैयाँको टेन्डर स्वीकृत भएको हो । यो समाचार आजको कान्‍तिपुर दैनिकले प्रकाशित गरेको छ ।