दसैँको तरोताजा : गोठालाबाट भाग्य अजमाउन नेपाल भागेका कोइरालाका दुइ सन्तान प्रधानमन्त्री !

फर्केलान् र ती दिनहरू

दसैँको तरोताजा : गोठालाबाट भाग्य अजमाउन नेपाल भागेका कोइरालाका दुइ सन्तान प्रधानमन्त्री !

हरिविनोद अधिकारी  |  साहित्य  |  असार १२, २०७८

अतीतमा पुग्दा लाग्छ, म त्यही बेलामा छु र पहिलेका ती सम्पूर्ण पुराना यादहरू तरोताजा भएर आउँछन् । बा हुनुहुन्थ्यो, आमा हुनुहुन्थ्यो, घरमा हजुरआमा हुनुहुन्थ्यो, बाँकी जेठी फुपू जसलाई हामी ठुल्दिदी भन्थ्यौँ । उहाँ बाथले कुँजिनु भएको थियो र उमेर पनि हामीले थाहा पाउँदै करिब ८० वर्षकी हुनुहुन्थ्यो । उहाँको आदेश नमान्ने हिम्मत घरमा कसैको थिएन तर हजुरआमाले भने किन कराएको भनेर चुप लगाउनु हुन्थ्यो । हजुरआमाको माइती दुम्जाका सम्मानित कोइराला परिबार थिए ।  उहाँका कुनै सन्तान थिएनन् तर हामीले थाहा पाउँदा उहाँ नै हाम्रो हजुरआमा हो । भन्थे देखिजान्ने र सुनी जान्नेहरू कि आफ्नी आमालाई बाहरुले अर्की आमा भन्नुहुन्थ्यो रे ! र दुम्जाकी हजुरआमालाई आमा । साँच्चै नै मायाकी खानी हुनुहुन्थ्यो । 

एउटा अचम्भ भएको थियो, २०२३ सालदेखि करिब अढाई वर्षसम्म बाले अठार पुराण लगाउनु हुँदा उहाँ एक दिन पनि अनुपस्थित हुनु भएन र करिब ८० वर्षकी हजुरआमालाई ती दिनहरूमा टाउको पनि दुखेन । सधैँ पुराण सुन्ने श्रोतामा बा, आमा, हजुरआमा, माइली दिदी ( बाहरूकी अन्तरे बाजेकी छोरी, बाहरूकी माइली फुपू , माइला पोखरेल बाजेलाई दिएकाले पनि र दिदी बहिनीमा माइली भएकीले पनि होला, उहाँलाई बारुले माइली दिदी भन्नुहुन्थ्यो, हामी दोस्रो तथा तेस्रो पुस्ताले पनि उहाँलाई माहिली वा माइली दिदी नै भन्थ्यौँ ) हुनुहुँदो रहेछ । 

माहिली दिदीको प्रसङ्ग  आयो, हामी अधिकारीका सन्तानलाई अत्यन्त माया गर्नुहुन्थ्यो । हामीलाई लागेको थियो, दिदीले मलाई मात्र बढी माया गर्नुहुन्छ । हामीलाई मात्र बढी माया गर्नुहुन्छ । तर त्यस्तो होइन रहेछ, दिदीले हामी सबैलाई त्यत्तिकै बढी माया गर्नु हुँदो रहेछ । अलि बढी मायाचाहिँ सानदाजु पीताम्बर अधिकारी र उहाँकै नाति जनार्दनलाई गर्नुहुन्थ्यो भन्ने पनि थियो किनभने दाजु र जनार्दनको आमा हुनुहुन्थेन । तर हामीलाई मात्र होइन कि मेरा समकालीन काका केशव बराल, मुकुन्द काका, गणेश काका अनि दाजुहरू कृष्ण, अच्युत भाइहरू वासुदेव सबैलाई उहाँले गर्ने मायाको कुनै तुलना थिएन तर हामीमध्ये सबैलाई एउटा गर्व थियो कि दिदीले मलाई बढी माया गर्नुहुन्छ । उहाँका घरमा मालभोग केरा कहिले टुट्दैन थियो, कुँडहरमा विभिन्न जातका फूल तथा कागती सदावहाररुपमा फलेका हुन्थे ।

अठार पुराण भरि गुरुलाई दिनको एउटा वा दुइटा कागती दिदीले ल्याइदिनु हुन्थ्यो भन्ने थाहा पाएको हुँ । हाम्रो त्यत्रो गाउँमा श्राद्ध, पूजा या धार्मिक कार्यका लागि आवश्यक पर्ने फूल दिदीको कुँडहरमा नै पाइन्थ्यो । हामी गाउँभरमा मानिसहरूका लागि आवश्यक पर्ने फूलको जरुरत दिदीको बगैँचाले पूरा गर्थ्यो । त्यसको सम्पूर्ण रेखदेख गर्नेचाहिँ कान्छा भानिज बा ज्वाला प्रसाद पोखरेलले र माहिला भानिज बा भोजराज पोखरेलले गर्नुहुन्थ्यो रे ! अझ कान्छाबाले बढी नै ध्यान दिनु हुन्थ्यो रे ! दिदीको सन्दुसमा आँपको मौसममा आँप, बर्खाको बेलामा आँटी, अम्बा, त्यो पनि नभए बुकुनी सखर दिएर वा मह दिएर भए पनि हामीलाई तृप्त गराउनु हुन्थ्यो । मानौँ दिदीको भण्डार कुबेरको भण्डार हो, जहाँ जे खोजे पनि पाइन्छ ।

राजाले तत्काल खयरको मसी दान र कलम आफ्नो खोकिलाबाट झिकेछन् र स्वाट्ट काटेर भनेछन् रे-ल भन त, अब के हुन्छ ? सरदारले भनेछन्- अब त मुद्दा जित्छ तर म अब काम गर्न सक्दिन, हजुरले दिएको यो पद हजुरलाई नै फिर्ता दिएँ भन्दै चाँद तोडा सहितको पदीय टोपी भुइँमा राखेछन् रे र त्यहाँबाट हिँडेछन् । तिनका सन्तानहरू जनकपुरतिर छन् क्यारे !

सफा सेतो खालको सारी लाउने टाउको ढाकेर, नहाँसी नबोल्ने अनि कहिल्यै ठुलो स्वरले नबोल्ने अनि हामी बालकजनलाई त त्यति भए पुगी हाल्यो नि !  माया पनि गर्ने, मिठो मिठो खान पनि दिने, लुकाएर लैजान पनि दिने । लाग्थ्यो त्यो माया मलाई मात्र होला, होइन रहेछ हामी त्यो पिँढीका सबैलाई उहाँको माया त्यस्तै रहेछ । कहिल्यै पनि लागेन, दिदीको मायामा उहाँका नाति नातिनीभन्दा हामी माइतीहरूलाई कम माया गर्नु भएको थियो । फलफूल तथा घिउ, मह, सखर, मालभोग केराको सम्झना अहिले पनि आउँछ दिदीले यसो लुकाएर दिनु भएको मानौँ कि मलाई मात्र दिदीले बढी माया गरेर दिनु भएको हो । आखिर सानामा त त्यही हुने रहेछ जसले बढी माया गर्छ र मिठो मिठो खान दिन्छ उसको याद अहिले पनि आउने रहेछ ।  

हाम्री हजुरआमाको माइती दुम्जा माइती भएकी हजुरआमाले हामीलाई सुनाउनु हुन्थ्यो- उहाँका माइतीमा कालीदास र कृष्णप्रसाद कोइराला भन्ने दाजु भाइ थिए रे !  एक दिन  उनीहरू भैँसीलाई सोतर ल्याउन घर नजिकैको वनमा गएका थिए रे ! दिउँसो भैँसीले गोब्य्राएको गोबरमा खुट्टा परेछ । भाइचाहिँ कृष्णप्रसाद रे ! अनि दाइचाहिँ कालीदास । भाइले भनेछन् - दाइ , जीवन त यसैगरी बित्ने भयो, बिहान घाँस, दाउरा, पानी, दिउँसो बस्तुभाउ हेर्न जा, भैँसी चरा, गाई चरा अनि बेलुका घरमा आयो, उही भैँसी दुहुने, गाई दुहुने, गोबर सोहोर्ने अनि बेलाबेलामा रोसीमा गयो बिसी, पराल ल्यायो ढोड ल्यायो । खेती गर्‍यो । जीवन त यही लयमा बित्ने भयो दाइ !

अनि भाइको कुरामा दाजुलाई घत लागेछ र भनेछन्-भाइ , ठिक भनिस्  । यो डोरी, नाम्लो र हँसिया यहीँ पोथ्रामा राखेर आजै यहीँबाटै नेपाल जाऊँ र भाग्य अजमाउन् । बाहुनका छोरा यसो रुद्री चण्डी पढेकै थिए, वेदको अध्ययन गरेकै थिए, लेख्न पनि जानेका थिए । गएछन् नेपाल अर्थात् काठमाडौँ । अनि हामीले सोध्यौँ हजुरआमालाई अनि के भयो त ? हजुरआमाले झर्को नमानी भनेको कुरामात्र मैले अहिले सम्झेको हुँ । अनि दुई भाइ नेपाल गएछन् र जागिर खाएछन् । दाजु सरदार भएछ अनि भाइ खरदार भएछ । अनि हजुरआमाले भन्नुभयो- हो तिनै कान्छा भाइका सन्तान जेठो छोरो मातृका र माहिलो छोरो विश्वेश्वर प्रधानमन्त्री भएछन् । अनि हजुरआमा रोकिनु भयो भन्नुभयो- जेठाको त राणाले जागिर नै खोसेछन् । भएको के थियो रे भने राणा श्री ३ महाराजले एउटा मुद्दामा भनेका रहेछन् रे, सरदार मेरो दरबारमा काम गर्ने नानीको दाजुको मुद्दा रहेछ, मिलाई दिनु है । तर मुद्दाको फैसला गर्दा सरदारले त्यो मुद्दा हराई दिएछन् रे ! अनि राजा त्यही नानीको दाजुको पिठ्युँमा काँठमा बसेर आएछन् रे भनेछन् रे- सरदार , मैले भनेको किन नमानेको तिमीले ? अनि हक्की सरदारले भनेछन्-  सरकार, यो सनद सबालले दिएन अर्थात् कानुनको यो कुराले भएन र उसले जित्न सकेन , प्रमाण पुगेन । राणा राजाले भनेछन् , खोइ कुन कानुनले मिलेन, देखाऊ त ? सरदारले त्यो महल देखाएछन् रे भनेछन्- सरकार, यस्तो लेखेको छ, कसरी उसले मुद्दा जित्छ र ?

राजाले तत्काल खयरको मसी दान र कलम आफ्नो खोकिलाबाट झिकेछन् र स्वाट्ट काटेर भनेछन् रे-ल भन त, अब के हुन्छ ? सरदारले भनेछन्- अब त मुद्दा जित्छ तर म अब काम गर्न सक्दिन, हजुरले दिएको यो पद हजुरलाई नै फिर्ता दिएँ भन्दै चाँद तोडा सहितको पदीय टोपी भुइँमा राखेछन् रे र त्यहाँबाट हिँडेछन् । तिनका सन्तानहरू जनकपुरतिर छन् क्यारे ! अनि कान्छो भएका थिए खरदार । पछि उनको पनि श्री ३सरकारसंग खटपट परेछ रे र उसलाई देश निकाला गरेछन् ।   पछि अर्को राजा भएपछि नेपाल आए पनि जेलमा हालेछन् र जेलमा नै मरेछन् । हजुरआमाको यो भनाइसंगै उहाँका आँखामा आँसु छचल्किए अनि हामी पनि चुपचाप बस्यौँ । अनि उहाँले भन्नुभयो- हेर त्यसैले कोइरालाहरु बरु मर्छन्, झुक्दैनन्। उहाँका एउटा अभिमान थियो । को कहाँ कसरी प्रधानमन्त्री भयो होला, कसरी जनताका चेतना फैलाएको थियो होला तर हाम्रो हजुरआमाका आँखाले ती कुराहरु हामीलाई सुनाउँदा कति आत्मसम्मान देखाउनु हुन्थ्यो । भन्नुहुन्थ्यो , अहिले ती विस्सेसोर त झेलमा छ , छुट्ला तर झुक्दैन भन्ने मलाई लाग्छ । 

मेरो बाल मस्तिष्कमा त्यो नाम झङ्कृत भएको थियो र हामी बाहरु कांग्रेस भएको नबुझ्दा पनि हजुरआमाको त्यो भनाइको प्रभाव आजसम्म पनि जस्ताको तस्तै छ । कति कुरा बिपीको , मातृका बाबुको जीवनीबाट पनि थाहा भयो, तर हजुरआमाको त्यो अनभिज्ञतासँगको सत्यताको छाप जुन पर्‍यो पर्‍यो । अब कसलाई सोध्नु र ती कुराहरु ठिक थिए कि थिएनन् किनभने त्यसपछि मुलुकमा के के भयो भयो, राणा गए तर आज पनि संविधानका मर्म र भावना विपरीत दफा उपदफाको गलत व्याख्या गर्ने र संसद् बलजफती बन्द गरेर वा भङ्ग गरेर अध्यादेशद्वारा राज्य चलाउने, संसद् छलेर संवैधानिक आयोगमा नियुक्ति गर्ने जस्ता कामहरू आज पनि त्यही सिंहदरबारमा हुन्छन् । खोइ त राणाको त्यो एकलौटी शासनको अन्त्य?

सिंहदरबारमा सायद त्यो एकलौटी शासक हुने रोग नै छ कि क्या हो ? तर मलाई त्यसपछिका कोइराला परिवारले खेपेका सम्पूर्ण भोगाइहरू थाहा छ र पनि त्यो मेरो बाल मस्तिष्कमा परेको सरदार र खरदारको कथा ताजै छ र नियति पनि कर्ममा भर पर्दो रहेछ । अन्धकारको सामना गर्नेहरूले नै उज्यालोको जोहो गर्ने रहेछन् भन्ने कुराको बिपीको यो प्रमाण नेपालको इतिहासमा सदैव ढुङ्गामा लेखिएको अक्षर हुने रहेछन् । प्रसङ्ग दिवङ्गत हजुरआमाको जसले सानैमा मलाई एउटा अस्पष्ट तर जीवनको स्वरूप देखाउनु भएको थियो आफ्नै दाजुभाइको उदाहरणले । भन्नुहुन्थ्यो , त्यसैले पढ है पढ । पढेपछि संसारले मान गर्छन् , कमाएर खान पनि सक्छौ, अरूलाई दिन पनि सक्छौँ । तेरो बाबुलाई पढ्न गढी पठाएको तर तेरा हजुरबाले छोराको मायाले घरमा बोलाउनु भयो र भन्नुभयो-तँ घरैमा बस्, सम्पत्ति छँदै छ, मैले कमाएकै छु । तर होइन हेर । सम्पत्ति भनेको त आज त भोलि छैन । शिक्षा दीक्षा लियो भने राजाले पनि मान्छन् , दुनियाँले पनि मान्छन् र विद्वानले सबैलाई भलो गर्छ ,अरूले पनि मान सम्मान दिन्छन् । 

माहिला बा, माहिली आमा, कान्छा बा, कान्छी आमा (अहिले पनि उहाँको आशीर्वाद पाएकै छु , स्वस्थ हुनुहुन्छ ) सबैको एउटा परिपूर्ण परिबार थियो । म आफ्नो बातर्फको जेठो छोरो भए पनि एकाघरमा हुर्केका हामीहरूले माहिला बाका जेठा छोरा गणेश दाइलाई नै ठुल्दाजु भन्थ्यौँ । त्यसपछि कान्छा बाका छोराहरू द्वारिका दाइ, पीताम्बर दाइ हुनुहुन्थ्यो । गणेश दाइको परार देहावसान भयो, अरु दाजुहरू हुनुहुन्छ अनि मात्र मेरो पालो आउँथ्यो दाजु भाइहरूको भेलामा, दसैँमा टिका लगाउने बेलामा । 

दसैँ भन्ने बित्तिकै फेरि कुरा आउँछ घरमा जम्मा हुने, टिकाटालो गर्ने, मावल जाने,  मान्यवरका हातको टिका लगाउने । अनि हाम्रो गाउँको अर्को पनि महत्त्वपूर्ण कुरा थियो, कोजाग्रत पूर्णिमाका दिन गाउँको स्कुलको प्राङ्गणमा नाटक लाग्थ्यो । गाउँका मनोरञ्जन भनेको नै वर्षमा आउने त्यही नाटक थियो । हामी गीत गाउन पनि नजान्ने, जात्रामात्रामा पनि नजानेलाई रमाइलो भनेको त्यही वर्षको एक पटक विद्यालयको जन्मोत्सवका दिन दिउँसो हुने खेलकुद अनि साँझमा नाटक । नाटक भन्दा पनि नाच हुन्थ्यो । सामान्यतया केटासँग केटीलाई नचाउने काम हुँदैनथ्यो । केटीको जोडा भएर केटीले नै नाच्थे अनि केटाको जोडामा पनि केटाले नै केटीको रुपमा नाच्थे । त्यो बेलामा सामाजिक नाटक खेलाइन्थ्यो र धेरैजसो नाटक गणेश दाइले नै लेख्नुहुन्थ्यो । नाटकमा केटीको भूमिकामा पनि केटाले खेल्ने गर्थे । मुख्य भूमिकाको महिलाको पालोमा मेरो साथी हरिबहादुर थापाले खेल्थ्यो र उसको भूमिका नचिनेका मान्छेले ठ्याक्कै महिलाको देख्थ्यो । नाटकको रिहर्सल हुन्थ्यो सोरस्राद्धदेखि नै । किनभने तयारी गर्नुपर्थ्यो । खासगरी दसैँमा टिकोटालामा केही दिन विराम गर्नु पर्ने हुन्थ्यो , त्यसैले करिब १५दिनसम्म तयारी गरेर मात्र कोजाग्रत पूर्णिमा दिन नाटक गरिन्थ्यो । 

धर्मराज बराल काका जो प्रधानाध्यापक हुनुहुन्थ्यो धेरै वर्षसम्म हाम्रो कौशिक प्राविमा, उहाँले हार्मोनियम बजाउनु हुन्थ्यो र हामी उहाँले जत्ति राम्रो बजाउन कसले जानेको होला भनेर गर्व गथ्यौँ । काका शारीरिक शिक्षाको अभ्यास गराउनु हुन्थ्यो र विद्यालयको वार्षिकोत्सवमा बाहिरबाट अतिथि बोलाउने चलन थियो । सकेसम्म बडाहाकिम, अञ्चलाधीश, जिल्ला शिक्षा अधिकारी, जिल्ला पञ्चायतका सभापति । यसको कारण के थियो भने उनीहरूले हाम्रो खेलकुद, नाटक, नाच, गीत हेरेर हाम्रो विद्यालयको अनुदान वृद्धि गर्लान् भन्ने । हुन पनि २०१७सालमा ६०० रुपैयाँ अनुदानबाट सुरु भएको २०३१ सालको नयाँ शिक्षा योजना लागु नहुन्ज्यालसम्म ३२०० रुपैयाँ पुगेको थियो । पाँच गुना भन्दा बढी । 

नाटकको रिहर्सल हेर्नका लागि मलाई त पस्न दिन्थे तर हल्ला नगर्ने सर्तमा र यो पनि कारण थियो मेरो पनि भूमिका हुन्थ्यो विद्यार्थीको रुपमा । त्यही कारणले पनि हो अर्को कारण हो गुरु धर्म काकाले धेरै मन पराउनु हुन्थ्यो भन्नुहुन्थ्यो, हरिलाई भित्रै राख्दा हुन्छ । तर सामान्यतया कसले कुन नाच गर्छ, कसले कुन भूमिका खेल्छ भन्ने कुरालाई गोप्य राख्ने चलन थियो नत्रभने त्यो दिन सबैले नाटकका पात्रहरू चिने भने के पो रहस्य बाँकी रह्यो र ?

अनि हार्मोनियम बज्न थालेपछि जिज्ञासुहरू झ्याल झ्यालमा, बारीको कान्ला कान्लामा उभिएर मइन्टोलको बत्तीमा झ्यालको छिद्रबाट हेर्न थाल्थे र गर्दागर्दै झ्यालमै घचेट्न थाल्थे । अनि सान जेठो अर्थात् मेरो केही पहिले कोरोनाका कारण दिवङ्गत साथी कृष्णबहादुर कार्कीले सबैलाई लखेट्थ्यो । त्यो क्रम नाटक समाप्त नहुन्जेल चलिरहन्थ्यो । तर नाटकको कुनै पात्र, संवादका बारेमा बाहिर थाहा हुँदैनथ्यो । कोजाग्रत पूर्णिमाको दिन अरु गाउँबाट दर्सालु आउँथे । बोलाइन्थ्यो । पहिले त दसैँको टीकाका दिन देउरालीटारमा नाटक हुन्थ्यो । त्यहाँको तयारी भनेको नारद कोइराला मामा र उद्धव कोइराला मामा नआई खासै नहुने र तीन चार दिनमा तयारी गरिन्थ्यो ।  हाम्रा नाटकहरूका मुख्य आकर्षण कमिक हुन्थ्यो कसले कति हँसाउने ? ग्वाल्टारमा पहिले मुक्तिकाका, भोजराज काका, पछि केदार काका, मुकुन्द काकाले कमिकको अवधारणा तयार गर्नु हुन्थ्यो र हँसाउनु हुन्थ्यो । देउरालीटारमा नारद मामा र उद्धव मामाकै जोडीले विभिन्न भूमिकामा किक गर्नुहुन्थ्यो र कमिकमा वा नाटकमा तमाखु खाने या चुरोट खाने भूमिका आएपछि काइँला बा प्रेमप्रसाद कोइरालाले भन्नुहुन्थ्यो - हेर न नारद र उद्धवले हामीलाई देखाएर हाम्रै हुक्कामा तमाखु खाएका ? दर्शक दीर्घामा काहिँला बाको जोक अर्को हुन्थ्यो रमाइलो । धेरैजसो ठेटराज कोइराला हजुर बा र काहिँला बा विद्यालयको माथि घरबाट ल्याएको राडीमा बस्नुहुन्थ्यो र म पनि उहाँहरूसँगै हुन्थेँ ।

हाम्रो गाउँबाट सबैजसो हेर्न जान्थ्यौँ देउरालीटारको नाटक । दसैँको बेलामा खोलो ठुलै हुन्थ्यो अनि कति जनाको लुगा भिज्थे । कारण थियो दशमीको जून डाँडामाथि पुगेपछि उज्यालो हुँदैनथ्यो । टर्च धेरैसँग हुँदैनथ्यो । अनि भिजेपछि भन्ने गर्थे-अर्को साल त अब आइँदैन तर अर्को साल फेरि गइन्थ्यो । देउरालीटारका पनि पूर्णिमाका दिन ग्वाल्टार आउँथे राती घर जानुपर्दा अर्को साल त नआउने भन्थे तर आउँथे । थाहा छैन, अचेल त्यस्तो रमाइलो दसैँ हुन्छ कि हुँदैन गाउँमा । मलाई त दसैँ भन्ने बित्तिकै त्यो बेलाको घर पोत्ने, लिप्ने, झ्यालमा काली लगाउने, वरिपरि उम्रेका घाँस सफा गर्ने अनि अष्टमीका दिन खसी  काट्ने, टीकाका दिन टीका लगाएर भोलिपल्ट मावल जाने किनभने पूर्णिमाका दिन त नाटक हुन्छ नि गाउँमा, आउनै पर्ने, वार्षिकोत्सवमा भाग लिनै पर्ने ।

दसैँ भन्ने बित्तिकै मासुको मात्र कुरा होइन, मालभोगका केरा, काँक्रोको अचार भिउँटका भिउँट बनाउने, पकुवा मासु राख्ने आदि त्यो बेलाका स्मरणीय कुरा हुन् । पिङको के कुरा भयो र ? दसैँमा भुईँ छाड्नै पर्ने भनेर हाम्रै घरमा पिङ बाटिन्थ्यो । माझी दाइ, कान्छा बा, माहिला बा मालसिरी गाउँदै पिङ बाट्न हुन्थ्यो भने दसैँ सुरु भएदेखि नै देउरालीटारमा दाप्चाली अजाले मालश्रीको गीत गाउनु हुन्थ्यो जुन हाम्रो घरसम्म सुनिन्थ्यो राती । 

पछि बाहरु छुट्टिएपछि र हामी मूल घरको परिसरबाट तल जखन्थानमा आएपछि भने पिङ हाम्रै घरमा बाट्न थालियो र हाम्रै वरको रुखमा व्यक्तिगत तथा सार्वजनिक खपतका लागि पिङ हालिन्थ्यो । पछि त हामी काठमाडौँबाट घर पुगेपछि भाइ शम्भुले खर बटुल्थ्यो र फूलपातीका दिन बाटेर अष्टमीका दिन बिहानै हालिन्थ्यो । क्रमशः