कोरोना निको हुने दर ९२ प्रतिशत

कोरोना निको हुने दर ९२ प्रतिशत

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार १३, २०७८

काठमाडौ । कोरोनाविरुद्ध निषेधाज्ञा  बिस्तारै  खुुकुलो  भएसँगै  कोरोनाबाट मुक्त हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । सङ्क्रमित हुनेभन्दा निको  हुनेको  सङ्ख्या  दोब्बरभन्दा  बढी छ । स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालयका  अनुसार  गत  २४  घण्टामा  थप  चार  हजार  ९१४  जना  सङ्क्रमित  निको  भएका  छन्  भने  दुई  हजार  १६  जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमणबाट निको हुने दर ९१ दशमलव ९ प्रतिशत छ । विज्ञहरूका अनुसार कोरोना निको हुने दर नेपालमा उच्च छ ।नेपालमा  हालसम्म  छ  लाख  ६३  हजार  ८५७  जनालाई  कोरोना  पुष्टि  भएको  छ  भने  पाँच  लाख  ८१  हजार  ३२७ जना सङ्क्रमित निको भएका छन् ।

हाल देशभर ४२ हजार २४ जना सक्रिय सङ्क्रमित छन् । गत २४ घण्टामा चार हजार  ७०४  जनाको  पीसीआर  र  चार  हजार ८०६ जनाको एन्टिजेन गरी कुल नौ हजार ८१० जनाको कोरोना परीक्षण गरिएको थियो ।

काठमाडौँमा  १८१,  भक्तपुरमा  २५  र ललितपुरमा ४३ जना गरी काठमाडौँ उपत्यकामा  थप  २४९  जना  सङ्क्रमित  थपिएका  छन्  ।  यस्तै  देशभरका  कोरोना  अस्पतालका  आईसीयूमा  ७३४  र  भेन्टिलेटरमा  २२२  जना  सङ्क्रमित  उपचाररत  छन्  ।  

मन्त्रालयका  अनुसार  विगत २४ घण्टामा थप ३० जनाको मृत्यु भएको  छ  ।  योसहित  नेपालमा  कोरोना  सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ हजार ९७५ पुगेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।