अविरल वर्षाका कारण हेटौंडा काठमाडौं सडक अवरुद्ध

अविरल वर्षाका कारण हेटौंडा काठमाडौं सडक अवरुद्ध

लोकसंवाद संवाददाता  |  लोकसंवाद  |  असार १३, २०७८

काठमाडौं । हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीका दुवै सडक पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण हेटौंडा–काठमाडौं सडक खण्ड शनिबार देखि अवरुद्ध बनेको हो ।

पहिरोका कारण हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै सिस्नेरी–दक्षिणकाली भएर काठमाडौं प्रवेश गर्ने सडक पनि अवरुद्ध भएको छ । बाढी र पहिरोले हेटौंडा–भीमफेदी–कुलेखानी हुँदै फाखेल–फर्पिङ भएर काठमाडौँ प्रवेश गर्ने मार्ग पहिरोले  शनिबारदेखि नैअवरुद्ध बनेको हो ।

हेटौँडा–भीमफेदी–कुलेखानी सडक खण्डको भीमफेदी गाउँपालिका वडा नं ६ स्थित चिसापानीगढी नजिकैको साउनेपानी खोल्चामा ठूलो पहिरो आएपछि सडक अवरुद्ध भएको बताइएको छ । वर्षा नरोकिएको र पहिरो झर्ने क्रम चलिरहेका कारण अवरुद्ध सडक आइतबार बिहानसम्म पनि सञ्चालन हुन सकेको छैन ।

यसैगरी कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डको इन्द्रसरोवर गाउँपालिकाका २ को छपारेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । यो सडकमा पनि निरन्तर पहिरो खसी रहेका कारण सडक खुलाउन कठिन भइ रहेको छ ।

शुक्रबार बेलुका देखिको वर्षा नरोकीएका कारण ठाउँ ठाउँमा पहिरो झरी रहेकोले दुबै सडक बन्द रहेको र खुलाउने प्रयास भए पनि वर्षा नरोकीएका कारण कठिन भएको बताइएको छ ।