दिल्लीलाई हराउँदै चेन्नई शीर्षमा

दिल्लीलाई हराउँदै चेन्नई शीर्षमा
दिल्ली क्यापिटलविरुद्ध चौथो विकेट लिएपछि खुसी मनाउ्रँदै चेन्नई सुपर किंग्सका इमरान ताहिर । तस्बिर : बिसिसिआई ।

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख १९, २०७६

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार राती चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटलाई ८० रनको फराकिलो रन अन्तरले पराजित गरेको छ ।

यससँगै अंकतालिकामा दोस्रो स्थानमा रहेको चेन्नई शीर्ष स्थानमा उक्लिएको छ । चेन्नईको १३ खेलबाट १८ अंक छ । यसअघि शीर्ष स्थानको दिल्ली दोस्रो स्थानमा झरेको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७९ रनको स्कोर खडा गर्यो । चेन्नईका लागि सुरेश रैनाले सर्वाधिक ५९ रन जोडे । ३९ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे । यस्तै, कप्तान महेन्द्र सिंह धोनीले २२ बलमा नटआउट ४४ रनको योगदान दिए । फाप डु प्लेसिसले ४१ बलमा ३९ रन जोडे भने रविन्द्र जडेजाले १० बलमा २५ रन जोडे ।
दिल्लीका जगदीशा सुचितले दुई तथा क्रिस मोरिस र अक्षर पटेलले समान एक विकेट लिए । 

१८० रनको लक्ष्य पछ्याएको दिल्ली ९९ रनमा समेटियो । दिल्लीका कप्तान श्रेयस ऐयरले सर्वाधिक ४४ रन जोडे । अर्का ब्याट्सम्यान शिखर धवनले १४ रनको योगदान दिए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । 

दिल्लीको ब्याटिङ ध्वस्त पार्न इमरान ताहिरले ४ र रविन्द्र जडेजाले ३ विकेट लिए । यस्तै, हरभजन सिंह र दीपक चहरले समान एक विकेट लिए ।