भोलिदेखि २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारी चल्ने, निषेधाज्ञा एक साता थप

भोलिदेखि २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारी चल्ने, निषेधाज्ञा एक साता थप

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १४, २०७८

 काठमाडौँ । उपत्यकामा भोलि १५ असारदेखि २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् ।

आज बिहान बसेको काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।ती सवारी साधनमा स्वास्थ्यका मापदण्ड भने पालना गर्नुपर्नेछ । अन्य साना सार्वजनिक सवारी साधनको हकमा भने नयाँ निर्णय गरिएको छैन ।

खाद्यान्नका पसल अबदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ । यसअघि खाद्यान्नका पसल बिहान ११ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरिएको थियो ।हाल उपत्यकामा निजी सवारी साधन र ट्याक्सीहरूलाई जोर बिजोरको आधारमा चल्न दिइएको छ भने व्यापार व्यवसाय बारको आधारमा संचालन हुँदै आएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण काठमाडौँ उपत्यकामा १६ वैशाखदेखि लगाइएको निषेधाज्ञा जारी छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय पनि गरेको छ ।