मदनको मञ्चमा गाली महात्म्य: 'म' बाहेकको 'हैसियत' छैन, राज्यका निकाय प्रति नै घृणा फैलाउने धृष्टता !

लोकसंवाद टिप्पणी

मदनको मञ्चमा गाली महात्म्य: 'म' बाहेकको 'हैसियत' छैन, राज्यका निकाय प्रति नै घृणा फैलाउने धृष्टता !

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १५, २०७८

 काठमाडौँ ।  हरेक सभ्य समाजमा घृणाको स्थान नगण्य मानिन्छ । तर नेपालको राजनीतिमा यो कुरा लागू हुँदैन  अर्थात्  भइरहेको छैन । नेपालको राजनीतिमा जति घृणा फैलाउन सक्यो र विपक्षीको जति बदनाम गर्न सक्यो त्यति नै महान् भइन्छ भन्ने गलत सोच र संस्कार हाबी हुँदै आएको छ । 

गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठनका अनेकन् विकल्प हुँदाहुँदै आफू विरुद्ध अविश्वासको प्रस्ताव आउने डरका कारण प्रतिनिधिसभा विघटन गरे पश्चात् । राजनीति प्रति नै घृणा फैलाउने  होड नै चलिरहेको छ । यस विरुद्ध ओलीको तत्कालीन पार्टी नेकपा र विपक्षी दलहरू सडक आन्दोलनमा गए । सडक आन्दोलन र देशैभर एकपछि अर्को आमसभाका राजनीतिमा घृणा फैलाउने जुहारी चल्यो । जुन आमसभाको मुख्य उद्देश्य नै विपक्षीको बदनाम गर्नु र खुइल्याउनु हुन्थ्यो । त्यो सिलसिला अझै जारी छ । 

एउटा भनाई छ–खराब मुद्राले असल मुद्रालाई विस्थापित गर्छ । नेपालको राजनीतिमा यो कुरा जस्ताको तस्तै लागू हुन्छ । नेपालमा अब राजनीति विचार र आस्थाको कुरा रहेन । राजनीतिक आदर्शका लागि आफ्नो प्राणसमेत हाँसाहाँसी दिएको इतिहास पढेका र सुनेका नेपालीहरू यति बेला आफ्नो स्वार्थका लागि जस्तासुकै आदर्शलाई पनि माटोमा मिलाउने हर्कत प्रस्तुत गरिरहेको देख्न र सुन्न बाध्य छन् । 

आफ्नो स्वार्थ पूरा गर्न अवसरवादी र चाकडी बाजहरूले नेतृत्वको गलत कुरालाई पनि सही भन्दै भ्रम छर्न कोसिस गरिरहेका हुन्छन् । पार्टी सङ्गठनमा चरम गुटबन्दी गर्दै सङ्गठन सञ्चालनमा आफूभन्दा फरक धारणा राख्नेहरूप्रति असहिष्णु रूपमा प्रस्तुत हुन्छन् र यस्तैलाई विश्वास गरेर नेतृत्वको जिम्मा दिइन्छ । अहिले नेपालमा चलिरहेको राजनीतिक द्वन्द्वको परिदृश्य यही हो । 

ओलीले भने, ‘माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ताका हुन्। अहिले धाक के लगाएर हिँडेका छन्– केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर। मलाई बहुला कुकुरले टोकेको छ र ? नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?’

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली एमालेले आदर्शका रुपमा मान्ने  स्व. मदन भण्डारीको जन्म जयन्तीको कार्यक्रममा यस्तै घृणात्मक दृश्य  प्रस्तुत भएको आम नेपाली  हेर्न र सुन्न बाध्य भए ।  देशको प्रधानमन्त्रीको सम्बोधनमा देश विकास, राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक र कूटनीतिक विषय, देशका विद्यमान सङ्कट र त्यसको निकासका विषयमा गहन विचार विमर्श हुनुपर्ने हो । देशकै अभिभावक  प्रधानमन्त्रीबाट सामान्यतया यो अपेक्षा राखिनु अस्वाभाविक  होइन । 

तर  प्रधानमन्त्री ओलीको सम्बोधनमा विपक्षीमाथि तल्लो स्तरबाट गालीगलौज गर्नुबाहेक अन्य कुरा फुत्किएन । मदन भण्डारीको ७० औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले मदन भण्डारीकै विचार ‘जबज’ लाई अघि बढाउन १५ वर्ष पार्टीको नेतृत्व गर्दै मुख्य भूमिका खेलेका एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालदेखि विपक्षी नेता र अदालतसम्मलाई धम्क्याए र गालीगलौजपूर्ण शब्द बाँड प्रहार गरे । यस्ता अशोभनीय शब्दहरू सायदै कसैले प्रधानमन्त्रीजस्तो उच्च गरिमामय पदमा बसेको व्यक्तिबाट अपेक्षा गरेको हुन्छ । 

उनको पहिलो तारो नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड बने । उनले प्रचण्डमाथि छेपारोले जस्तै रङ्ग फेरेको आरोप लगाए । विगतमा दिएका अभिव्यक्तको अपव्याख्यासहित प्रचण्डको आलोचना गरे । प्रचण्डले अहिलेका राष्ट्रपतिले राष्ट्रपति संस्थाकै गरिमा कमजोर बनाएको आरोप लगाए  । उनले अहिलेका राष्ट्रपतिको भन्दा राजाहरूले आफ्नो शान र मान कायम राखेको भन्दै आफूहरूले स्थापित गरेको संस्थाको बदनाम भएको शनिवार एक कार्यक्रममा बताएका थिए । 

यसैलाई अपव्याख्या गर्दै ओलीले भने, ‘कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छन्, कहिले गणतन्त्रभन्दा राजतन्त्र राम्रो भन्न पुग्छन् । कहिले राष्ट्रपतिभन्दा राजा नै ठिक भन्छन् ।’
३ जेठ, २०७५ मा प्रचण्ड नेतृत्वको माओवादी केन्द्रसँग एकता गरेका ओली एकाएक प्रचण्ड विरुद्ध न्वारनदेखिको बल निकालेर प्रहार गर्न पुगे । झापा आन्दोलनमा निहत्था जनतामाथि हमला गरेर १४ वर्ष जेल बसेका ओलीले प्रचण्डमाथि विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गरेको, जनताले दुःखले जम्मा गरेको पैसा बैङ्कबाट लुटेको, बाँदर मुढे घटना घटाएको, मानिसहरूलाई नियन्त्रणमा लिएर निर्मम, जघन्य अपराध गरेको आरोप लगाए । यी आरोप ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डले काँध थाप्दा सबै माफी भएको कुरालाई बिर्सेका थिए । ओलीको मनोमानी सत्ता सञ्चालनको तरिकाबाट आजित भएपछि पार्टीमा ल्याएको राजनीतिक प्रस्तावलाई ओलीले 'आरोप पत्र' करार गरेका थिए । उनी अब प्रचण्डमाथि राष्ट्रिय राजनीति बिथोलेको आरोप लगाउनसम्म थालेका छन्।

यस्तै उनले विपक्षी काङ्ग्रेसमाथि प्रचण्डपथ अँगालेको आरोप लगाए । उनले भने, ‘नेपाली काँग्रेसका नेताहरू नाथुराम गोड्से खोजी गर्ने, भेटिएन भने आफैँ हुने भन्ने तहमा पुगेको भनेपछि प्रचण्डपथ नै अँगालेको हो ।’

आफूले संवैधानिक तरिकाले मध्यावधि चुनाव घोषणा गरेको दाबी गरेका उनले शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भनेकोमा चित्त दुखाई रहेको प्रकट गरे। उनले भने, ‘काँग्रेसले 'कु' भनेको बिर्सिसकेछ । म देउवाजीलाई सोध्न चाहन्छु, माघ १९ चाहिँ के थियो ?’

ओलीको सबैभन्दा बढी गालीको केन्द्रमा मदन भण्डारीको मृत्युपछि उनको जबजलाई कार्यान्वयन गर्न महत्त्वपूर्ण भूमिका खेलेका माधवकुमार नेपाल थिए । पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै सर्वोच्चले समेत वैधानिकताको प्रश्न उठाएको महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका ओलीले नेता नेपालको चर्को आलोचना सार्वजनिक रुपमा गरे । उनले नेपाललाई प्रचण्डको पुच्छर, इमान नभएको मान्छे जस्ता तल्लो स्तरका अराजनीतिक शब्दले गाली गरे । शनिवार विपक्षी गठबन्धनको कार्यक्रममा नेता नेपालले आफूलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीको प्रस्ताव आए पनि गठबन्धनलाई धोका नदिने बताएका थिए । सोही कुरालाई लिँदै ओलीले भने, ‘माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ताका हुन्। अहिले धाक के लगाएर हिँडेका छन्– केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर। मलाई बहुला कुकुरले टोकेको छ र ? नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?’

उनी यतिमा मात्रै रोकिएनन् । उनले नेता नेपाललाई अराजक, अनुशासनहीन र इमान नभएको मान्छे भएको आरोप लगाउन भ्याए । उनले जनमोर्चालाई मन्त्री बनाउन राजनीति गरेको र सभामुख प्रचण्डको कार्यकर्ता भएको टिप्पणी गरे । लोकतान्त्रिक व्यवस्थामा हरेक संस्थाको आफ्नै मर्यादा हुन्छ । तर ओलीका टिप्पणी सुन्दा उनीबाहेक यहाँ अरु कसैको कुनै हैसियत र मर्यादा नै छैन  । यस्ता घृणाले राजनीतिलाई दूषित र फोहोरी पार्नेबाहेक कुनै आयाम थप्दैन । ओली र ओलीका सल्लाहकारसहित केही नेताको निरन्तर यस्ता अशोभनीय टिप्पणीले राजनीति प्रति घृणा पैदा बाहेक केही गरिरहेको छैन ।