बुधबारबाट धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

बुधबारबाट धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १५, २०७८

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले  बुधबारबाट  मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले  मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय रहँदा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा  भारी र धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

यसैगरी, देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो, गेग्रान बहाव, नदीनाला तथा खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश नं १, गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै, राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।