कृषकलाई ट्र्याक्टर हस्तान्तरण

कृषकलाई ट्र्याक्टर हस्तान्तरण

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १५, २०७८

भरतपुर । भरतपुर महानगरपालिकाले कृषकहरुलाई अनुदानमा ट्र्याक्टर वितरण गरेको छ । महानगरले कृषिको क्षेत्रमा आधुनिकीकरण र यान्त्रिकीकरणमा सहयोग पु¥याउन ५० प्रतिशत अनुदानमा ट्र्याक्टर उपलब्ध गराएको हो ।

महानगरले  सोमबार  छ वटा ट्र्याक्टर र एउटा हाते ट्र्याक्टर किसानलाई वितरण गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले एक कार्यक्रमका बीच किसानहरुलाई सामग्री हस्तान्तरण गर्नु भएको हो ।
 
महानगरमा परेका ४३ वटा आवेदनबाट छनोट गरेर १३ वटा फार्मलाई मागअनुसारको उपकरणमा सहयोग गरिएको हो । महानगर प्रमुख दाहालले महानगरपालिले कृषिलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउनुभयो ।

कृषि क्षेत्रको विकासका लागि यान्त्रिकीकरण र आधुनिकीकरणमा आफूहरुले जोड दिएको उल्लेख गर्दै दाहालले कृषिमा लागत घटाएर उत्पादन बढाउन निरन्तर खटिएको बताउनुभयो । महानगरमा पशुपालनमा पनि उच्च सम्भावना रहेकाले यो क्षेत्रमा लाग्ने किसानलाई हौसला प्रदान गर्न दूधमा प्रतिलिटर रु तीन अनुदान दिन थालिएको दाहालको भनाइ थियो ।

कार्यक्रममा महानगर उपप्रमुख ठकुरीले किसानलाई कृषि पेशाबाटै सबल बनाउने उद्देश्यसहित कृषि उपकरण वितरण गरिएको बताउनुभयो । कृषि प्रधान देशमा किसानहरु निराश बनेको र युवा पलायन हुने स्थिति आएकाले अब युवालाई यही कृषि कर्ममा सरिक बनाउन आफूहरु लागेको उहाँको भनाइ थियो ।

प्रति ट्र्याक्टर १६ लाख ५२ हजार लागत मूल्य रहेको र महानगले आठ लाख अनुदान सहयोग गरेको महानगरको कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले बताउनुभयो ।