कैलालीमा प्रोत्साहनसहित विद्यार्थी भर्ना गरिँदै

कैलालीमा प्रोत्साहनसहित विद्यार्थी भर्ना गरिँदै

लोकसंवाद संवाददाता  |  शिक्षा  |  असार १५, २०७८

कैलाली । कैलाली जिल्लामा प्रोत्साहनसहित विद्यार्थी भर्ना गर्न थालिएको छ । कैलालीका विद्यालयले विद्यार्थी भर्नाका लागि विभिन्नखाले प्रोत्साहनका कार्यक्रम अघि सारेका छन् । जिल्लामा अझै कोरोना सङ्क्रमणको त्रास रहेका कारण विद्यार्थीलाई विद्यालयमा राखेर शिक्षण सिकाइ क्रियाकलाप गराउन सक्ने अवस्था छैन ।

यद्यपि सरकारले असार १ गतेदेखि शैक्षिक सत्र शुरु गरेपछि यहाँका विद्यालयले पनि विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन अभिभावक तथा विद्यार्थीलाई आकर्षित गर्न विभिन्न कार्यक्रम गर्न थालेका हुन् । कैलालीका विद्यालयले पाठ्यपुस्तक वितरण, मास्क, स्यानिटाइजर वितरण गरिरहेका छन् भने निजी विद्यालयले त साना कक्षामा भर्ना हुने विद्यार्थीलाई निःशुल्क भर्ना लिन थालेका छन् ।

यहाँका विद्यालयले सरकारको निर्देशनानुसार निःशुल्क भर्ना र पाठ्यपुस्तक वितरणका कार्यक्रम गर्दै आएका छन् । विद्यालयले आफैँ कक्षाअनुसार विद्यार्थी बोलाई विद्यार्थी भर्ना र निःशुल्क पाठ्यपुस्तक वितरण गरिरहेका छन् । विद्यालयले भर्ना अभियान र घरदैलो गर्न नसके पनि विद्यार्थी र अभिभावकमार्फत विद्यार्थीलाई समयमै भर्ना हुन जानकारी गराउन थालेका छन् । कतिपय विद्यालयले विद्यार्थीको घरघरमै गएर पाठ्यपुस्तक वितरण गर्न थालेका छन् ।

विगतका वर्षमा वैशाख महिना पहिलो सातादेखि सञ्चालन हुँदै आएको भर्ना अभियान कोरोनाका कारण यस वर्ष भने असार महिनामा गरिँदैछ । गत वर्ष पनि कोरोनाका कारण प्र्रभावित भएको विद्यालय भर्ना अभियान यस वर्षसमेत प्रभावित भएकाले कक्षा छाड्ने डर रहेको उनीहरूको भनाइ छ । 

सरकारको निर्देशनानुसार असार महिनामा विद्यार्थी अभिलेखीकरण अथवा भर्ना र निःशुल्क पाठ्यपुस्तक वितरण गर्नु भनेबमोजिम फरकफरक कक्षा र शिक्षकको व्यवस्था गरी भर्ना लिइरहेको टीकापुरस्थित कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माले बताउनुभयो । “हामीले भर्ना अभियान शुरु गरेका छौँ । लामो समयदेखि घरमै बसेर बालबालिकाले पढ्न बिर्सन थालेका छन्”, उहाँ भन्नुहुन्छ, “भर्ना गरेर किताब पाएमा विद्यार्थी कम्तीमा घरमा त पढ्लान । अब पालिकाको निर्णयानुसार विद्यालय सञ्चालनबारे टुङ्गो लाग्नेछ ।”

कर्णाली माविले भर्ना अभियानसँगै छात्रवृत्ति वितरण, पुस्तक वितरणजस्ता विद्यार्थी आकर्षित गर्ने कार्य गर्न थालेको उहाँको भनाइ छ । सबै विद्यार्थी र अभिभावकलाई जानकारी होस् भनी सार्वजनिक सूचना र विद्यार्थीमार्फत अन्य विद्यार्थीलाई पनि जानकारी गराउने गरिएको उहाँ बताउनुहुन्छ । “वैशाखदेखि विद्यालय बन्द छन् । गत वर्ष पनि पाठ्यक्रम पूरा हुने गरी राम्ररी पढाइ भएन”, शर्माले भन्नुभयो, “कोरोना प्रभाव अझै रहेकाले भौतिक दूरी कायम गरी यी सबै क्रियाकलाप गरिरहेका छौँ ।”