कांग्रेस महाधिवेशन: कोइराला, निधि र सिंह जुटे छलफलमा

कांग्रेस महाधिवेशन: कोइराला, निधि र सिंह जुटे छलफलमा

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १५, २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा दाेस्रो पुस्ताका भनिएका नेताहरूबीच छलफल र गठबन्धनको प्रयास जारी छ ।का‌ग्रेसका नेताहरू स्व‍र्गीय महेन्द्रनारायण निधिका सुपुत्र उपसभापति विमलेन्द्र निधि, संस्थापक नेता बीपी काेइरालापुत्र महामन्त्री डा. शशांक कोइराला र सर्वोच्च नेता गणेशमान सिंहपुत्र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच पटक पटक भेट वार्ता भइरहेका छन् ।

आज पनि यी नेताहरू 'लञ्च मिटिङ' गर्ने भएका बताइएको छ । सिंह निवास चाक्सीबारीमा मंगलबार दिउँसो लञ्चसहित छलफल हुन लागेको स्रोतले जानकारी दिएको छ ।

यसअघि नै यी नेताबीच उपसभापति निधि निवास र महामन्त्री कोइराला निवासमा लञ्च मिटिङ भइसकेको छ । आज सिंह निवास चाक्सीबारीमा हुन लागेको हो ।

आसन्न १४औँ महाधिवेशनमा सभापतिका आकांक्षी हुन् यी तीनै जना । उनीहरूले आपसी सहमतिमा ३ मध्ये एक नेतृत्व चयन गर्ने गरी छलफललाई निरन्तरता दिएका हुन् ।

निधि संस्थापन समूहमा छन् भने कोइराला र सिंह संस्थापनइतर समूहमा छन् । पार्टीमा पारिवारिक 'लिगेसी' बोकेका यी ३ नेताले नयाँ समीकरण बनाउने प्रयास गरेपछि संस्थापन देउवा खेमामा तरंग आएको छ । 

१६-१९ भदौमा काठमाडौंमा हुने गरी कार्यतालिका अनुमोदन गरिएको कांग्रेसको १४औँ महाधिवेशनका लागि वर्तमान सभापति शेरबहादुर देउवाले पुन: नेतृत्वका लागि इच्छा जाहेर गरिसकेका छन् भने संस्थापनइतरका रामचन्द्र पौडेलले पनि सभापतिका लागि अनुनय गरिसकेका छन् ।