जितबहादुर विशंखे: ७५ हजारबाट स्वरोजगार हुँदै घर निर्माणदेखि सफल उद्यमीसम्म

जितबहादुर विशंखे: ७५ हजारबाट स्वरोजगार हुँदै घर निर्माणदेखि सफल उद्यमीसम्म

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार १५, २०७८

 म जित बहादुर विशंखे । वर्ष  45 । जन्मस्थान फलाँटे ३ धनकुटा । हाल  तेह्रथुमको म्याङलुङ बजार ।  'महिमा सूज सेन्टर'को सञ्चालक । 

म तेह्रथुम आउनू अगाडि आफ्नै ठुलो बुवाका छोरासँग सङ्खुवासभाको चैनपुरमा बसेर छाला जुत्ता तयारी सम्बन्धी सीप सिकेको थिएँ । मेरो परिवार विपन्न खालको हो । मेरो परिवारमा एक जना भाइ एक जना बहिनी र आमा बुबा सहित ५ जनाको परिवार रहेको छ ।

मेरो परिवारको आर्थिक अवस्था एकदमै कमजोर थियो ।  आमा बुवाको सल्लाह बमोजिम नै  आफूसँग भएको सिपलाई सदुपयोग गरी सानो व्यवसाय सञ्चालन गर्न सकिन्छ कि भनेर भौतारिंदै तेह्रथुमको म्याङलुङ बजार आएको हुँ ।  

 मैले कक्षा सातसम्म पढेको छु । मैले म्याङलुङ बजारको एउटा सानो कोठा भाडामा लिएर जुत्ता चप्पल मर्मत तथा तयारी गर्ने पेसा सुरु गरे ।  सानोतिनो  लगानी गरी व्यवसाय सञ्चालन गर्नको लागि मसँग पुँजीको अभाव थियो । 

मेहनत र इमानदारिताले होला सायद बजारमा ग्राहकहरू बढ्दै जान थाले । त्यसपछि व्यवसायलाई थप वृद्धि गर्ने सोच ममा पलायो । सोच त पलायो मसँग लगानी गर्ने थप रकमको अभाव भयो । 

स्वदेशमा नै केही गर्न सोच आएको तर सहुलियत दरमा कर्जा प्राप्त गर्न पाए व्यापार व्यवसाय बढाउन सकिन्छ कि भनेर स्थानीय साथी भाइसँग अनौपचारिक कुरा गर्न थालेँ । एक जना साथीले स्थानीय  सहकारीमा स्वरोजगारी सम्बन्धी कार्यक्रम रहेको जानकारी दिनुभयो । 

 त्यसपछि मैले तेह्रथुम स्थित म्याङलुङ बजारमा सञ्चालित सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा सम्पर्क गरेँ । सहकारीले युवा उद्यमीहरुको लागि युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सहुलियत कर्जा कार्यक्रम रहेको र त्यो प्राप्तिका लागि पुर्‍याउनु पर्ने विधि बताउनुभयो । 

सबै जानकारी प्राप्त भएपछि मैले सहकारीबाट युवा स्वरोजगार कर्जा लिनको लागि सहकारीले तयार गरेको ढाँचा अनुसार आवेदन फारम भरेँ । मैले भरेको आवेदन फारम अनुसार सहकारीले मलाई ७५ हजार कर्जा उपलब्ध गराउने निर्णय गर्‍यो । यसरी प्राप्त ७५ हजार कर्जा लिई ब्यवसायमा लगानी गरेँ । 

सहकारीबाट सहुलियत कर्जा लिएर ब्यवसायमा लगानी  नगर्दा दैनिक ५०० देखि १००० सम्म कमाई हुने गरेकोमा हिजो आज  व्यवसायमा वृद्धि भई दैनिक १५०० देखि २००० सम्म कमाइ हुने गरेको छ । 

 हाल म्याङलूङ बजारको बिच भागमा  'महिमा सूज सेन्टर' सञ्चालन गरिरहेको छु । मेरो सूज सेन्टरमा अर्डर बमोजिमको सबै किसिमका जुत्ता–चप्पल तयार गरेर दिने गरेको छु  । मेरो पसलमा मोटर साइकलको सिटकभर पनि अर्को आकर्षण रहेको छ ।  आफ्नो व्यवसाय वृद्धि तथा आय आर्जन मासिक ५० देखि ६० हजारसम्म बचत गर्न सफल भइरहेको छु । जसले मेरो परिवारको खर्च धान्न सहज भएको छ भने केही बचत गर्न सफल भएको छु । यही व्यवसायकाे आर्जनबाट  हाल म्याङलुङ न.पा. को कार्यालय छेउमा ५ आना जग्गामा चार कोठे पक्की घर समेत बनाउन सफल भएको छु ।

यसरी मैले व्यावसायिक सफलता गरेको भन्दै  सहयोगी बचत तथा ऋण सहकारी संस्थाले मलाई छाला जुत्ता निर्माण व्यवसायमा सफल उद्यमी भनी प्रशंसा पत्र समेत दिएको छ ।   


 मैले सहकारीको ऋण लिनू पूर्व विभिन्न बैक तथा वित्तीय संस्थामा कर्जा लिनको लागि धेरै पटक धाएँ । तर मसँग धितो राख्ने कुरा केही नभएका कारण बैंकबाट कर्जा प्राप्त गर्न सकेको थिइन । यसरी धितो नहुनेले पनि सहुलियत कर्जा पाइने रहेछ भनेर सबैलाई जानकारी होस भन्ने उद्देश्यले पसलमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सहयोगमा सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट वित्तीय सहयोग प्राप्त भनेर बोर्ड नै राखेको छु ।

परिवार तथा साथीभाइले विदेश जाने सल्लाह दिए पनि मलाई पटक्कै सोच आएन । यसरी महिमा सूज सेन्टर सञ्चालन गर्दै आफूले जानेको सिप आफ्ना बुवा ठुटे सार्की र भाइ गङ्गाबहादुर विसंखेलाई समेत सिकाई रहेको छु । हालै मैले छाला जुत्ता प्रशोधनका लागि ठुला मेसिन समेत खरिद गर्न सफल भएको छु । जसले आधुनिक जुत्ताहरूसँग प्रतिस्पर्धा गर्न सहज हुने मेराे अनुमान छ ।