जाजरकोटमा नौै वर्षमा पनि बनेन स्वास्थ्य संस्था

जाजरकोटमा नौै वर्षमा पनि बनेन स्वास्थ्य संस्था

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार १६, २०७८

जाजरकोट । एउटा स्वास्थ्य निर्माण हुन कति वर्ष लाग्ला ? दुई वर्ष, तीन वर्ष ? तर यहाँको जुनीचाँदे गाउँपालिका–१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीको प्रसूति भवन निर्माण शुरु गरेको नौ वर्ष बित्दा पनि निर्माण पूरा गर्न सकेको छैन । निर्माणको जिम्मा लिएको कम्पनीको चरम लापरबाही र सरकारी उदासीनताका कारण भवन बन्न नसकेको हो । लामो समयदेखि भवन निर्माण अलपत्र परेपछि भवनको जगमा झार, घाँस उम्रिएका छन् । भवनमा राखिएका झ्याल, ढोका र पर्खाल जीर्ण भएका छन् । 

भवन निर्माणका लागि आवश्यक पर्ने बालुवा, गिट्टी र ढुङ्गा व्यवस्थापनको जिम्मा पाएका गोरे बुढाले रु पाँच लाख ४० हजार रकम नपाएको गुनासो गरेका छन् । झ्याल ढोका बनाउने जिम्मा लिएका अमरबहादुर बुढा र गोविन्द बुढाको पनि तीन लाख ८० हजार रकम नपाएको गुनासो छ । “रकम असुलीका लागि धेरै पहल गर्यौँ तर पाइएको छैन”, पीडित गोरे बुढाले भन्नुभयो, “ठेकेदारले पेटी ठेकेदारसँग माग्न भन्छ । पेटी ठेकेदारले मुख्य ठेकेदारसँग माग्न भन्छ । दिँदैनाैँ भन्दैनन् तर पाइएको छैन । वर्षौं बितिसक्यो । न काम शुरु हुन्छ । काम शुरु होला र मागाैँला भन्दाभन्दै नौ वर्ष बितिसकेछ ।”

फ्राइन्डस कन्स्ट्रक्शन प्रालि काठमाडौँ–३५ ले निर्माणको जिम्मा लिएको भवन अहिलेसम्म अलपत्र अवस्थामा रहेको हो । डेढ वर्षभित्र काम सम्पन्न गर्ने गरी विसं २०६९ वैशाख २१ गते सम्झौता भएको थियो । एक करोड २७ लाख ११ हजार ६ मा निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि भवन निर्माण पूरा हुन नसकेको सङ्घीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतले जनाएको छ । 

कार्यालयमा भएको सम्झौताअनुसार वित्तीयतर्फ १० दशमलव ६ र २० प्रतिशत भौतिक कार्य गरेर ठेकेदार कम्पनी फरार रहेको कार्यालयका इन्जिनीयर टीकाराम पोखरेलले बताउनुभयो । पटकपटक ताकेता गर्दा पनि ठेकेदार कम्पनी सम्पर्कमा नआउँदा समस्या भएको उहाँको भनाइ छ ।

प्रालि काठमाडौँ–३५ का सञ्चालक पुष्प बजगाईंले सहायक (पेटी) ठेकेदारका रूपमा छेडागाड नगरपालिका–५ कर्णबहादुर थापालाई राखेका थिए । आफूले थापालाई पेश्की रकम  २५ लाख ४० हजार दिएर काम अघि बढाउन भने पनि कुनै खर्च नगरी कामदारलाइ पैसा नदिएको र काम पनि अलपत्र पारेको बजगाईंको गुनासो छ ।

लामो समयदेखि निर्माण हुन नसकेको बडकुले स्वास्थ्य संस्था भवन निर्माणको ठेक्का सम्झौता तोड्ने प्रक्रिया चलिरहेको छ । बड्कुले स्वास्थ्य चौकी ठेक्का सम्झौता तोड्नका लागि प्रक्रिया अगाडि बढेकोे इन्जिनीयर पोखरेलले बताउनुभयो । निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने, धरौटी जफत गरी नौ वर्षसम्म अलपत्र पारे बापतको क्षतिपूर्तिसमेत ठेकेदार कम्पनीबाट भराउने गरी कारबाही प्रक्रिया अघि बढेको इन्जिनीयर पोखरेलले बताउनुभयो  । उहाँले आगामी आर्थिक वर्ष नयाँ टेन्डर प्रक्रियाबाट भवनलाई पूर्णता दिइने बताउनुभयो । 

भवन निर्माण काम अलपत्र पार्ने कम्पनीलाई सम्बन्धित कार्यालयले कारबाही गर्न नसकेको वडाध्यक्ष चन्द्रबहादुर शाहीले बताउनुभयो । “एउटा ठेकेदारका कारण सयौँ महिलालाई दुःख भएको छ”, उहाँले भन्नुभयो, “भवन नबन्दा उपचार र अन्य सेवा प्रवाह भाडाको घरबाट भइरहेको छ ।”