स्थानीय बीचमैै विवाद हुँदा सडकको बिजोग

स्थानीय बीचमैै विवाद हुँदा सडकको बिजोग

लोकसंवाद संवाददाता  |  समाज  |  असार १६, २०७८

भक्तपुर । स्थानीय बासिन्दा बीचकै विवादका कारण मध्यपुरथिमि नगरपालिका कार्यालय अगाडिको हुलाक मार्ग सडकको अवस्था बिग्रिएको छ । सात सय मिटर उक्त सडक कालोपत्र गर्नका लागि नगरपालिकाले ६० लाख बजेट विनियोजन गरेर ढलको व्यवस्था गरी कालोपत्र गर्न बेस बिछ्याएपछि आएको विवादका कारण काम रोकिँदा सडक हिलाम्मे बनेको छ ।

विसं २०७४ देखिको विवाद मिलाउँदै सडकको सीमाङ्कनका क्रममा मापदण्डभित्र परेका संरचनामध्ये घर नभत्काउने र पेटी नछाड्ने सहमति गरी सडक सीमाङ्कन सकेर कालोपत्र गर्न शुरु भएपछि नयाँ विवादका कारण काम रोकिएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ बताउनुहुन्छ ।

चालु आवमै कालोपत्र सम्पन्न गर्नेगरी सडकको टेन्डर स्वीकृत भएको एक वर्ष बित्न लाग्दा पनि निर्माण व्यवसायीले काम गर्न पाएको छैन । सडकमा दोहोरो बेस हाल्नु पर्दा नोक्सान व्यहोर्नु पर्ने अवस्थामा पनि अवरोध नभए कालोपत्र गर्न तयार रहेको निर्माण व्यवसायीले जनाए पनि स्थानीयवासीले अवरोध गरेपछि काम ठप्प भएको छ । 

सडकमा दोहोरो बेस हाल्न ल्याएको ग्राभेलसमेत बिछ्याउन नदिएपछि सडकको बीचबीचमा ग्राभेलको थुप्रो छ भने कतै खाल्डो र ढलको मङ्गल राख्ने ठाउँ खुला रहँदा निकै जोखिम बढेको छ । सडकको बीच र व्यक्तिको घर तथा जमीन माथि भएर गएको विद्युत्को हाइटेन्शन लाइनलाई अन्डरग्राउन्ड गरेर लैजाने तयारी भएपछि स्थानीयबीच विवाद भएको नगरपालिकाको भनाइ छ । 

नेपाल विद्युत् प्राधिकरणले दुई करोडको बजेट खर्च गर्दै सडकभन्दा पाँच फिट तलबाट अन्डरग्राउण्ड गर्दै हाइटेन्शन लाइन लैजाने गरी स्थानीयवासीसँग सहमति गरेको थियो । विद्युत् अन्डरग्राउन्ड गर्न स्थानीय उपभोक्तासँग करीब रु एक करोड सङ्कलनसमेत गरिएको थियो । विद्युत् अन्डरग्राउन्ड गर्न रु एक करोडको सामानसमेत आइसकेको छ । विवादबीच अन्डरग्राउन्ड गर्ने काम र कालोपत्र गर्ने दुवै काम रोकिएको छ । काम रोकिँदा स्थानीयवासीले नै सास्ती भोग्नु परेको छ ।

स्थानीयवासीमध्येको एक पक्षले हाइटेन्शन लाइनलाई अन्डरग्राउन्ड गरेर मात्रै सडक कालोपत्र गर्नुपर्छ भन्ने र अर्को पक्ष विद्युत् लाइनलाई अन्डरग्राउन्ड नगरी कालोपत्र गर भन्दै विभाजित भएपछि अन्डरग्राउन्ड र कालोपत्र गर्ने दुवै काम रोकिएको हो । 

नगरप्रमुख श्रेष्ठ भन्नुहुन्छ, “नगरप्रमुखले पालिका अगाडिकै सडक कालोपत्र गरेन भनेर बाहिर हल्ला चलाइएको छ, मैले धेरै पटक यहाँका बासिन्दासँग छलफल गरेर सहमतिको प्रयास गरेको हो, विद्युत् अन्डरग्राउन्ड गरेर सडक कालोपत्र गर्नुपर्छ भन्ने र अन्डरग्राउन्ड नगरी कालोपत्र गर्नुपर्छ भन्ने बीचका विवादका कारण सडकको काम रोकिएको हो ।”

विवाद र अवरोध नभए सडक तत्कालै कालोपत्र गर्न निर्माण कम्पनी तयार रहेको जनाउँदै उहाँले नगरको कार्यपालिका बैठकले सहमतिका लागि नगरपालिकाका उपप्रमुखलाई जिम्मेवारी दिएको जानकारी दिनुभयो । नगर उपप्रमुख अञ्जनादेवी मधिकर्मीले विवादका कारण सडकमा थुपारिएको ग्राभेल बिच्छ्याएर साना सवारी साधन चल्नसक्ने बनाउन खोज्दा पनि अवरोध आएपछि सडकको दुरावस्था भएको बताउनुभयो । 

विद्युत् लाइन अन्डरग्राउन्ड गर्न स्थानीयवासीसँग पनि रकम उठेको छ, नगरपालिकाले पनि एक करोड बजेट विनियोजन गरेको जनाउँदै उपप्रमुख मधिकर्मीले भन्नुभयो, “केही दिन अगाडि प्रहरी वृत्त थिमि अगाडिबाट अन्डरग्राउन्डका लागि पाइन बिछ्याउने काम शुरु गरेको थियो, त्यही अवरोध भएर काम रोक्नु प¥यो, स्थानीयबीच सहमतिको प्रयास भइरहेको छ, सहमति भए सडक कालोपत्र हुन्छ ।”

विद्युत् अन्डरग्राउन्ड गर्नु हुन्छ र हुँदैन भन्ने स्थानीयवासी दुई पक्षलाई एकै ठाउँमा राखेर छलफल गरेर सहमति भएपछि सडक कालोपत्र हुने जनाउँदै उहाँले त्यसका लागि आफूले समन्वय गरिरहेको बताउनुभयो ।