चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष : क्रान्तिकारी विरासत र चीनलाई विश्वको पहिलो शक्ति बनाउने यात्रा

चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष : क्रान्तिकारी विरासत र चीनलाई विश्वको पहिलो शक्ति बनाउने यात्रा

केशरमणि कटुवाल  |  दृष्टिकोण  |  असार १८, २०७८

१ जुलाई, १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट (सीपीसी) स्थापनाको १ सय वर्ष पूरा भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको १०० वर्षको दौरानमामा यसले चीनको घरेलु प्रतिक्रियावादी शक्ति, जापानी साम्राज्यका साथै विदेशी शक्तिको इशारामा चल्ने कठपुतली च्याङकाइसेक सरकारविरुद्ध भीषण संघर्ष गर्‍यो । माओत्सेतुङको नेतृत्वमा १ अगस्ट, १९४९ मा जनयुद्धमार्फत सत्तामा पुगेको चिनियाँ कम्युनिस्ट पार्टीले पछिल्लो ७२ वर्षमा चीनलाई विश्वको सर्वशक्तिमान राष्ट्रका रुपमा उभ्याउन सफल भएको छ ।

चीन सरकारले कम्युनिस्ट पार्टीको नेतृत्वमा गरेको अभूतपूर्व विकासलाई शताब्दी समारोहमा खुसियाली र सफल यात्राका रुपमा विश्वसामू पेस गरिरहेको छ । सोभियत संघको पतनसँगै विश्वमा कम्युनिस्ट सरकारहरु अन्त्य भइरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टीले यति लामो यात्रामा विश्वमै शक्तिशाली पार्टी बलियो बनाउँदै र राजनीतिक व्यवस्थालाई सदृढ तुल्याउँदै साम्यवादी सत्ता पतनको आशंकालाई गलत सावित गरिदिएको छ । 

हालै चीनले अन्तरिक्षमा आफ्नै स्टेशन बनाउन तीन जना अन्तरिक्ष यात्रीलाई पठाएको छ भने मंगलग्रहमा पठाएको मिसनले पठाएको भिडियो दुई दिनअघिमात्रै सार्वजनिक गरि सकेकाे छ ।  यसले चिनियाँ कम्युनिस्ट पार्टीको १०० वर्षको सुनौलो इतिहासलाई जोडिदिएको छ । लचिलो नीतिका बाबजुद चिनियाँ कम्युनिस्ट पार्टीको बलियो पकड चिनियाँ जनतासम्म फैलिएको छ । पार्टीको पूर्ण ध्यान चीनको अस्तित्व, वृहत्तर विकास र समृद्धिको दिशामा रहेका कारण आम जनतामा विश्वास कायम राख्न सफल भएको छ ।

‘सीपीसीको दृढ नेतृत्व बिना चीनको कुनै भविष्य हुने छैन । अमेरिका आफ्ना शक्तिसँग मिलेर चीनलाई दबाउन, धम्क्याउन र विश्वबाट अलग बनाउन लागि गर्नेछ ।’ राष्ट्रपति सी जिनपिङले बिहीबार चेतावनी दिँदै भने, ‘विदेशी शक्तिले चीनलाई धम्क्याउन वा नकारात्मक प्रभाव पार्न खोजेमा तिनको टाउकोमा प्रहार हुनेछ। बेइजिङले आफू मात्रै असल भनेर अरूलाई दिने उपदेशलाई सहनेछैन ।’

चिनियाँ कम्युनिस्ट पार्टी र त्यहाँका जनताको आकांक्षलाई एक साथ राखेर मात्रै यो यात्रा अघि बढेका कारण यो निकै संवेदनशील मानिदै आएको  छ । चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीलाई विगतको गौरवपूर्ण र देशभक्तिपूर्ण इतिहास, वर्तमानमा देखिएको सफलता र भविष्यको महानताका रुपमा प्रस्तुत गरिएको छ । कम्युनिस्ट पार्टीको सत्तालाई बलियो बनाइराख्न चीनले ठीक र चुस्त सञ्चारमाध्यम, शिक्षविद्, पार्टीका सदस्यदेखि विदेशीसमेतलाई एक सुत्रमा बाँध्न सफलता पाएको छ । 

जनतामाथि शासनको अधिकार

विश्वमै शासित र शासकबीच ठूलो अन्तर हुन्छ । तर सीपीसीले जनतामाथि शासनको जनादेश जनताको सेवाबाट प्राप्त गर्दै आएको छ । चिनियाँ सरकार त्यहाँका जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्दै शासनमा पनि अटुट समर्थन हासिल गर्दै आएको छ । यो पार्टीले स्थापनाकालमा नै चिनियाँ जनतामाथि जापानी साम्राज्यको बर्बरताविरुद्ध कठिन संघर्ष गरेको थियो । जससेवाको प्रयोग सन् १९४४ मा माओले सुरु गरेका थिए । यो सिद्धान्त हाल सी जिनपिङको कार्यकालमा झनै सार्थक बन्दै गएको छ ।

सीपीसीका महासचिव समेत रहेको सीले १०० वर्षको अवसरमा दिएको सन्देशमा धनी र सुविधा सम्पन्न जनताको नभएर आम जनताको सेवा गर्ने वास्तविक उद्देश्यमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन्। हार्वर्ड विश्वविद्यालयले हालै गरेको एक अध्ययनमा सरकारसँग चिनियाँ नागरिकको सन्तुष्टि सबैभन्दा बढी रहेको देखिएको थियो । चीनको विदेश मामिला उपमन्त्री झी फेंगले १४ जुनमा विदेशी प्रतिनिधिसँग भनेका थिए, ‘सीपीसीसँग कुनै जादुको छडी त छैन । तर पार्टी जनताको इच्छा र उनीहरुमा भइरहेको परिवर्तनबारे जानकार छ । यसकारण जनताको आवश्यकताको आधारमा नीतिहरु लागू गर्छ । पार्टी र आम जनताबीच पानी र माछाको जस्तो सम्बन्ध छ ।’

यतिमात्रै होइन कुनै पनि देशको भविष्य निर्माणका लागि त्यहाँको युवाको ठूलो भूमिका हुने गर्छ । युवा ऐतिहासिक रुपमा चिनियाँ समाजका प्रभावशाली हिस्सा हुन् र यिनीहरुसँग सीपीसीको सम्बन्ध बलियो छ ।

कम्युनिस्ट पार्टीको रक्तरञ्जित इतिहास

चिनियाँ कम्युनिस्ट पार्टी आज जस्तो अवस्थामा उभिएको छ, यसको जगमा हजारौं हजारको बलिदाली, त्याग र समर्पण जोडिएको छ । चिनियाँ जवादी क्रान्ति र यसबाट लेखिएको रक्तरञ्जित इतिहासले चिनियाँ कम्युनिस्ट पार्टीलाई सधैं निर्देशित गरिरहेको छ । क्रान्तिकारी विरासत, गौरवशाली इतिहास र बलिदान आज पनि कम्युनिस्टका लागि प्रेरणादायी छन् । ठूलाठूला ब्यानर, पोस्टर, फिल्म र टेलिभिजन सिरिजमा पनि यी विषयलाई निरन्तर प्रशारण गरिदै आएको छ । चिनियाँ लङमार्च र सांस्कृतिक क्रान्ति चिनियाँ जनतालाई मात्रै नभएर विश्वका कम्युनिस्टका लागि सधैं क्रान्तिको दिशामा अघि बढ्न झकझक्याइरहने परिघटना हुन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले क्रान्तिकारी पाइलाहरु विगतमा कसरी अघि बढेका थिए भन्ने गौरवपूर्ण यात्रालाई यतिबेला प्रशारण गरिरहेका छन् । इतिहासबाट पाठ सिक्न सीपीसीले ऐतिहासिक स्थानको भ्रमण, पार्टी संग्रहालय र क्रान्तिकारी स्मारकहरुको यात्रामा जोड दिइरहेको छ । राष्ट्रपति सीले गत फेब्रुअरीमा पार्टीको इतिहास जान्नका लागि अभियान सुरु गरेका थिए । उनले सबै स्तरमा रहेका पार्टीका कार्यकर्तालाई पार्टीको इतिहासतिर नजर लगाउन अनुरोध गरेका थिए । सीपीसीको आधिकारिक जर्नल छ्युशीको ताजा अंकमा सी जिनपिङले इतिहास पार्टीको अडिग संघर्षको सबैभन्दा राम्रो पाठ्यपुस्तक रहेको भन्दै यसको ज्ञानले पार्टी र देशप्रति अनुराग उत्पन्न हुने उल्लेख गरेका छन् । 

पार्टीले लामो समयदेखिको सत्तालाई अझै बलियो बनाउँदै आर्थिक विकास र सामाजिक स्थिरतामाथि भरोसा उत्पन्न गराएको छ । चीनमा एउटा भनाई चर्चित छ–राजालाई राज गर्ने अधिकार उसको शासन गर्ने तरिकामा निर्भर हुन्छ । यतिबेला चीनले यसलाई राम्ररी अनुशरण गर्न खोजिरहेको छ । चीनले केही समयअघि नै गरिबी उन्मूलनको घोषणा गरेको छ भने वुहानबाट सुरु भएको कोरोना महामारीमाथि पाएको जितले उसको क्षमतालाई देखाउँछ ।

चीनमा कम्युनिस्ट पार्टीले भर्खरै सत्ता स्थापना गर्दै गर्दा विश्वमा शक्तिशाली भएका राष्ट्रलाई कोरोनाले थला पार्दा चीन ऐतिहासिक रुपमा आर्थिक वृद्धिका साथ अघि बढ्न सफल भएको छ । सोभियत संघको पतन चिनियाँ कम्युनिस्ट पार्टीका लागि सबैभन्दा गतिलो पाठ बन्न पुग्यो । त्यसैले सधैं यस्तो अवस्था आउनबाट बच्न सीपीसीले कोशिस गरिरहेको छ ।

सन् २०१२ मा सी सत्तामा आउँदा चिनियाँ कम्युनिस्ट पार्टी केही संकटको सामना गरिरहेको थियो । पार्टीभित्रको गुटबन्दी, असक्षमता र भ्रष्टाचार चुनौतिका रुपमा देखिन थालेको थियो । सीले पार्टीभित्र सुधार र अनुशासनात्मक अभियान चलाए, बैठकमा सामूहिक अध्ययनमा जोड दिए भने आत्मआलोचनाको पद्धतिलाई पुनः सुरु गरे । उनले चालेको भ्रषचारविरोधी कदम विश्वभरी चर्चाको विषय बन्यो । 

सामूहिक उद्देश्य

राष्ट्रपति सी जिनपिङले सन् २०४९ सम्म चीनलाई विश्वको एक नम्बर शक्तिका रुपमा उभ्याउने लक्ष्य दिएका छन् । चीनमाथि विश्वबाट उत्पन्न चुनौतीको सामना गर्दै साम्यवादको यात्रालाई गन्तव्यसम्म पुर्‍याउन यतिबेला सामूहिक उद्देश्य सीपीसी र जनताबीचमा छ । यसको स्पष्ट सन्देश भनेको पार्टीलदे चीनलाई संसारमै स्थापित बनाइरहेको छ । विदेशी शक्तिले यो मार्गमा गरिरहेको अवरोधको सामना गर्न पनि चीन तयार बन्दै गएको छ । ग्लोबल टाइम्सले हालै आफ्नो सम्पादकीयमा लेखेको छ, ‘सीपीसीको दृढ नेतृत्व बिना चीनको कुनै भविष्य हुने छैन । अमेरिका आफ्ना शक्तिसँग मिलेर चीनलाई दबाउन, धम्क्याउन र विश्वबाट अलग बनाउन लागि गर्नेछ ।’ राष्ट्रपति सी जिनपिङले बिहीबार चेतावनी दिँदै भने, ‘विदेशी शक्तिले चीनलाई धम्क्याउन वा नकारात्मक प्रभाव पार्न खोजेमा तिनको टाउकोमा प्रहार हुनेछ। बेइजिङले आफू मात्रै असल भनेर अरूलाई दिने उपदेशलाई सहनेछैन ।’

राष्ट्रवादी उत्साहलाई बढाउँदै सीले सहयोगी देशका लागि चीनलाई वैश्विक केन्द्रका रुपमा उभ्याएका छन् । यसै सिलसिलामा चीन विश्वमै उदाउँदो शक्तिका रुपमा आएको छ भने पश्चिमा शक्तिहरु यसबाट अत्तालिएका छन् । 

चाइना डेलीले लेखेको छ, ‘२० औं शताब्दीको सुरुवातमा सीपीसीले चीनमा एक अस्पष्ट, तितरवितर र समन्वयको अभावमा कम्युनिस्ट आन्दोलनको रुपमा आफ्नो यात्रा सुरु गरेको थियो । एक शताब्दीपछि पार्टी एक सम्भावित महाशक्तिमाथि शासन गर्ने वैश्विक शक्तिका रुपमा आफ्नो आगामी यात्रा सुरु गरिरहेको छ ।’