'विष्णु पौडेलको बालुवाटारकाे जग्गा सरकारले लिन्छ, क्षतिपूर्ति दिँदैन'

'विष्णु पौडेलको बालुवाटारकाे जग्गा सरकारले लिन्छ, क्षतिपूर्ति दिँदैन'

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २०, २०७६

काठमाडाैं । नेकपाका महासचिव विष्णु पौडेलको बालुवाटारस्थित जग्गा फिर्ता लिने र क्षतिपूर्ति पनि नदिने सरकारले बताएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले व्यक्तिका नाममा दर्ता भएको बालुवाटारस्थित ललितानिवासको जग्गा सरकारले फिर्ता लिने निर्णय गरिसकेकाले कसैलाई पनि क्षतिपूर्ति नदिने बताएका हुन् । 

‘जसले ठगी गरेको छ उसैले क्षतिपूर्ति तिर्छ । शेरबहादुर देउवा, विष्णु पौडेल वा सुवर्णशमशेरको हकमा पनि त्यही लागू हुन्छ । उहाँहरूको छ भने सरकारले लिन्छ, क्षतिपूर्ति तिर्दैन, हामीले जानेको त्यति हो,’ मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजिन पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले भने, ‘मैले धेरैपटक सरकारको पोजिसन स्पष्ट पारिसकेको छु । कोहीप्रति रिसइबी साँध्ने हिसाबले पुरातात्विक उत्खनन गरेजसरी ल्याइएको विषय होइन । यो सुशासन र सरकारी सम्पत्तिको सुरक्षाभित्र पर्छ । यसमा चारतारे–लालतारे जो–कोही पर्नुभएको छ र तथ्य–प्रमाणले देखाउँछ भने कसैलाई पनि छुट दिन सक्दैनौँ ।’ यसअघि आफूले बोलेको विषयलाई बंग्याएर पूर्वाग्रही सूचना सम्प्रेषण गरिएको भन्दै उनले आपत्तिसमेत जनाए । 

बाँस्कोटाले सरकारको जग्गा किर्ते कागजमार्फत व्यक्तिमा नामसारी गर्ने धन्दामा लाग्ने गिरोहलाई पनि कारबाही गरेरै छाड्ने बताए । ‘जो–जो धन्दामा थिए, ती गिरोह कोही पनि बच्ने छैनन्, छानबिन प्रक्रिया अघि बढिसकेको छ,’ बाँस्कोटाले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।