प्रदेश १ : नाम तथा राजधानी विवाद, नेकपाले ‘ह्विप’ लगाएर टुंग्याउने

प्रदेश १ : नाम तथा राजधानी विवाद, नेकपाले ‘ह्विप’ लगाएर टुंग्याउने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २०, २०७६

विराटनगर । सरकार र पार्टी नेतृत्व एकातिर, बहुसंख्यक सांसद अर्कातिर हुने अवस्था देखिएपछि प्रदेश एकको नाम र राजधानी निर्धारण अब नेकपाको पार्टी ‘ह्विप’ बाट टुंगिने निश्चित भएको छ। नेकपा प्रदेशको पार्टी नेतृत्व र सांसदबीच बुधबार सुरु भएर बिहीबार राति अबेरसम्म चलेको चरणबद्ध बैठकमा सहमति जुट्न नसकेपछि पार्टी नेतृत्वले विराटनगरलाई राजधानी बनाउन ह्विप लगाउने तयारी गरेको हो।

अधिकतर सांसद विराटनगरको विपक्षमा उभिएको अवस्थामा यसलाई कम विवादित बनाउन ‘बृहत् विराट विकास क्षेत्र’ भित्र राजधानीको संरचना बनाउने योजनामा प्रदेश सरकार छ। प्रदेश सरकारले ‘स्याटेलाइट सिटी’ को अवधारणा भन्दै विराटनगरसहित सेरोफेरोका १८ स्थानीय तहलाई समेटेर बृहत् विराट विकास क्षेत्र घोषणा गरिसकेको छ।

‘विराटनगरलाई राजधानी तोक्ने तर नयाँ संरचना चाहिँ बृहत् विराट क्षेत्रमा बनाउने गरी तयारी भइरहेको हुनसक्छ,’ प्रदेश सरकार स्रोतले भन्यो ‘त्यसो गर्दा कुनै कानुनी जटिलता आउला कि नआउला त्यसको अध्ययन हुँदैछ।’ यस्तो निर्णय भए नेकपा संसदीय दलमा सहमति हुने अवस्था छ। आजको नागरिक दैनिकमा खबर छ ।