बालुवाटारमा एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल पक्षले बहिष्कार गर्ने

बालुवाटारमा एमाले केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल पक्षले बहिष्कार गर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १८, २०७८

काठमाडौं  ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बुधबार दशौं महाधिवेशन आयोजक कमिटी भंग गर्दै अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएका थिए।

बैठक बिहान ११ बजे बालुवाटारमा बस्नेछ ।  आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल-माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ । पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको उक्त पक्षले अहिलेको स्थितिमा बैठकमा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो ।

अध्यक्ष ओलीले पार्टीलाई माओवादी केन्द्र–एमाले एकता अघिकै अवस्थामा फर्काउन भन्दै केन्द्रीय कमिटीको बैठक बोलाइएको भए पनि पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएका छन् । २ सय ६४ जनाको महाधिवेशन कमिटीलाई नै केन्द्रीय कमिटीमा रूपान्तरण गरिएको छ । अध्यक्ष ओली २ जेठ २०७५ मा नफर्किएर आफ्नो पुरानो निर्णय २८ फागुन २०७७ मा फर्किएको नेपाल पक्षको आरोप छ ।