हुम्लाका २ सय २४ घरधुरी आयोडिन नुनबाट वञ्चित

हुम्लाका २ सय २४ घरधुरी आयोडिन नुनबाट वञ्चित

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २०, २०७६

हुम्‍ला । नेपालमा आयोडिनयुक्त नुन अभियान सुरु भएको दुई दशक बितिसक्दा पनि हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीवासी तिब्बती ढिकेनुनमा निर्भर छन् । सदरमुकाम सिमकोटबाट चारदेखि पाँच दिनको पैदल दूरीमा पर्ने लिमीका तिल, हल्जी र जाँग नेपालका अन्य बस्तीभन्दा तिब्बतसँग नजिक छन् । यी बस्तीमा तिब्बती जीवनशैलीको प्रभाव बढी छ । ‘आयोडिन नुन खानुपर्छ भन्ने सुनेको भए पनि अहिलेसम्म कस्तो हुन्छ, देखेको छैन,’ तिल गाउँकी बासिन्दा सोनामपुटी तामाङले नयाँ पत्रिकासँग भनिन् । साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदानमा आयोडिन नुन वितरण गर्दै आएको जानकारी पाए पनि अहिलेसम्म नखाएको उनको भनाइ छ । 

नाम्खा गाउँपालिका–६ का कन्जोक लोप्साङ तामाङका अनुसार लिमीका तीनवटै गाउँ हल्जी, जाङ र तिलमा तिब्बतकै ढिकेनुन प्रचलनमा छ । ‘हामी त बाजेकै पालादेखि ढिकेनुन नै खान्छौँ,’ उनले भने । सरकारले साल्ट ट्रेडिङमार्फत आयोडिनयुक्त नुन प्रतिकिलो नौ रुपैयाँमा वितरण गरिरहेको छ । तर, उनीहरू २० रुपैयाँ प्रतिकिलोको ढिकेनुन खान बाध्य छन् । यस्तै, हाल चंखेली गाउँपालिका–६ नेप्काका बासिन्दाको पनि छ ।

तिब्बतको टाँकेनाकाबाट ढिकेनुन ल्याएर खाने गरेको चंखेली गाउँपालिका–६ का भैरव तामाङले  बताए । ‘जेठ–असार महिनामा तिब्बतको हरियाचौरमा बजार लाग्छ । नुन, तेल, चामल र लुगाफाटो त्यतैबाट किनेर ल्याउँछौँ,’ उनले भने । सरकारले दुई बालबालिकाको चिह्न भएको प्याकेटको नुन खान भने पनि स्थानीयको पहुँचमा पु-याउन सकेको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।