भारतमा ४६ हजार नयाँ सङ्क्रमित, मृतकको सङ्ख्या चार लाखभन्दा बढी

भारतमा ४६ हजार नयाँ सङ्क्रमित, मृतकको सङ्ख्या चार लाखभन्दा बढी
ढुसी काेराेन

लोकसंवाद संवाददाता  |  विदेश  |  असार १८, २०७८

एजेन्सी ।  भारतमा कोरोनाभाइरसबाट थप ४६ हजारभन्दा बढी नयाँ सङ्क्रमितहरु थपिएका छन् ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ६१७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । 

पछिल्लो समयमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या ५० हजारभन्दा कम हुदै गएको पाइएको छ । 

दैनिक लाखौँ नयाँ सङ्क्रमित थपिने गरेको भारतमा केही हप्तादेखि सङ्क्रमितहरुको सङ्ख्यामा कमी आउन थालेको छ । 

संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमित मध्ये ९७।०१ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ । 

भारतमा अहिलेपनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पाँच लाख नौ हजार ९६३ रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । 

भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड चार लाख ५८ हजार २५१ पुगको मन्त्रालयले जनाएको छ । 

त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख ३१२ जनाको मृत्यु भएको पनि मन्त्रालयलका अधिकारीहरुले जानकारी दिएका छन् । 

ती मध्ये ८५३ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो । 

पछिल्लो २४ घण्टामा भारतमा थप ५९ हजार ३८४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । 

योसँगै सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई लाख ९५ लाख ४८ हजार ३०२ पुगेको छ ।