जलदेवी रिसाएपछि...

जलदेवी रिसाएपछि...

करुणा राई  |  साहित्य  |  असार १९, २०७८

बिहान–बिहानै सिपाही बतास
सुख्खा स्पर्शको बिगुल फुक्दै
मेरो बाँझो मन तर्साउन आइपुग्छ
उसले नदीलाई उडाउन सक्दैन
बादल नबाएर
हुरीको रकेटले आकाशतिर ।

खडेरीसँगको मुठभेडमा
क्षतविक्षत भएर रगतको सावारमा
निथु्रक्क हुन असमर्थ छ बादल
प्यासले प्याकप्याक्ती बनेर खसेका छन्
चराचुरुङ्गीहरू हाँगाबाट
आगो ओकलेर राँकेजुलुस लगाउँदैछन्
ढुङ्गा, माटो, बालुवा र बगरहरू ।

सन्त्रासको आँधीले चुटेर
आधा पिल्ठो भएको छ
आदिवासी जङ्गल
आफू जत्रै आगोको भकुण्डो घिसार्दै
आकाश फन्को लगाउँछ घाम
मूल सुकेर धुलोमा बिलय भएको छ
जलमा छैनन् जलपरीहरू ।
 
बच्चाहरू !
भोक निलेर मधौरो परेका छन्
बुढाबुढीहरू अगेना हेर्दाहेर्दै
शिथिल भइसकेका छन्
र यस बेला म सकिनसकी
जङ्गलतिर-
कन्दमूल खोज्न निस्किएकी छु ।
रिसानी माफ पाऊँ जलदेवी !
भूल भए क्षमा देऊ
पानी देऊ, पानी देऊ ।