सबै धर्ममा ईश्वरको सत्ता र अस्तित्व स्वीकार: दर्शन, धर्म र संस्कारका बिचको विभेद

फर्किलान् र ती दिनहरू

सबै धर्ममा ईश्वरको सत्ता र अस्तित्व स्वीकार: दर्शन, धर्म र संस्कारका बिचको विभेद

लोकसंवाद संवाददाता  |  साहित्य  |  असार १९, २०७८

अहिलेसम्म पत्ता लागेको दोहोरो संवाद गरेर आफ्ना कुरा भन्ने र अरूका कुरा सुन्ने अनि त्यसमा चिन्तन गर्न सक्ने चेतनशील प्राणी मानव हो, मानिस हो । यहाँ मानिस भनेको सम्पूर्ण मानव समुदायलाई इङ्गित गरिएको हो । कहिले लाग्छ, मानिसले कति सृजनात्मक कामहरू गर्न सकेको होला । कसैको कल्पनामा समेत नआएको काम गरेर देखाउने र त्यसले मानव समुदायको मात्र होइन, सम्पूर्ण ब्रह्माण्डका बारेमा समेत चिन्तन गरेर आफूलाई श्रेष्ठ प्राणीको रुपमा गणना आफैँले गराएको छ किनभने अरु कसले हामी मानिसको मूल्याङ्कन गर्ने र ? 

 कुनै विचार सोच्न सक्ने क्षमता नै ब्रह्म हो र त्यो ब्रह्मको प्रयोगले सबै प्राणी मात्र होइन कि पूरा ब्रह्माण्डकै हितमा काम गर्ने क्षमता नै परब्रह्मको आधार हो । अनि चिन्तनबाट नै मानिसको जन्म  मृत्यु र पुनर्जन्मको रहस्य पत्ता लागेको भन्ने पूर्वीय मान्यता छ । धेरै मान्यताहरू उत्पन्न भए र कति त अब अस्तित्वमा नै नहोलान् किनभने सायद ती मान्यताका विकल्पमा ठोस आधारहरू तयार भए र तिनले ती मान्यताहरू खारेज गरे होलान् ।  खोजकर्तालाई ऋषि भनिन्थ्यो । उनीहरूले तपस्या गर्थे अर्थात् चिन्तन गर्थे , चिन्तनलाई मूर्तरूप दिनका  लागि प्रयोग गर्थे, त्यही कामलाई हामीले घनघोर तपस्या भन्ने गरेका छौँ । ऋषिहरू थिए । जसलाई आज पनि हामी ऋषिका रुपमा अमर भएका मान्छौँ र आकाशमा देखिने नक्षत्र, ग्रह र ताराहरूको नाम राखेका छौँ । 

जाज्वल्यमान ज्योतिको पिण्डलाई सूर्य भन्छौँ र सूर्य पुराण तयार गरेको देखिन्छ । ती ग्रहहरूको विचरण मार्गलाई आधार बनाएर तयार गरिएका पर्यावरण शिक्षा नै ज्योतिर्शिक्षा हो । खगोल शिक्षा हो ।  प्राचीनकामा भनियो,  दिनमा सूर्य देखिने सूर्य विचरण गर्छन्, सात दिनका नाममा सात ओटा घोडामा सबार भएर गतिशील बाटोमा सधैँ अगाडि बढ्छन् र पृथ्वीको परिक्रमा गर्छन् । अनि भनियो ब्रह्माण्ड अर्थात् त्यसको आकार अण्डा  जस्तो छ र त्यसैको वरिपरि सूर्य घुम्छन् ।  अनि सौर्य परिवारको कल्पना गरियो । अर्थात् पृथ्वी स्थिर छ तर ग्रहादि विचरण मार्गमा सधैँ हिँड्छन् ।पछि पत्ता लाग्यो कि पृथ्वी गतिशील छ तर सूर्य गतिहीन छ । सबै सौर्य परिवार सूर्यकै परिक्रमा गर्छन् । गतिशीलताका सिद्धान्त प्रतिपादन भयो  अनि पुरानो विचारमा संशोधन गरियो तर अझै पनि खगोल शास्त्रका अकाट्य तर्कहरूको परिणाम पहिलेकै ज्योतिर्विज्ञानका आधारमा प्रमाणित छन् र अविचलित रुपमा तिनको परिणाम आएकै छ ।

यसका लागि ग्रहणका बारेमा पूर्वीय तर्क र प्रमाण अनि ताराको गतिशीलता र त्यसको परिणामलाई लिन सकिन्छ । तपस्यारत ऋषिहरूले समाजका लागि बाटोको तय गरे, त्यसैलाई दर्शन भनियो । सकेसम्म उठ्ने सक्ने प्रश्न र जिज्ञासाका बारेमा उत्तर तयार गरिएकोले दर्शनमा सबै कुराहरू समेटेको पाइन्छ । त्यस्तो धेरै ऋषिहरूले पूर्वीय धरातलमा तयार गरेको धारणालाई पूर्वीय चिन्तन भनियो । समयानुकूल बाटोको तयारी गरेकाले दर्शनहरू पनि परिवर्तनशील देखिए । ती दर्शनहरूले जीवन र जगतका रहस्यहरूको बारेमा खोतल्ने प्रयास गरे, आज पनि त्यो काम बाँकी छ र निरन्तर चलेकै छ ।

आत्म शुद्धि र आत्मसन्तोषको एउटा मनोवैज्ञानिक उपाय रहेछ । तर हामी बाध्यकारीरुपमा मानेका छौँ किनभने त्यसलाई हामीले आध्यात्मिक चिन्तनको रुपमा बलजफती मानेका छौँ । हो यहीँनेर हो , तर्क र विश्वासको जग तयार गरेर मानिसहरूलाई चिन्तनशील बनाउने र आँखा चिम्लेर कुनै धर्मको समर्थन गर्नेभन्दा पनि त्यसमा विवेचना गर्न सिकाउने कि त्यसो गर्दा हुने मानसिक र शारीरिक फाइदा के हुनसक्छ ?

जब रहस्यको गुत्थी खोलिएन, सबैले भन्ने के हो भन्ने पक्कै त्यस्तो कुनै शक्ति छ अदृश्य जसले यो सबै संरचना बनाएको होला । अनि अदृश्य शक्तिको कुरा गर्दा गर्दै कतिपय कुरामा नयाँ परिवर्तनले रहस्य खोतले, नयाँ चिन्तनले रहस्य खोतले अनि भनियो,  आखिर जीवन र जगतको रहस्य हामीसँगै छ, पत्ता लाग्न  नसकेको मात्र हो र पत्ता लागेका कुराहरूबाटै नयाँ नयाँ  समीकरण तयार गरेर पत्ता लगाउन सकिन्छ । जसले अदृश्य शक्तिप्रति विश्वास गरे, ती ईश्वरवादी भएका छन् र जो ब्रह्माण्डको उत्पत्ति नै भौतिकताका कारणले क्रिया, प्रतिक्रियाको परिणाम भन्छन्, तिनले ईश्वरको अस्तित्वमाथि प्रश्न उठाएकाले ती अनीश्वर बादी नै मानिए । अर्थात् पूर्वले नै तयार गर्‍यो  ईश्वरवादी र अनीश्वर वादीको जमात । तर ग्रिस र रोममा विचारको गठन र विघटनको प्रक्रियाले गति लियो, अनि भन्न थालियो दर्शनमा पनि पश्चिम र पूर्वको केही भेद छ । तर ईश्वरवादी र अनीश्वर बादीका बारेमा कुनै भ्रम रहेन किनभने जिज्ञासुहरूको आफ्ना मतहरू पनि निरन्तर गतिशील थिए ।

पूर्वको दर्शनको प्रादुर्भावका लागि समय सीमाको कुनै आधार देखिएन भने पश्चिममा समयलाई समय रेखाको आधार बनाइयो महात्मा जे ससको उत्पत्ति र उनको मृत्युपश्चात्को समय । पूर्वमा पृथ्वीको उत्पत्तिसँग धेरै कथाहरू छन् जसलाई पुराणले व्याख्या गरेका छन् । श्रुति र स्मृतिको आधारमा गरिने व्याख्या पनि धेरै विश्वसनीय छन् भन्नेहरू ईश्वरवादी मानिए भने देखिएका र प्रमाणित आधारमा भन्न सकिने , देख्न सकिने र अनुभूत गर्न सकिने मात्र ठोस आधार है भन्नेहरू अनीश्वर बादी मानिए । पूर्वको सिद्धान्त मूलतः ईश्वरवादमा आधारित छ  पश्चिमको सिद्धान्त मिश्रित देखिन्छ । प्रकृति र पुरुषको कल्पना गरेर सृष्टिको कुरा गर्ने पूर्वको तर्कमा पश्चिमले होइन त भनेर बरु त्यही प्रकृति र पुरुषको समीकरणद्वारा भौतिकवादको व्याख्या गर्‍यो । पूर्वमा पनि किराँत दर्शनले प्रकृतिको धारणालाई मान्यो तर अहिले आएर अनीश्वर वादीहरु पनि ईश्वरवादी जस्ता छन् र ईश्वरवादीहरू पनि अनीश्वर बादी जस्ता देखिन्छन् । त्यसैले संसारको सबैभन्दा पुरानो मानिएको कपिल मुनिद्वारा सुरुमा व्याख्या गरिएको साङ्ख्य दर्शनलाई कसैले मुख्य ईश्वरवादी दर्शनको रुपमा व्याख्या गरे भने कतिपय दार्शनिकहरूले त्यसैलाई पनि अनीश्वर वादीको रुपमा व्याख्या गरे किन रे भने जीवन र जगत्लाई एउटा प्रक्रियाबाट सुरु भएको मान्ने पहिला ऋषि कपिल हुन् । त्यसैले होला, कृष्णले अर्जुनलाई दिएको दिव्य ज्ञानरूपी गीतामा भने-म ऋषिहरूमा कपिल हुँ । 

चेतनशील प्राणीका बिचमा सधैँ एउटा जिज्ञासा देखिन्छ-आखिर यो संसार कसरी उत्पन्न भयो  ? अनुमानका भरमा छौँ अहिले पनि । भौतिकताको आधारमा व्याख्या गर्दै गयो, कुनै कुरामा गएर कसरी भयो होला भन्ने प्रश्नको उत्तर जब पाइँदैन, भन्नै परेको छ पक्कै ईश्वर थियो होला अनि ईश्वरको अस्तित्वका बारेमा सोच्दै गयो कुरा घुमेर प्रकृतिमा नै ठोकिन्छ र मानवले आफ्नो अस्तित्वको बारेमा आफैँलाई एकल आधार मान्छ र जीवनमा आत्मा , परमात्मा , पूर्व जन्म, पुनर्जन्मको व्याख्याबाट जीवन चलाउने कल्पना गरेको छ । पूर्वीय सोचको बुद्ध दर्शनलाई हामीले अनीश्वर वादी मान्दा पनि स्वयं बुद्धलाई विष्णुको अवतार मान्नेहरू छन् र मूर्ति पूजन गरेर बुद्धलाई भगवान्को श्रेणीमा राख्नेहरू छन् ।

प्रत्येक दर्शनमा असल जीवनका लागि सत्य बोल्ने, असल आचरण गर्ने जसलाई कसैले धर्म भने, कसैले नैतिकता भने त कसैले समाजका लागि बनाइएको बाटो माने । हिंसालाई मान्यता दिएको छैन तर हिंसाको उपायहरूमा विवाद देखियो । अर्थात् अहिंसाको बाटो नै असल मानियो तर त्यसका उपायहरू फरक फरक देखिए । दर्शनका बारेमा विवाद अझै निरन्तर चलिरहेको छ, सायद यो ब्रह्माण्डको बारेमा नयाँ नयाँ रहस्यको गुत्थी खुल्दै जाला र अरु नयाँ नयाँ प्रमाणहरू पत्ता लाग्ला, त्यसपछि दर्शनको स्वरूपमा पनि परिवर्तन आउला किनभने संसार परिवर्तनशील छ अनि यही संसारमा मानवले नै कल्पना गरेको दर्शन त पक्कै पनि परिवर्तनशील हुन्छ, यो त यो संसारमा रीत नै हो । त्यसैले कहिले त्यही मान्छे आफूलाई अनीश्वर वादी भेट्छ त कहिले आफूलाई ईश्वरवादी भेट्छ । तर कतिपय कुरा त फरक फरक दर्शनमा पनि उस्तै परिणाम देखिन्छ । 

मेरो आफ्नो अनुभव कस्तो छ भने आजभन्दा ३५ वर्ष अघि जस्तो लाग्छ, एक पटक महर्षि महेश योगीका १० जना जत्ति शिष्यहरू मैले पढाउने विद्यालय लेबोरेटरी स्कुलमा आए र हामीलाई ध्यानका बारेमा सिकाउने अनुमति मागे विद्यालय प्रशासनसँग । विद्यालयले पनि अनुमति दियो । उनीहरूले हामी शिक्षहरुलाई पालैपालो ध्यानका बारेमा सिकाउन थाले । के गर्छन् भने ढोका लगाए, धोती फेरे ,ती तर गोराहरू थिए अमेरिकाका हुनुपर्छ । ती हिन्दी बोल्थे अनि अङ्ग्रेजी । हामीलाई पनि हात गोडा धोएर आउन भने । के गर्छन् भने झोलाबाट टपरी निकाल्छन् । धान हाल्छन्, चामल हाल्छन् । जनै सुपारी निकालेर दियो निकाल्छन्, बाल्छन् अनि हामीलाई दियोको पूजा, गणेशको पूजा गराएर हाम्रो सरस्वती मन्त्र जप्न भन्छन् ।

अनि आँखा चिम्लेर ध्यान गर्न भन्छन् । ती गोराहरूलाई के त्यस्तो कुराले आकर्षण गर्‍यो , टुपी राख्ने , धोती लाउने अनि ध्यान गर्ने ध्याउन्न पर्‍यो होला ? अनि भन्न थाले- ध्यानले मात्र एकाग्र चित्त गराउँछ र पढ्न पढाउनका लागि वातावरण दिन्छ । र सधैँ बिहान बेलुका मात्र होइन , प्रत्येक कक्षामा प्रवेश गरेपछि कम्तीमा पनि २ मिनेट पढाउने पाठमा र हिजो पढेको पाठमा ध्यानमा लगाउनुस् र मात्र आजको तयारी गरेको कक्षा लिनुस् । कुरा हाम्रै हो, दर्शन हाम्रै हो तर सिकाउने ती भौतिकवादीहरू भए जसले हामीमा त्यो संस्कृति नरहेको ठानेर महर्षि महेश योगीको विचारमा जीवनभर सेवा गर्न भनेर खटिए । यी ईश्वरवादी थिए किनभने तिनले ईश्वरका बारेमा चिन्तन गर्न सिकाए ध्यान गर्दा पनि र भने-जति तपाईँ चित्त शुद्ध राख्नु हुन्छ, त्यति नै तपाईँ  अध्यापन गर्न सक्षम हुनुहुन्छ । 

अनि अर्को प्रसङ्ग पनि पनि त्यहीँ विद्यालयमा । एक पटक त्यसैताका हुनुपर्छ, एउटा २० जना जत्तिको समूह आयो विद्यालयमा गोराहरूकै । त्यसमा धेरै महिलाहरू थिए र पुरुषहरू कम थिए । तिनले पनि हामी शिक्षकहरूलाई यशुको भजन सिकाऊ थाले नेपाली भाषामा नै पनि । एउटा भजन यस्तो छ जुन मेरो मस्तिष्कमा अझै ताजा छ 
कसले बनायो तिमी हामीलाई ईश्वर त स्वर्गमा छन् 

कसले बनायो ताराहरूलाई कसले बनायो घाम जूनलाई ईश्वर त स्वर्गमा छन् 

कसले बनायो चरा माछालाई कसले बनायो तिमी हामीलाई ईश्वर त स्वर्गमा छन् । 

दुई फरक फरक दर्शन र धर्मका अनुयायीहरूले आखिर ईश्वरको एउटै सत्ता मानेको देखियो , त्यसैले पनि होला, इस्लाम धर्म , इसाई धर्म या यहुदी धर्म या ओमकार परिवारको धर्म सबैले ईश्वरको सत्ता र अस्तित्वलाई स्वीकार गरेका छन् । दर्शनले जीवनको बाटो मात्र देखाउने होइन, त्यसको व्यावहारिक पाटोलाई पनि उत्तिकै महत्त्व दिएको हुँदो रहेछ किनभने आखिर ती सबै धारणा मानिसहरूमा प्रयोग गर्ने हो । 

हामीलाई सानोदेखि नै ईश्वरप्रति समर्पित हुने धर्मको पक्षमा ज्ञान दिइयो तर किन र के कारणले मान्ने हो भन्ने सिकाइएन । प्रत्येक दर्शनका कारण हुन्छन्, कारणका पनि कारणहरूलाई केस्रा केस्रा पारेर विवेचना गरिएको हुन्छ र निचोडले मात्र दर्शनको रूप लिन्छ र त्यसैलाई धर्मको रुपमा बाध्यकारी बनाइन्छ किनभने सबैमा विवेचना गर्ने ज्ञान हुँदैन भन्ने तर्क गरिन्छ । मैले पनि सानामा नबुझी नबुझी पाञ्चायन पूजा गरेको थिएँ । नुहाएर वा मुख धोएर भए पनि शुद्ध धोती मात्र फेरेर, त्यहाँ गणेशको मूर्ति थियो पूजा मण्डपमा, विष्णुको शालिग्राम, शिवको पनि शालिग्राम, देवीको पनि शालिग्राम थियो ।

तर बालेर दियोको पूजा गरेपछि गणेशलाई पूजा गरिन्थ्यो, अनि पालैसँग शिवजी, विष्णु र देवीको पूजा हुन्थ्यो । तर के कुरामा बढी ध्यान पुर्‍याउनु पथ्र्यो भने विष्णुलाई अक्षता चल्दैनथ्यो । जौ र तिल चल्थ्यो ।  गणेशलाई अबिर , अक्षता चाहिन्थ्यो , श्रीखण्डको चन्दन भने सबैलाई चल्थ्यो । गणेश, शिव र देवीलाई पनि रक्त चन्दन चल्थ्यो । अनि अन्तमा धूप दीप गरिन्थ्यो र नैवेद्य चढाइन्थ्यो जसमा सबैभन्दा बढी चाह हुन्थ्यो । अर्थात् घरमा पूजा नगरी भात खान पाइँदैनथ्यो । जत्ति छिटो पूजा गर्‍यो , शङ्ख घण्ट बजायो, अनि मात्र भात खान पाइन्थ्यो र विद्यालय जानका लागि लुगा लगाएर किताब कापी बोकेर गइन्थ्यो । निधारमा टिका लाइन्थ्यो । मलाई लाग्छ, यो क्रम सबै परिवारमा हुन्थ्यो ।

मैले देखेको छु, जसलाई दलित भनेर छुवाछुत गरिन्थ्यो उनीहरूले पनि नुहाएर वा मुख धोएर छिटो छरितो पूजा गरेर मात्र भात खान्थे । अब के छ गाउँतिर थाहा छैन तर शङ्ख घण्ट बजेको भने अचेल कमै सुनिन्छ गाउँ घरतिर । तर पनि जीवन चलेकै छ र सहजताका साथ जीवन चलेको पाइन्छ । संस्कृतिले जहिले पनि जन्म र मृत्यु संस्कारलाई नियमितरुपमा प्रचलनमा ल्याउने रहेछ । मलाई एक पटक एउटा जापानीले भन्थे- हाम्रो परिवार जन्मँदाको संस्कार र मृत्यु संस्कारमा बौद्ध धर्मावलम्बी हौँ तर बाँचुन्जेल जे पनि हुन्छौँ । किन रे भने यी दुई अवस्था भनेको अरूले गर्ने संस्कार हो जुन प्रचलित जे छ समाजमा त्यही हुन्छ । 

पूजा त हाम्रो पूर्वीय सोचमा रहेछ चाहे त्यो जुनसुकै धर्ममा होस् या जुनसुकै सम्प्रदायमा होस् । त्यो आत्म शुद्धि र आत्मसन्तोषको एउटा मनोवैज्ञानिक उपाय रहेछ । तर हामी बाध्यकारीरुपमा मानेका छौँ किनभने त्यसलाई हामीले आध्यात्मिक चिन्तनको रुपमा बलजफती मानेका छौँ । हो यहीँनेर हो , तर्क र विश्वासको जग तयार गरेर मानिसहरूलाई चिन्तनशील बनाउने र आँखा चिम्लेर कुनै धर्मको समर्थन गर्नेभन्दा पनि त्यसमा विवेचना गर्न सिकाउने कि त्यसो गर्दा हुने मानसिक र शारीरिक फाइदा के हुनसक्छ ?

महर्षि पतञ्जलिले हजारौँ वर्ष सुरु गरेको योगाभ्यासलाई अहिले भारतीय योग गुरु रामदेवले विश्वभरिका लागि त्यसको प्रचार गरे शारीरिक व्यायामको महत्त्वपूर्ण प्रयोग र त्यसबाट हुने मानसिक तथा शारीरिक फाइदाको प्रत्यक्ष परिणाम देखाएर । त्यसैले जिज्ञासुहरूलाई दिने ज्ञान भनेको नै विवेचना, आलोचना, समालोचनामार्फत पाइने ज्ञान नै हो जुन टिकाउ हुन्छ र त्यही दर्शन नै टिकाउ पनि हुन्छ जसले जीवनलाई प्रत्यक्ष फाइदा फुर्‍आओस् । जगतको ज्ञान देओस् जसले तर्कको पूर्ण उपयोग गर्न गराउन सकियोस् । क्रमशः